ट्रम्प-किम वार्ता बिनानिष्कर्ष : प्रतिबन्ध पूर्ण हटाउन कोरियाको आग्रह अमेरिकाद्वारा अस्वीकार

भियतनाम-आफूमाथिको प्रतिबन्ध पूर्णरुपमा हटाउन उत्तर कोरियाले गरेको आग्रह अमेरिकाले अस्विकार गरेपछि दुई देशका कार्यकारी प्रमुखबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ।

उत्तर कोरियाका नेता किम जङ-उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको पछिल्लो वार्ताले दुई देशबीचको सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको थियो।

‘वार्ता प्रतिबन्धमै केन्द्रित भयो। प्रतिबन्ध पूर्णरुपमा हटोस भन्‍ने उनीहरुको माग थियो। तर हामीले त्यो गर्न सकेनौँ’, वार्तापछि सन्चारकर्मीसँग बोल्दै ट्रम्पले भने। वार्ताले परमाणु हतियार निशस्त्रीकरण गर्ने सम्बन्धमा सहमति जुटाउन सक्ने अपेक्षा गरिएको थियो।

यी दुई कार्यकारी प्रमुखले दोस्रोपटक वार्ता गरेका हुन्। ट्रम्पले तेस्रो वार्ताका लागि कुनै योजना नभएको बताए।

पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहीबार ट्रम्प र उनले संयुक्त समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम थियो।तर प्रतिबन्द हटाउने विषयमा अमेरिकाले ‘ग्रिन सिग्नल’ नदिएपछि कोरियन उन थप अगाडि बढाउन चाहेनन्।

‘कहिलेकाहीँ तपाई हिँड्नैपर्छ र यो त्यस्तै समय थियो’, असफल वार्ताबारे ट्रम्पले भनेका छन्।

फाल्गुन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्