स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन

बाँकेवासीले भन्छन्, ‘बुटवललाई स्थायी राजधानी मान्दैनौ’

नेपालगञ्‍ज-बाँकेका बासिन्दाले लिखित र मौखिक रुपमा बुटवललाई स्थायी राजधानी नमान्‍ने सुझाव दिएका छन्। प्रदेश सभाको विशेष समितिले आइतबार नेपालगञ्जमा आयोजना गरेको ‘प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धि सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रम’ मा यहाँका बासिन्दाले बुटवल राजधानी मान्य नहुने दोहोर्‍याए।

बाँकेवासीले नेपालगञ्ज नै प्रदेश राजधानी हुनुपर्ने सुझाव दिएका छन्। नेपालगञ्ज हुन नसके दाङको भालुवाङ आसपासमा राजधानी बनाउन सकिने राय अघि सारेका छन्। नेपालगञ्जबाट कसैले पनि बुटवलको पक्षमा समर्थन गरेनन्।

‘सर्वप्रथम हाम्रो माग भनेको नेपालगञ्जलाई राजधानी तोक्नुपर्छ। नेपालगञ्ज हुँदैन भने दाङको भालुवाङ आसपासमा राजधानी तोकिनु पर्छ। तर, हामी बुटवललाई नै स्थायी राजधानी मान्न तयार छैनौ, मौखिक र लिखित सुझाव दिएका बाँकेवासीले भनेका छन्, बहुमतको आधारमा बुटवललाई नै राजधानी बनाउने काम भयो भने बाँके र बर्दिया कर्णालीतिर प्रदेशतिर मिसिन्छ।’

नेपालगञ्जका मेयर धवलशमशेर राणाले नेपालगञ्ज राजधानी नभए ५ नम्बर प्रदेशलाई नमस्कार गरेर कर्णाली प्रदेशतिर जाने बताए। उनले नेपालगञ्जलाई महानगरपालिका बनाएर राजधानी तोकिनु पर्ने धारणा राखे। ‘नेपालगञ्ज नै राजधानी हुनुपर्छ। नेपालगञ्ज नभए दाङसम्म हामीलाई मान्य हुन्छ। तर, आजसम्म कुनै साइनो नभएको बुटवललाई राजधानी तोकियो भने हामी बाध्य भएर कर्णाली प्रदेशतिर मिसिन्छौं, मेयर राणाले भने, बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने बित्तिकै भारत र चीनसँग कनेक्सन हुन्छ । र, यो प्रदेश सबैभन्दा बलियो हुन्छ।’

पूर्व सांसद दलबहादुर सुनार, देवराज भारले दाङ राजधानी नभए कर्णालीतिर मिसिन आन्दोलनको आधिबेहरी सिर्जना गरिने चेतावनी दिए । नेताहरु किरण कोइराला, अशोक कोइराला, कमरुद्दिन राई, रत्न खत्री, दामोदर आचार्य, लक्ष्मीनारायण बर्माले नेपालगञ्ज नै राजधानी हुनुपर्ने र त्यो नभए पायक पर्ने ठाउँमा राजधानी तोकिनु पर्ने धारणा राखे । राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु चौधरीले पनि दाङ नभए कर्णाली प्रदेशतिर मिसिने तर बुटवललाई स्वीकार नगर्ने चेतावनी दिए।

विकासका लागि नागरिक सरोकार समिति, बाँकेले समितिलाई नौ बुँदे लिखित सुझाव नै हस्तान्तरण गरेको छ। समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ र वष्ठि पत्रकार पूर्णलाल चूकेले नेपालगञ्जलाई नै राजधानी तोक्नु पर्ने र नेपालगञ्ज राजधानी हुनुका लागि रहेका आधारहरु समेटेर लिखित सुझाव दिए।

नेपालगञ्जका उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्जवासी एकजुट भएर राजधानीका लागि आन्दोलन गर्नुपर्ने बताए। उनले बुटवललाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताए।

५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्नका लागि गठित विशेष समितिका दुई सदस्य विष्णु पन्थी र तुलसी चौधरी सुझाव संकलन गर्न नेपालगञ्ज आएका छन्। विशेष समिति सदस्य पन्थीले शुरुमै भविष्यलाई हेरेर उपयुक्त ठाउँमा राजधानी राख्न सुझाव दिन आग्रह गरेका थिए।

सुझाव संकलन तथा अन्तरक्रियामा प्रदेश सांसदहरु आइपी खरेल, विजयबहादुर यादव, कृष्णा केसी, मो. याकुव अन्सारी, उषा पुनको उपस्थिति थियो। नामाकरणको सवालमा भने यहाँका बासिन्दाले लुम्बिनी राख्दा फरक नपर्ने सुझाव दिएका छन्।

फाल्गुन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्