तिलोत्तमा गोल्डकपको उपाधि क्यामरुनी टीम दाफिन्सलाई (फोटो फिचर)

बुटवल–तिलोत्तमा गोल्डकपको २१औं संस्करणको उपाधि विदेशी टीम दाफिन्स फुटबल क्लब क्यामरुनले जितेको छ।

चालु सिजनमा नेपालका दुई ठूला उपाधि जितेको क्यामरुनले २१औं तिलोत्तमा गोल्डकपको उपाधि उचाल्दै ह्याट्रिक गरेको हो।

यसअघि ४ पटकसम्म तिलोत्तमा गोल्डकप उचालेको नेपाल पुलिसलाई सडन डेथमा १–० को नतिजा निकाल्दै क्यामरुनले उपाधि उचाल्यो।

निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल ट्राइबेकरमा गएको थियो। ट्राईबेकरमा दुवै टोलीले ५–५ गोलको बराबरी गरेपछि सडन डेथमा पुलिसका तेज तामाङको प्रहार दाफिन्सका गोलकिपर प्रिसोले रोकेका थिए।

जितसँगै दाफिन्सले ८ लाख ८० हजार र ट्रफी पाएको छ भने पुलिसले ५ लाख ५० हजारमा चित्त बुझाएको छ।

यस्तै उत्कृष्ट खेलाडी भएका रुपन्देही ११ का आशिष गुरुङले स्कुटर पाए भने उत्कृष्ट स्ट्राइकर पुलिसका रवि पासवान, मिडफिल्डर पुलिसकै हेम तामाङ, डिफेन्डर पुलिसकै विक्रम धिमाल र उत्कृष्ट कोच पुलिसकै अनन्तराज थापा भए। उनीहरुले जनही २५–२५ हजार नगद र शिल्ड पाएका छन्।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, नेपाल प्रहरीका प्रहरी अतिरिक्त, महानीरिक्षक धिरु बस्न्यात, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दीर्घबहादुर केसीलगायतले उपाधि र शिल्ड हस्तान्तरण गरेका थिए।

फाल्गुन १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्