रवीन्द्र अधिकारीले संसदमा जवाफ दिन नपाएका यी पाँच प्रश्नहरु

पर्यटनमन्त्री अधिकारीलाई प्रश्न सोध्न नपाएपछि डस्टबिनमा फ्याँकिएको संसदको कार्यसूची। तस्बिरहरु: प्रकाश ढकाल

काठमाडौं– बिहीबार (हिजो) बस्ने प्रतिनिनधिसभा बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा थियो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सांसदले सोधेका प्रश्नको जवाफ दिने।

मन्त्री अधिकारीकै अनुमतिमा संसद सचिवालयले पर्यटन मन्त्रालयसँग सम्बन्धित पाँच प्रश्न सोध्न प्रश्नकर्ता सांसदहरुलाई पनि जानकारी गराइसकेको थियो। तर, बिहीबार न सांसदले प्रश्न गर्न पाए, न अधिकारीले जवाफ नै दिन। बिहीबारका लागि तय भएको संसद बैठक शुक्रबार सरेर उनै अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ।

उनी सधैंका लागि संसार छाडेर बिदा भए। सचिवालयले बिहीबारका लागि सम्भावित कार्यसूची तयार पारेको केही छिनमै मन्त्री अधिकारीसहित सातजना चढेको एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेर मृत्यु भएको खबर हावासरी फैलियो।

केहीबेर अघि मात्र ‘जवाफका लागि तयार छु’ मन्त्री निधन भएको खबरले सचिवालयका कर्मचारी स्तब्ध बने।

प्रश्नोत्तर सांसदलाई बाँड्नका लागि सचिवालयका कर्मचारीले तीन सयप्रति फोटोकपी पनि तयार पारिसकेका थिए। तर त्यो प्रश्नोत्तर सांसदलाई बाड्नुको साटो डस्टविनमा फाल्न संसदका कर्मचारी विवश भए।

अधिकारीसँग सोध्न प्रतिपक्षी कांग्रेसका तीनजना सांसदले पाँचवटा प्रश्न दर्ता गराएका थिए। ती प्रश्न विमानस्थल निर्माण र पर्यटकीय क्षेत्रसँग सम्बन्धित छन्।

बालकृष्ण खाँडले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कहिले पूरा होला र थप हवाइ रुट लिनेबारे के प्रगति भएको छ ? भन्ने प्रश्न दर्ता गराएका छन्।

गौतमबुद्ध विमानस्थलको निर्माण उल्लेख्य भएकाले त्यसलाई आफ्नो मन्त्रालयको प्रगतिको रुपमा संसदबाटै प्रस्तुत गर्न पाउँदा मन्त्री अधिकारी उत्साहित रहेको उनको सचिवालयले संसदलाई जानकारी गराएको थियो ।

त्यस्तै रामबहादुर विष्टले सुदुरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तड, बडिमालिका, रामारोशन र तितौडामा पर्यटक आकर्षित गर्ने कार्ययोजना र अछामको कमलबजारको एयरपोर्ट सञ्चालन गर्ने सरकारको तयारी के छ ? भन्ने प्रश्न दर्ता गराएका थिए ।

बिष्टले प्रश्न सोध्न नपाएको दु:खभन्दा पनि एक होनहार युवा नेता गुमाउँदा दुःख लागेको देशसञ्चारसँग बताए । उनले भने, ‘उहाँको निधनले धेरै दुःख लागेको छ । एक होनाहार व्यक्ति गुमाएका छौं । कमलबजारको विमानस्थल सञ्चालन गर्नेबारे उहाँ सकारात्मक हुनुन्थ्यो । अब चिर शान्तिको कामना गर्नुबाहेक अर्को विकल्प रहेन ।’

फाल्गुन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्