वीरगञ्‍जको हेल्थकेयर हस्पिटलले सुरु गर्‍यो मुटुको एन्जियोप्लाष्टिक सेवा

वीरगञ्ज– जटिल उपचार विधि मानिने मुटुको एन्जियोप्लाष्टि उपचार सेवा वीरगञ्जमा शुरु भएको छ। वीरगञ्ज हेल्थकेयर हस्पिटलले शनिबारदेखि यो सुविधा थप गरेको हो।

गंगालाल हृदयरोग केन्द्र वाँसवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा यो सेवा शुरु गरेको अस्पतालले जानकारी दिएको छ। तीन महिनादेखि एन्जियोग्राफी सेवा शुरु गरेको अस्पतालले प्रदेश २ का आठै जिल्लाका मुटु रोगको उपचारकालागि प्रदेशमै सुविधा दिन स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको अस्पताललका प्रवन्ध निर्देशक अबुुलहैस अन्सारीले जानकारी दिए।

उनले २०६७ साल देखि विविध विशेषज्ञ सेवा दिइरहेको अस्पतालले मुटु रोगीको लागि यो सेवा शुरु गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसले प्रदेश २ कै मुटुरोगीको लागि फलदायी हुने विश्वास व्यक्त गरे।

गंगालाल हृदयकेन्द्र वाँसबारीको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रबि मल्लले गंगालालमा एन्जियोप्लाष्टि गराउने कतिपय बिरामीलाई समस्या हुने भएकोले यो सेवा वीरगञ्ज मै उपलब्ध भएपछि बिरामीलाई फाइदा हुने बताए।

समययै अस्पताल पुर्‍याउन नसक्दा उपचारको अभावमा विरामीको ज्यान जाने गरेको छ। वीरगञ्‍जमा उक्त सेवाको विस्तारसँगै विरामीलाई आर्थिक भार समेत कम पर्ने बताइएको छ।

मुटु रोगीको उपचारका लागि सरकारले विपन्न वर्गका विरामीलाई एक लाखसम्म सहयोगको व्यवस्था गरेको छ। प्रदेश २ मा मुटुको उपचार सेवा राम्रो नभएका कारण उपचारका लागि राजधानी पुग्नु पर्ने वाध्यता थियो।

एन्जियोप्लाष्टि सेवाको विस्तारसँगै मुटुरोगीको उपचारमा सहजता हुने अनुमान गरिएको छ।

फाल्गुन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्