विप्लव निकट पत्रकार स‌ंगठनले भन्यो, ‘बम बिस्फोटको कारण खोज्नु जरुरी छ’

काठमाडौँ – एकजनाको ज्यान जानेगरि गत शुक्रबार ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि भएको बम बिस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संलग्न रहेको निष्कर्ष प्रहरीको छ।

विप्लव समूहका नेताले पनि यसलाई स्वीकारिसकेका छन्। हिंसात्मक गतिविधि गर्दै आएको विप्लव समूह यो घटनापछि थप आलोचित बन्न पुगेको छ। यता विप्लव निकट संगठनले भने पार्टीको गतिविधिलाई लिएर बचाउ गरिरहेका छन्।

विप्लव निकट पत्रकार संगठनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भनेको छ- बम बिस्फोट किन भयो भनेर कारण खोज्नु जरुरी छ। तर पनि ज्यान गुमाउनेप्रति समवेदना।

क्रान्तिकारी पत्रकार संगठनले आफ्नो परिवर्तित नाम जनपत्रकार संगठन,नेपालबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको थियो। संगठनका अध्यक्ष  प्रकाश डुम्रेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तीव्र पार्ने जानकारी दिए।

उनले प्रेस नियन्त्रित कानुनहरु तत्काल नसच्चाइए आन्दोलन गर्ने चेतावनी दिए। एनसेलले कर नतिरेको विषयलाई लिएर देशभरका एक दर्जन बढी जिल्लामा एनसेलका टावर नजिक आगजनी र बिस्फोट गराएको थियो। नख्खु बिस्फोटमा दुईजना घाइते भएका थिए। कर चुक्ता नगरेको विषय भनिए पनि चन्दा नदिएका कारण विप्लव समूहले एनसेलमाथि आक्रमण गरेको टिप्पणी भइरहेको छ।

फाल्गुन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्