चुहानडाँडा विमानस्थलमा मन्त्री अधिकारीको यही अन्तिम भाषण

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तेह्रथुमको चुहानडाँडामा विमानस्थलको अध्ययन गर्न ६ सदस्यीय टोली सहित पुगेका थिए। तर त्यो टोली काठमाडौं फर्किन सकेन, त्यही यात्रामा जीवनमा पूर्णविराम लाग्यो।

प्रधानमन्त्री केपी ओलीको जन्मथलो समेत रहेको चुहानडाँडामा विमानस्थल अध्ययन गर्न प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्री कार्यालयका सदस्य समेत टोलीमा सामेल थिए। मन्त्री अधिकारीले यो कुरा चुहानडाँडामा निरीक्षण गरेपछि पनि भनेका थिए। उनले यो ठाउँमा विमानस्थल प्रधानमन्त्रीको गाउँ भएर मात्रै होइन स्थानीयको आवश्यकता र भूगोल पनि उचित भएको बताए। साथै विमानस्थल तत्कालै अगाडि बढाउने प्रतिवद्धता पनि जनाए । तर प्रतिवद्धता प्रधानमन्त्रीलाई सुनाउन नपाई अधिकारीले सधैंका लागि विदा लिए। चुहानडाँडामा मन्त्री अधिकारीले गरेको भाषण यस्तो छ जुन भाषण उनको जीवनकै अन्तिम भाषण बन्योः

अहिले हामी एयरपोर्टको सन्दर्भ चलाउन हैन कि, एयरपोर्ट बनाउने हिसाबले हेर्न आएका छौँ । अनि यहाँको अवस्थालाई बुझ्न आएका छौँ । मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, स्टिमेट, डिजाइन सबै छ।

अहिले हाम्रो स्टिमेट अनुसार ८७ करोड खर्च हुने अवस्था छ, यहाँ एयरपोर्ट निर्माण गर्नका लागि। म यति बेला दुई वटा सन्दर्भ मात्र बताउन चाहान्छु। एउटा वर्तमान सरकार बनिसकेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रा । यो अभियानलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ ।

हामी त मन्त्री मण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौँ । यो ठाउँ उहाँको जन्मस्थल भएका कारण मात्र होइन, यस क्षेत्रको उपयुक्त ठाउँ भएका कारणले हामीले यो एयरपोर्ट बनाउने सन्दर्भमा छलफल गर्यौं।

सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई भन्नु भो, ‘यसको बारेमा के कस्तो लाग्छ सबै कुराको डिटेल अध्यन गर्नुहोस्।’ अघिल्लो अध्ययनका आधारमा हामीले फेरि अध्ययन गर्यौं। र अध्ययन गर्दा खेरी आज हामी नक्सा र सबैसहित एउटा अध्ययन पुरा गरिसकेर सम्माननीय प्रधानमन्त्रीज्यूले अध्ययन गरिसकेपछि अब अरु होईन पर्यटन मन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुस् भन्नुभयो।

आज हामी यो ठाउँको स्थलगत अध्ययन गर्नको लागि आएका छौँ। स्थलगत अध्ययन यत्तिकै हेर्दा पनि अरु अध्ययनले त बताइरहेको छ। यहाँ एयरपोर्ट बनाउनको लागि उपयुक्त ठाउँ छ किनकि, यहाँ केही कुराले पनि छेक्दैन, यस्तो ठाउँ भएको हुनाले सबै हिसाबबाट यो उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौँ।

यसै सन्दर्भमा म तपाईहरुलाई प्रधानमन्त्री ज्यूको सन्देश पनि भन्न चाहन्छु कि, सरकार यो ठाउँमा एयरपोर्ट बनाउनका लागि प्रतिवद्ध छ । त्यस कारणले हामी यसलाई अगाडि बढाउनको लागि तपाईहरुको बिच पुगेका छौँ । तपाईहरुको साथ छ, हामी सबै मिलेर यो कामलाई अगाडि बढाउने छौँ ।

दोश्रो कुरा पानी परेको छ। मौसम खराब भएको छ हामी फेरि फर्किनु पर्ने छ। सरकार अहिले आफ्ना कामहरु अगाडि बढाइरहेको छ। सधै अस्थिरताबाट फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु, मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नदिनेहरु आत्तिएका छन् । केही भएन, केही भएन भनेर कराइरहेका छन् । तर म भन्न चाहान्छु अहिले वर्तमान सरकार बनेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रा अगाडि बढेको छ । उल्लेख्य काम भएका छन्।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीन वटै सरकारको समन्वय छ। यी तीन वटै सरकार जनताले निर्वाचित गरेका सरकार हुन् । यी सरकारले राष्ट्र र जनताको हितका लागि कम गरिहेका छन्। परिणामहरु देखिरहेका छन्।

हामीले अझै प्रभावकारी ढंगले काम गर्नु पर्ने छ। यस कारण म के भन्न चाहान्छु भने काम भएको छैन केही भएको छैन भन्ने हल्ला गर्नेहरु छन् । म यति भन्न चाहान्छु उनीहरु किन हल्ला गरिरहेका छन्, यो सरकारले काम गरिरहेको छ। त्यसकारण उनीहरु अफबाह फैलाउनका लागि हल्ला गरिरहेका छन् ।

त्यसकारण भ्रम भन्न चाहान्छु कि, यस ठाउँमा मध्य पहाडि राजमार्गको प्रभावकारी ढंगले काम भइरहेको छ । हामी यहाँ एयरपोर्ट बनाउँदै छौँ । देशभरका एयरपोर्ट सुधार गर्दै छौँ।

अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण गर्दै छौँ । यो सँगसँगै प्रदेशका ठुलठुला रोजगारी विद्युत, आर्थिक विकास आदि सबै क्षेत्रमा काम बढाएको छ। त्यसैगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम अगाडि बढाएको छ।

अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । कसैले अवरोध गर्न सक्दैन। कसैका गफले रोक्न सक्दैन । यो विषयमा हामी अगाडि बढ्छौँ। यो सरकारको सन्देश हो । यो सरकारको प्रतिबद्धता हो।

 

फाल्गुन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्