भारत–पाकिस्तान तनाव

पाकिस्तानको सर्वोच्च सैन्य मञ्चको बैठक बस्दै, महत्वपूर्ण निर्णय लिने सम्भावना

भारतले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भू–भागमा बिस्फोटक पदार्थ खसालेपछि तनावको अवस्था छ । भारत र पाकिस्तमानको सीमा क्षेत्रमा त्यसपछि भिडन्त भएका छन् ।

यसक्रममा पाकिस्तान तर्फका कम्तिमा चारजनाको ज्यान गएको भारतीय सेनाले जनाएको छ । ज्यान गुमाउनेमा तीन महिला र एक बालक छन् । यस्तै पाकिस्तानले गरेको आक्रमणमा भारतका पाँच सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

दुवै तिरबाट युद्धको अवस्था आएको छ । नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् । भारतीय सुरक्षाकर्मीले नियन्त्रण रेखाको रवाकोट, भांबर, चाकोत र कोटलीमा मेसिनगन प्रहार गरेको छ । यस्तै मोटार पनि प्रहार गरेको छ ।

भारतीय हवाई सेनाको विमानले मंगलबार बिहानै बालाकोट क्षेत्रमा बिस्फोटक पदार्थ खसालेको थियो । पाकिस्तानी सेनाले अखनूर, नौशेरा र कृष्णा घाटी क्षेत्रमा गोली चलाएको भारतीय आरोप छ । भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा जिल्लामा फेब्रुअरी १४ मा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाव बढेको हो ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानले ठाडै अस्वीकार गरेको छ । भारतीय हवाई सेनाले बालाकोटमा बिस्फोटक पदार्थ खसालेपछि पाकिस्तानी सेनाले भारतलाई चकित पार्ने गरि जवाफ दिने र त्यसका लागि तयार रहन चेतावनी दिएको छ । यसले भारत र पाकिस्तानबिच युद्धको अवस्था आएको देखिएका छ ।

भारतीय पक्षले भारतीय वायुसेनाको लडाकु विमानले पाकिस्तानी क्षेत्रमा जैश–ए–मोहम्मदको क्याम्प नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानले भने आफ्नो वायु सेनाले भारतीय लडाकु विमानलाई लखेटेको बताएको छ ।

भारतीय पक्षले आक्रमण गरे लगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सुरक्षा सल्लाहकार परिषदको बैठक मंगलबार बसेको थियो । बैठकपछि पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानी संप्रभुताको उल्लंघन गरेको बताए । पाकिस्तानले भारतलाई आफूले कुनै पनि समयमा जवाफ दिने चेतावनी दिएको छ ।

बुधबार पाकिस्तानको नेशनल कमाण्ड अथोरिटी (एनसिए) को बैठक बस्दैछ । यो बैठकले महत्वपूर्ण निर्णय गर्ने अनुमान छ । एनसिए पाकिस्तानको सर्वोच्च सैन्य मञ्च हो । यसले देशको सुरक्षा नीतिसँग जोडिएका ठूला फैसला गर्छ । परमाणु हतियार सञ्चालन सम्बन्धमा पनि एनसिएले नै निर्णय लिने गरेको छ ।

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्