सुनुवाइ समितिमा उपस्थिति हुन नेकपाको ह्विप

फाइल तस्बिर

काठमाडौं- गणपुरक संख्या नपुगेर आइतबार सुनुवाइ समितिको बैठक स्थगित भएपछि सत्ता रुढ नेकपाले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

आइतबार थारु आयोग र मधेसी आयोगका प्रस्तावित अध्यक्षमाथि सुनुवाई हुने कार्यतालिका भए पनि बैठक बस्न आवश्यक गणपुरक संख्या नै नपुग्दा मंगलबार दिउँसोसम्मका लागि बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषदले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि डा. विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार संसदीय समितिको बैठकका लागि ५१ प्रतिशत सदस्य उपस्थित हुनु पर्छ । संसदीय समितिमा १५ जना सदस्य छन् ।

आयोगका अध्यक्षको सिफारिसमा असन्तुष्टि जनाउँदै आएको कांग्रेसका चार सदस्य बैठकमा अनुपस्थित रहँदै आएका छन् ।
बैठकको गणपुरक संख्या पुग्न ८ सदस्य उपस्थित हुनु पर्छ ।

तर आइतबारको बैठकमा त्यति सदस्य पनि उपस्थित नभएपछि नेकपाले मंगलबारको बैठक उपस्थिति हुन ह्वीप जारी गरेको हो । समितिमा नेकपाका नौ जना सदस्य छन् ।

फाल्गुन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्