किमको प्रशंसा गरेका ट्रम्पको गम्भीर आलोचना

उत्तर कोरियामा जेलमा परेपछि निधन भएका अमेरिकी विद्यार्थी ओटो वार्मबियरको परिवारले उत्तर कोरियाका नेता किम जोङ–उनको प्रशंसा गरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।
भियतनाममा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिचको वार्ताको क्रममा आफूहरु परिवेशको सम्मान गरेर केही नबोलेको ओटोका अभिभावकले बताएका छन् ।
तर माफी माग्नु वा ट्रम्पले गरेको जस्तो भव्य प्रशंसाले किम तथा उनको नारकीय शासनले गरेको कु–कर्म बिर्सन नसक्ने उनीहरुले बताएका छन् । किमकै शासनले आफ्नो छोरा मरेको र यसलाई केही कुराले पनि भरणपोषण गर्न नसक्ने ओटोका अभिभावकले बताएको बिबिसीले उल्लेख गरेको छ ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किमको भव्य प्रशंसा गरेपछि ओटोको परिवारले वक्तव्य जारी गरेर गम्भीर चासो व्यक्त गरेको हो । ट्रम्प र किमबिच गएको बुधबार र बिहीबार भियतनामको हानोइमा भएको दोस्रो वार्ता कुनै पनि सम्झौताबिना टुंगिएको थियो ।
ओटोको परिवारले वक्तव्य जारी गरेर गम्भीर चासो व्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफ्नो भनाईलाई बंग्याइएको र गलत अर्थ लगाइएको बताएका छन् ।
I never like being misinterpreted, but especially when it comes to Otto Warmbier and his great family. Remember, I got Otto out along with three others. The previous Administration did nothing, and he was taken on their watch. Of course I hold North Korea responsible….
— Donald J. Trump (@realDonaldTrump) March 1, 2019
ओटोका अभिभावकले शुक्रबार वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पको नाम उल्लेख नगरी उत्तर कोरियाका नेता किमको भइरहेको प्रशंसाको आलोचना गरेका थिए । ओटो उत्तर कोरियाको भ्रमणमा रहेका बेला सन् २०१६ को जनवरीमा पक्राउ परेका थिए ।
युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थी ओटोलाई १५ वर्षको कडा श्रम शिविरको सजाय सुनाइएको थियो । तर उनलाई १७ महिनापछि मुक्त गरियो ।
२२ वर्षका ओटो सन् २०१७ को जुनमा अमेरिकी फर्काइए तर त्यो बेला उनी जीवित त थिए तर मरेतुल्य । त्यसको केही दिनपछि उनको ओहायोमा निधन भएको थियो ।