वित्तीय संस्थाको जागिर, मिडिया व्यवस्थापक, लघुवित्तको सिइओ, कलेजको लेक्चर । त्यसपछि वैकल्पिक अर्थतन्त्र पुस्तकको लेखक हुँदै वैकल्पिक राजनीतिको यात्रा । राष्ट्रिय पत्रपत्रिकामा लेखक तथा स्तम्भकार ।

यी केही परिचयसहित वैकल्पिक राजनीति र अर्थतन्त्रका साथसाथै चिया र पुस्तकका विषयमा बहस गरिरहने यी युवा हुन् मनिकर कार्की ।

३३ वर्षे यी युवा अहिले बुटवलमा नयाँ शैलीको क्याफे सञ्चालनमा व्यस्त छन् । पश्चिम क्षेत्रमै नौलो प्रयोगका रुपमा यिनले पुस्तकसहितको क्याफे सञ्चालन गरेका छन् ।

चिया, कफी, खाजा–नास्ता अनि पुस्तक । एउटै थलोमा बसेर विभिन्न परिकारको स्वादसँग चिया कफीको चुस्कीसहित पुस्तक पढ्न र किन्न पाइने गरी यिनले चिया चौतारी बुक क्याफे सञ्चालन गरेका हुन् ।

विभिन्न स्वादका चिया । विभिन्न विधाका पुस्तक । अनि विभिन्न स्वादका खाजा र खाना । साथै कर्पोरेट मिटिङ भेन्यूसहितको सार्वजनिक बहस र अन्तरसंवादको थलो ।

‘नेपालमै नयाँ शैली र स्वाद दिने उद्देश्य हो हाम्रो¬’ उनी भन्छन्, ‘चिया संस्कृति हाम्रो पुरानो संस्कृति हो, यसलाई पुस्तकसँग जोडेर पठन संस्कृतिको प्रवर्द्धन गर्ने र नयाँ तन्नेरी पुस्तालाई केही सिर्जनशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ यो क्याफेको अवधारणा ल्याइएको हो ।’

क्याफेमा नेपाली संस्कृतिलाई आधुनिक शैलीमा मौलिकता दिने प्रयास गरिएको छ । नेपालका हिमाल, पहाड, तराई, धार्मिक सहिष्णुता, सद्भावलाई एकबद्ध बनाउने सन्देश क्याफेको भित्तामा आर्ट गरिएको छ । राजु खड्काको यो आर्टले चिया चौतारीको विशेषता झल्काउँछ ।

क्याफेका सञ्चालक मनिकर कार्की ।

‘नेपाली शैली र मौलिकता झल्किने गरी हामीले व्यवस्थापन गरिरहेका छौँ’, क्याफेका कार्यकारी सञ्चालक कार्की भन्छन्, ‘हाम्रो हिमाल, पहाड र तराई–मधेसको संस्कृति र यहाँको सुन्दर विविधतालाई एकै ठाउँमा विविध शैलीमा प्रस्तुत गर्ने हाम्रो योजना छ ।’

दैनिक १५ सयको हाराहारीमा युवाहरु विदेश गइरहेको बेलामा युवालाई स्वदेशमै रोजगार दिने गरी यिनले थालेको यो नयाँ शैलीले युवाको मन लोभ्याइरहेको छ ।

‘युवाहरु विदेश नै जानुपर्छ भन्ने जुन खालको मान्यता बनिरहेको छ, त्यसलाई हटाउन हामीले देशभित्रै केही नगरी हुँदैन’, उनले भने, ‘नयाँ संस्कृतिको प्रवर्द्धन पनि हुने र केही मात्रामा रोजगार पनि सिर्जना गर्ने गरी यो क्याफे सञ्चालन गरिएको छ ।

अंग्रेजी साहित्य र चियाका पारखी कृष्ण पाण्डे यो क्याफेले बुटवलको पठन संस्कृतिमै प्रभाव पार्ने बताउँछन् ।

‘मलाई लाग्छ, यो एकदमै नयाँ कन्सेप्ट हो’, उनी भन्छन्, ‘क्याफेमा जुन खालको नयाँ प्रयोग भएको छ यसले पठन संस्कृति र चिया संस्कृतिलाई नयाँ ढंगले प्रस्तुत गरेको छ, यो गजबको लाग्यो ।’

यहाँ २५ थरि चिया पाइन्छन् । नेपाली बगानको सिटीसी चियादेखि अग्र्यानिक ग्रीन टी, यार्सागुम्बा चियादेखि योगी चियासम्मका चिया र नेपाली शैलीका कोदोको रोटी, फापरको रोटी, नेपाली खाना, नयाँ नयाँ स्वादका खाजा सेटको स्वाद पनि लिन सकिन्छ ।

पुस्तक पढ्नका लागि छुट्टै क्याविनको व्यवस्था छ । इन्टरनेट र कम्प्युटरसमेत उपलब्ध हुँदा फुर्सदमा दिन बिताउन पनि सजिलो बनाएको छ क्याफेले ।

