‘अमेरिकामा हजारौँ आप्रवासी बालबालिकामाथि यौन हिंसा’

अमेरिकामा बन्धक बनाइएका आप्रवासी बालबालिकामाथि यौन हिंसा भएको आरोप लागेको छ । सन् २०१४ देखि २०१८ सम्ममा अमेरिकामा विभिन्न समयमा बन्धक बनाइएका आप्रवासी बालबालिकामाथि यौन हिंसा भएको आरोप दर्ता भएको छ ।

अमेरिकाको स्वास्थ्य विभागले ४५ सय भन्दा बढी आप्रवासी बालबालिकामाथि हिरासतमा रहेका बेला यौन हिंसा भएको आरोपमाथि पुनरावलोकन गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।

यस्तै न्याय विभागले थप १३ सय तीनजना नाबालिकमाथि भएको यौन हिंसाका बारेमा अनुसन्धान रहेको छ । यो पनि सन् २०१४ देखि २०१८ कै घटना रहेको र हिंसामा पर्नेहरु नाबालिक रहेको बिबिसीले जनाएको छ ।

अमेरिकी कंग्रेसका सदस्य टेड डोइचले यौन हिंसाबारे भइरहेको पुनरावलोकन सम्बन्धी कागजात सार्वजनिक गरेका हुन् । दर्ता भएका आरोप मध्ये कम्तिमा १५४ आरोपमा सरकारी अधिकारी नै हिंसामा संलग्न भएको उल्लेख छ ।

आरोपका सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान हुने र विभागले यसलाई गम्भीर रुपले लिएको स्वास्थ्य विभागका प्रवक्ताले बताएका छन् ।

गएको तीन वर्षमा कम्तिमा १५४ वटा यौन हिंसाका घटनामा सरकारी अधिकारी संलग्न रहेको आरोप रहेको र यस्तो घटना नाबालिकमाथि भएको कंग्रेसका सदस्य तथा हाउसको न्यायिक समितिका सदस्य डोइचले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासीमाथि शून्य सहनशीलता नीति लागु गर्ने भन्दै हजारौँ आप्रवासी बालबालिकालाई परिवारबाट भिन्न गरेको छ । यसले गर्दा बालबालिका यौन हिंसामा परेका हुन् ।

कतिपय हिंसाका घटनामा हेल्थ एण्ड ह्युमन सर्भिस (एचएचएस) र अफिस अफ रेफ्युजी रिसेटलमेन्छ (ओआरआर) का अधिकारी नै संलग्न भएको आरोप छ ।

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्