महिला च्याम्पियनसीप फुटबलमा पाकिस्तानको सहभागिता नहुने

फाइल तस्बिर

मोरङ– विराटनगरमा फागुन २८ गतेबाट हुने साफ महिला च्याम्पियन्सीप फुटबलमा पाकिस्तानको टोली सहभागि नहुने पक्का भएको छ।

साफ महिला च्याम्पियनसीपको पहिलोपटक आयोजनाको अवसर पाएको अखिल नेपाल फुटबल संघ एन्फा र साफले नयाँ तालिका सार्वजनिक गर्दै पाकिस्तानको उपस्थिती नहुने जनाएको हो। साफ तयारी समितिका संयोजक एवं एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले पाकिस्तानको सहभागिता विना प्रतियोगिता हुने स्पस्ट पारे।

यसअघि, साफका लागि पाकिस्तानसहित ७ टोलीको उपस्थितीमा प्रतियोगिता हुने जनाइएको थियो। यसअघि, सन् २०१६ मा आयोजित चौथो साफमा पनिा पाकिस्तानको टोलीविना प्रतियोगिता सञ्चालन भएको थियो। पाकिस्तान फुटबलमा देखिएको आन्तरिक विवाद यसको कारण हुनसक्ने अनुमान एन्फाका पदाधिकारीले गरेकाछन्।

सन् २०१० बाट सुरु भएको प्रतियोगितामा पाकिस्तानको टोली पहिलोपटक सेमीफाइनल यात्रा तय गर्न सफल भएको थियो। त्यसयता पाकिस्तानको खेलस्तर बिर्सनलायक रहँदै आएको छ। हालसम्म तीन वटा प्रतियोगितामा सहभागिता जनाएको पाकिस्तानले कुल १० खेलमा ४ मा जित हात पारेको छ भने, ६ वटामा हार ब्यहोरेको छ। त्यसैगरि, १३ गोल गर्न सफल पाकिस्तानको टोलीले ३८ गोल आत्मसात गरेको छ।

हाल अन्तिम समयमा आएर पाकिस्तानले प्रतियोगिताबाट हात झिकेको बताएका ती पदाधिकारीले भने, पाकिस्तान पछि हट्नुको आधिकारीक कारण भने स्पस्ट गरिसकेको छैन।

यद्यपि, एन्फाद्वारा जारी नयाँ तालिका अनुसार अब प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ। समूह ए मा बंगलादेश, आयोजक राष्ट्र नेपाल र भुटान रहेकाछन्। त्यसैगरि, समूह बीमा साविक विजेता भारतसहित श्रीलंका, मालदिभ्स रहेकाछन्। प्रतियोगितामा पाकिस्तान नअटाएपनि प्रतियोगिताको मिति र समय भने हेरफेर नभएको एन्फाले जनाएको छ।

नयाँ तालिका अनुसार २८ गते पहिलो उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्नेछ। विराटनगरको सहिद रङशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। त्यसैगरी, साविक विजेता भारतले २९ गते मालदिभ्सको सामना गर्नेछ। त्यसैगरि चैत्र ६ गते बुधबार विहान ११ र दिउँसो ३ बजे गरि प्रतियोगिताको सेमीफाइनल हुनेछ। उपाधि भीडन्त भने पूर्व निर्धारित मिति चैत्र ८ गतेनै हुनेछ।

प्रतियोगितामा सहभागि टोलीका लागि प्रशिक्षण मैदानका रुपमा विराटनगरको विराटनगर जुटमिल्स मैदान, डिपिएस स्कुलको मैदान र मैदान व्यवस्थापन उपसमितिले जनाएको छ। हालसम्म साफ महिलामा भारतले सर्वाधिक लगातार ४ पटक उपाधि चुमेको छ। त्यसैगरि नेपालले तीन पटक उपविजेतामा चित्त बुझाएको छ भने, बंङ्लादेश साविकको उपविजेता टोली हो।

फाल्गुन १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्