भारतीय विमानमाथि पाकिस्तानको आक्रमण

भारतका दुई लडाकु विमान पाकिस्तानले खसाल्यो, एक पाइलट नियन्त्रणमा

पाकिस्तानले भारतीय वायु सेनाका लडाकु विमानलाई आक्रमण गरि खसालेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर दुई भारतीय विमान पाकिस्तानको सीमामा प्रवेश गरेकाले आक्रमण गरि खसालिएको दाबी गरेका छन् ।

भारतीय लडाकु विमानका एक पाइलटलाई पक्राउ गरिएको मेजर जनरल गफूरले ट्वीटमा उल्लेख गरेका छन् । पाकिस्तानी हवाई सेनाले आक्रमण गरेको उनको भनाई छ । नियन्त्रण रेखा पारे गरेपछि आक्रमण गरिएको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

पाकिस्तानले भारतीय विमान आक्रमण गरि खसालेको बताए पनि भारतले यसको पुष्टि गरेको छैन ।

यसअघि मंगलबार बिहानै भारतीय हवाई सेनाले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको बालाकोटमा बिस्फोटक पदार्थ खसालेको थियो ।

भारतले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भू–भागमा बिस्फोटक पदार्थ खसालेपछि तनावको अवस्था छ । भारत र पाकिस्तमानको सीमा क्षेत्रमा त्यसपछि भिडन्त भएका छन् ।

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा जिल्लामा फेब्रुअरी १४ मा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाव बढेको हो ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानले ठाडै अस्वीकार गरेको छ ।

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्