तन्दुरी चियासहित २५ थरि चिया


नामै चिया चौतारी । यहाँ २५ थरि चिया पिउन पाइन्छ । २० रुपैयाँदेखि १ सय ५० रुपैयाँ कपसम्मका चिया छन् ।

सबैले पिउने दूध चियादेखि मट्का, तन्दुरी चिया, यार्सागुम्बा चिया, योगी चिया, जस्मिन चिया, अर्गानिक ब्ल्याक टी, अर्गानिक ग्रिन टी, जिंजर टी, तुल्सी हर्बल टी, हनी हट लेमनहुँदै स्पेशल ह्वाइट टी र गोल्डेन टिप्ससमेत पिउन पाइने क्याफेकी सञ्चालन अधिकृत आस्था श्रेष्ठ बताउँछिन् ।

पुस्तक पढ्ने र किन्ने थलो, चिया पनि किन्न पाइने


तपाईँलाई कुनै पुस्तक पढ्न मन छ, तर किन्न मन छैन र त्यस्तो ठाउँ भए हुन्थ्यो भन्ने लागेको छ भने उपयुक्त थलो हो चिया चौतारी बुक क्याफे । नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास होस् र पुस्तक प्रेम बढोस् भन्ने मनसुवाले यस्तो उपाय अपनाइएको कार्की बताउँछन् ।

क्याफेमा नेपाली, अंग्रेजी, हिन्दी पूस्तकहरु छन् । यहाँ विशेषगरी कला, साहित्य, संस्कृति, समाज, राजनीति, व्यवसाय, अर्थशास्त्र, व्यवस्थापन, विचार, दर्शनसहित उत्प्रेरणात्मक पुस्तकहरु रहेका छन् ।

पहिले पुस्तक हेर्ने केही पाना पढ्ने र मन परे किनेर लैजाने व्यवस्था क्याफेले गरेको छ । साथै निकट भविष्यमा पुस्तकालय व्यवस्थापनमा पनि काम गर्ने कार्कीको योजना छ ।

यहाँ चिया पिउने मात्रै हैन मन परेको स्वादको चिया किन्न पनि पाइन्छ । यहाँ १५ थरिका चिया किन्न पाइन्छ ।

अर्को गजबको कुरा, सबै नेपाली चिया बगानकै चिया हुन् । ५ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ प्रतिकिलोसम्मको चिया किन्न पाइने कार्यकारी सञ्चालक कार्की बताउँछन् ।

देशभर सञ्जाल बिस्तारको योजना


बुटवलको बढ्दो शहरीकरण र व्यवसायिकरणसँगै सहरी संस्कृतिको रुपमा बुक क्याफे सञ्चालनमा ल्याएको बताउँदै यसलाई देशका अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्ने योजना रहेको कार्की सुनाउँछन् ।

कार्यकारी सञ्चालक कार्की भन्छन्, ‘बुटवलकै शैलीमा देशका मुख्य शहरमा चिया चौतारी बुक क्याफेको सञ्जाल विस्तार गर्ने योजना बनाएका छौं । साथै, हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेसँगै चियाचौतारीले पाहुना घर सञ्चालन गर्ने र थप सेवा विस्तार गर्ने योजना पनि बनाएको छ ।’

सदस्य बन्नुस्, चिया पिउनुस् अनि किताब पढ्नुस्


चियाचौतारीले ग्राहकलाई सदस्य बनाएर निःशूल्क चिया पिउने सुविधा दिने र निःशूल्क पुस्तक पढ्ने व्यवस्था गर्दैछ । पुस्तकालयहरुमा पाठक नभइरहेको समयमा चिया चौतारीले पुस्तकालयकै शैलीमा सदस्य बनाएर पुस्तक पढ्न दिने सुविधा ल्याएको छ ।

‘हामी क्याफेको सदस्य बनाउँछौं र सदस्यहरुलाई निःशूल्क चिया खुवाउँछौँ । अनि उहाँहरुले चाहेको पुस्तक पढ्ने अवसर दिन्छौं’ कार्की भन्छन्, ‘क्याफेमै बसेर चियाको चुस्कीसँगै हामीकहाँ उपलब्ध पूस्तकहरु पढ्न पाइनेछ । तर पुस्तक घरमा लैजान भने पाईँदैन ।’

सदस्य बन्नेका लागि क्याफेमा विशेष छुटको सुविधा दिने पनि उनले बताए । क्याफेको वार्षिक सदस्यता लिनेका लागि सबै सेवाहरुमा विशेष छुट दिने योजना क्याफेको छ ।

कार्कीले सञ्चालनमा ल्याएको चिया चौतारीको लागत झण्डै एक करोड छ । १७ जना शेयर सदस्यहरुबाट लगानी संकलन गरेर सामुहिक रुपमा कर्पोरेट शैलीमै क्याफे चलेको छ । ‘अहिलेसम्म झण्डै ६० लाख खर्च भइसकेको छ, यो सम्पूर्ण रुपले पूरा हुँदा लागत झण्डै करोड पुग्ने अनुमान गरिएको छ’, कार्की भन्छन् ।

फाल्गुन १८, २०७५ मा प्रकाशित