नेपालगञ्ज – आठौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा नेपालगञ्जलाई खेलकुदमय बनाउन आयोजना गरिएको प्रथम अन्तर व्यवसायी फुटबल प्रतियोगिताको उपाधि मदिरा व्यवसायी संघले जितेको छ।

जुमा स्पोर्टस क्लवले आयोजना गरेको अन्तर व्यवसायी फुटबल प्रतियोगिताको फाइनलमा अटो मोबाइल्सलाई २–१ गोलले पराजित गर्दै मदिराले उपाधी जितेको हो।  खेलमा सुरुवाति अग्रता अटो मोबाइल्सले लिए पनि मदिरा खेलमा फर्किन सफल भयो।

अटो मोबाइल्सले प्राप्त पेनाल्टीमार्फत अग्रता लिएको थियो। कर्ण थापाले प्रहार गरेको पेनाल्टीलाई मदिराका किपर होमराज गिरीले रोकेपछि फर्किएको बललाई ज्ञानमणि अधिकारीले गोल गरेका थिए।

खेल सकिन केही मिनेट बाँकी रहँदा मदिराले पनि पेनाल्टीमार्फत गोल फर्काएपछि खेल बराबरीमा आइपुगेको थियो। मदिराका लागि भद्र थापाले पेनाल्टी मार्फत गोल गरेका थिए।

निर्धारित समयमा खेल बराबरी भएपछि १० मिनेट समय थप गरिएको थियो। थपिएको अतिरिक्त समयमा मदिरा व्यवसायिकातर्फबाट उदय अधिकारीले हेड मार्फत गोल गरेका थिए।

आठवटा व्यवसायिक संघले भाग लिएको प्रतियोगिताको उपाधि जितेसँगै मदिरा व्यवसायिक संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्‍यो। दोस्रो भएको अटो मोबाइल्सले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी अटो मोबाइलका भुपेन्द्र राना, सर्वाधिक गोलकर्ता अटोका ज्ञानमणि अधिकारी र मदिराका उदय अधिकारी, उत्कृष्ट किपरमा अटोका खिमराज अधिकारी, उत्कृष्ट डिफेन्डरमा मदिराका यज्ञ सिजाली, उत्कृष्ट मिडफिल्डरमा मदिराका भद्र थापा भए।

पाठ्यपुस्तक तथा स्टेशनरी अनुशासित टीम भयो। विधागत उत्कृष्ट र अनुशासित टीमले जनहीँ ५ हजार एक सय एघार रुपैयाँ पुरस्कार प्राप्त गरे।

फाल्गुन १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्