मन अहिलेसम्म उस्तै चिसो छ, र उस्तै भारी

हेलिकोप्टर दुर्घटनास्थलबाट फर्किएपछि…(रिपोर्टर डायरी)

अप्रत्याशित खबरले हल्लियो बुधबार दिउँसो र अझैसम्म त्यसका कम्पन बाँकी छन्। ‘मन्त्री चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त’ भन्ने खबर अपूरो थियो। हेलिकोप्टर दुर्घटना भयो, तर त्यसमा रहेकाहरुको अवस्थाको स्पष्ट जानकारी थिएन। त्यसपछि जानकारी गराउने र लिने क्रम सुरु भयो।

सूचना पाउन सक्ने ठाउँहरुमा फोन गर्दा थाहा लाग्यो–ताप्लेजुङको सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना थिए। अवस्था थाहा भएन। आर्मी अफिसर्स क्लबमै थियाैँ, एउटा कार्यक्रममा। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा त्यहाँबाट निस्किसकेका थिए।

केही दिनदेखि खराब रहेको मौसम त्यो दिन पनि राम्रो थिएन। छिनभरमा घाम लाग्ने, छिनमै कालो बादल मडारिने र पानी पर्ने। आर्मी अफिसर्स क्लबमा सेनाको टोली उद्धारका लागि ताप्लेजुङ जाने तयारीमा थियो। साथमा केही पत्रकारका लागि पनि ठाउँ थियो। मसहितका केही साथी जाने भयौँ। काठमाडौँमै रिपोर्टिङका लागि निस्केका हामीहरु ताप्लेजुङतर्फ हान्नियौँ सेनासँगै।

आर्मीले सुरुमै पाचँजना भनेको थियो। देशसञ्चारबाट म, कान्तिपुर टेलिभिजन, एपिवान टेलिभिजन, रासस र आर्मीका एक फाेटोग्राफर त्रिभुवन विमानस्थल गयौँ सेनासँगै। हामी सेनाको उद्धार टोलीको साथ लागेर ताप्लेजुङका लागि उड्दा दिउँसोको झण्डै साढे तीन भइसकेको थियो।

हेलिकोप्टर दुर्घटनाको अवस्था रिपोर्टिङका लागि हामी हेलिकोप्टर नै चढेर जाँदै थियौँ र सेनाको टोली पनि। मनमा डर पसेको थियो । हेलिकोप्टरमा मौनता थियो, सबैका अनुहारमा सन्नाटा।

झण्डै डेढ घण्टापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हेलिकोप्टर अवतरण भयो। सेनाको टोली स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसँग घटनाको प्रकृति र घटनास्थलको अवस्थाबारे जानकारी लिन थाल्यो। एउटा हेलिकोप्टर घटनास्थलतर्फ निरीक्षणका लागि गइसकेको थियो। सेनाले आफ्नो प्राविधिक कुरा मिलायो। किनकि घटनास्थलमा हेलिकोप्टर बस्न मिल्ने अवस्था थिएन। हामी सुकेटार विमानस्थलमै थियौँ।

त्यहाँ उपस्थितहरुसँग केही जानकारी लिने प्रयासमा हामी पनि लाग्यौँ। यो बेलासम्म हेलिकोप्टरमा रहेका सबैको निधन भएको पुष्टि भइसकेको थियो। मन्त्रीसहित सातैजनाको मृत्यु भएको दुःखद जानकारी थियो।

सेनासँगै गएका हामी पनि घटनास्थल पुग्ने चाहमा थियौँ। तर प्राविधिक अवस्था मिलेन। सेनाको उद्धार टोली र हेलिकोप्टर त्यता गयो। हामी सुकेटार विमानस्थलमै बस्यौँ। सेनाको हेलिकोप्टरले पछाडिको भाग खुला गरेर शव लिनका लागि गयो।

केही समयपछि सेनाको हेलिकोप्टर फर्कियो। यो पटक उसले शवको पोको ल्याएको थियो। पहिलो लटमा शव संकलनका लागि गएका सेनाका उद्धारकर्मीले पोको पारेर शव ल्याएका थिए। त्यसमा मन्त्री रवीन्द्र अधिकारीको शव थियो।

माथि उडेको हेलिकोप्टरमा डोरीमा झुण्ड्याएर शव ल्याउँदै गरेको दृश्य अति हृदयविदारक थियो। मन थाम्न सक्ने अवस्था थिएन। तर कामको धर्म निर्वाह गर्नु पर्ने बाध्यता थियो।

मैले क्यामरा तेर्स्याएँ, सँगै गएका अरु साथीहरुले पनि क्यामरा उतै सोझ्याएका थिए। हामीले त्यो कारुणिक दृश्यलाई तस्बिरमा समेट्यौँ। दोस्रोपटक सेनाले चारजनाको शव सुकेटार विमानस्थल ल्याएका थिए।

