जनकपुरधाममा डिजिटल ट्राफिक बोर्ड जडान

जनकपुरधाम-सवारी दुर्घटना न्यूनीकरण गर्न जनकपुरधाममा डिजिटल ट्राफिक बोर्ड जडान गरिएको छ। प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा जनकपुरको हाईवेमा ३ ठाउँ र परिक्रमा सडकको दुई ठाउँ गरी ५ ठाउँमा डिजिटल ट्राफिक बोर्ड जडान गरिएको हो ।

सोमबार एक कार्यक्रमकाबीच प्रदेश २ ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक योग बहादुर पाल र धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले डिजिटल बोर्डको स्विच थिचेर संयुक्त रुपमा उद्घाटन गरे।

प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा आवतजावत गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको कारण सबारी दुर्घटनामा समेत बृद्धि हुन लाग्दा नागरिक सचेतना तथा ट्राफिक व्यवस्थापन गर्न डिजिटल बोर्डको व्यवस्था गरिएको बताइएको छ।

अहिले जनकपुरधामको पिडारी चोक, रामानन्द चोक, जिरोमाईल चोक, मुरली चोक र भानुचौक गरी पाँच ठाउँमा डिजिटल बोर्ड जडान गरिएको छ।

सवारी दुर्घाटनालाई न्युनिकरण गर्न यात्रुलाई सावधानी अपनाउन बोर्डले मद्दत गर्ने प्रदेश २ का ट्राफिक प्रहरी उपरिक्षक योग बहादुर पालले बताए। उनका अनुसार यात्रा गर्दा बसबाट टाउको निकाल्ने, मादक पदार्थको सेवन गरी सबारीसाधन चलाउदा दुर्घटना हुने प्रमुख कारणहरु देखिएका छन्।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले मानसिकता विकास नभएसम्म सवारी दुर्घटनामा कमी नआउने बताए। सवारी दुर्घटनाको एउटा मुख्य कारण “ईगो” समेत रहेको उनको भनाई थियो । ओभर टेक गर्न खोज्दा सवारी दुर्घटना खनालले बताए।

विश्वभरीमा एक वर्षमा १२.५ देखि १३ लाख सम्म व्यक्तिहरुले सवारी दुर्घटनामा आफ्नो ज्यान गुमाई रहेको तथ्याङक छ। सवारी दुर्घटना हुनेमा १८ वर्ष देखि ४० वर्ष सम्मका व्यक्तिहरु बढि रहेको छ।

यता, धनुषा जिल्लामा प्रत्येक महिना औषत ५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। उनको अनुसार धनुषामा सवारी दुर्घटना न्युनिकरण गर्न धनुषा ट्राफिक प्रहरीले विशेष योजना बनाएर काम गरिरहेका कारण सवारी दुर्घटनामा कमी आएको दाबी गरे।

अहिले लगाईएको डिजिटल ट्राफिक बोर्डले सर्वसाधारणमा जागरुकता फैलने ट्राफिक प्रमुख साहको भनाई छ । यस बोर्डमा ट्राफिक सम्बन्धि सचेतनामुलक जानकारीहरु राखिएको छ।

 

फाल्गुन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्