खेल सुरु हुनुभन्दा एक घण्टाअघि प्रशिक्षक नियुक्त, लेस्टरले खेल जित्यो

नयाँ प्रशिक्षकको अण्डरमा लेस्टर सिटीले पहिलो खेलमा जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटील ब्राइटनलाई २–१ ले हराएको हो ।

लेस्टर सिटीले ब्रेण्डन रोजर्सलाई क्लबको नयाँ प्रशिक्षकको नियुक्त गरेको हो । मंगलबार रातिको खेल सुरु हुनु भन्दा एक घण्टाअघि मात्रै रोजर्ड लेस्टर सिटीको प्रशिक्षकमा नियुक्त भएको औपचारिक घोषणा भएको थियो ।

लेस्टर सिटीले आइतबार क्लोड पुएललाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । त्यसपछि माइक स्टोवेल र एडम साड्लरले अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । स्टोवेल र साड्लरकै प्रशिक्षणमा तयार भएको टिमको खेल नवनियुक्त प्रशिक्षक रोजर्सले घरेलु मैदानमा हेरेका हुन् ।

लेस्टर सिटीको जितमा डेमाराई ग्रे र जेमी भर्डीले गोल गरे । ब्राइटनका लागि डेभी प्रोपरले एक गोल फर्काए । ग्रेले १० औँ मिनेटमा गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ६३ औँ मिनेटमा भर्डीले गोल गरेर अग्रता दोब्बर पारे । ब्राइटनका लागि प्रोपरले ६६ औँ मिनेटमा एक गोल फर्काए ।

जितपछि ११ औँ स्थानमा उक्लिएको लेस्टर सिटीको २८ खेलबाट ३५ अंक भएको छ । १६ औँ स्थानको ब्राइटनको २७ खेलबाट २७ अंक भएको छ ।

मंगलबार राति नै भएका अरु खेलमा एभर्टनले कार्डिफ सिटीलाई ३–०, हडर्ल्सफिल्डले वुल्भ्सलाई १–० तथा न्युक्यासलले बर्नलीलाई २–० ले हराएका छन् ।

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्