तेस्रोपल्ट बाँकी शव ल्याउनका लागि हेलिकोप्टर जान खोज्दै थियो। तर मौसमले साथ दिएन। डोरीको सहायताले हेलिकोप्टरबाट घटनास्थलमा झरेका सेनाका दुई उद्धारकर्मी घटनास्थलमै थिए।

यस्तै त्यहाँ प्रहरीका अधिकारी र अरु गरी २०–२१ जना रहेको थाहा भयो। हेलिकोप्टर जान नसक्ने भएपछि बाँकी शव बोकेर ल्याउनेबारे छलफल भयो। प्रयास गरेका थिए। तर सफल भएनन्। मौसमले साथ दिएन। राति भइसकेको थियो।

अघिसम्म कामको चटारोमा रहेका हामीलाई बल्ल रात कसरी बिताउने भन्ने सोच आयो। आर्मीका एक अधिकारी टेलिफोनमा कुरा गर्दै थिए। शायद उनले रात बिताउने चाँजोपाँजो मिलाउँदै थिए।

ती अधिकारीले टेलिफोनमा भनेका थिए, ‘हामी त छौँ सर, पाँचजना पत्रकार पनि हुनुहुन्छ। एकजना चाहिँ लेडिज हुनुहुन्छ।’ त्यसपछि म झल्याँस्स भएँ। अनि बल्ल ख्याल भयो– ए यहाँ म बाहेक त सबै पुरुषहरु पो छन्। म एक्ली महिला हुँ यहाँ। पेशाले सिकाएको कुराले म ताप्लेजुङसम्म हानिएकी थिएँ।

बर्षा शाह

कसो गरेर ती अधिकारीले व्यवस्था मिलाए। सुकेटारकै सेनाको ब्यारेकमा हामी सबैले रातको खाना खायौँ। उता घटनास्थलमा रहेकाहरुका लागि चाउचाउ र चिउरा पठाइएको थियो। खाना खाएपछि सुत्नका लागि नजिकैको होटल लगियो। एउटा कोठामा म र अरु ४ जना अर्को कोठामा बसे।

सबैसँग बिदा भएर म कोठामा छिरेँ। तर, रातभर निदाउन सकिनँ। मौसम चिसो थियो, लुगा त्यस अनुसारको थिएन। त्यसमाथि मनमा पसेको चिसो। हामी होटलमा बसेकालाई त यस्तो जाडो भएको थियो। त्यहाँ शव कुरेर बसेकाहरुको अवस्था कस्तो थियो होला। घरी पानी पर्ने घरी हिउँ पर्ने भयो रातैभरि।

मनमा खेलेका विभिन्न तर्कनाहरुसँगै बिहान भयो। हामी सबै फेरि सुकेटार विमानस्थल गयौँ। साथीहरु पनि शायद निदाउन सकेनन्। विमानस्थलमा सेनाको टोलीले बाँकी तीनजनाको शव ल्याउने तयारी गर्दै थियो। सेनाको हेलिकोप्टर गयो। केही बेरमा अघिल्लो दिन जस्तै गरी शव डोरीमा झुण्ड्याएर ल्यायो।

साथमा सेनाका दुई उद्धारकर्मी पनि डोरीमा झुण्डिएका थिए। हिजो डोरीबाट झरेका सेनाका उद्धारकर्मी प्रताप लामा र तेजबहादुर घले डोरीमै झुण्डिएर शवसँगै आए।

सुकेटार विमानस्थलमा सातजनाकै शव संकलन भयो। प्याक गरेर काठमाडौँ पठाउने तयारी हुँदै थियो, मौसम बिग्रियो। कुहिरोले ढाक्यो। पानी पर्‍यो। अनि हिउँ पर्न थाल्यो। हेर्दा हेर्दै विमानस्थल पूरै हिउँले ढाकियो। हामी सबै मौसम सफा हुने पर्खाईमा रह्यौँ। चिसो अति थियो । लुगा भनेको जस्तो थिएन। हामी कुनै बेला चिसो भगाउन विमानस्थलमै दौडने, कतिबेला हात रगड्ने गरिरहेका थियौँ।

मौसम खुल्न समय लाग्ने देखियो। हामी सबैका लागि खाना बन्दै थियो। हिउँ पर्न रोकियो। मौसम केही खुल्यो। शव हेलिकोप्टरमा लोड गरे सेनाले।

बिहीबार मध्याह्नको १२ बज्दै थियो। हामीसँगै सेनाको टोली पाक्दै गरेको खाना छोडेर काठमाडौँका लागि उड्यौँ। झण्डै डेढ घण्टाको यात्रापछि ताप्लेजुङको एक रात बसाइ र भारी मन लिएर फर्कियौँ। शव झारियो। हामी झर्‍यौँ।

मन भने अहिलेसम्म पनि चिसो छ र उस्तै भारी नै छ।