तोरी खेती गर्न छाडेपछि माहुरीलाई चिनी खुवाएर मह उत्पादन

फाइल तस्बिर

पर्वत– मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ। उनले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थालेका छन्।

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन्। फागुन महीना गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरी खेती गर्ने क्रम घट्दो छ।

किसानले तोरी लगाउन छाडेपछि माहुरीपालक किसान समस्यामा छन्। तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेशा गर्ने जनशक्तिको कमीलगायतका कारणले तोरी खेती गर्ने किसान घटेका हुन्।

माहुरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै माहुरीको चरन अभाव हुँदै गएको हो। बिहादी–१ बाच्छाका माहुरीपालक किसान उत्तम परियारले पाँच–छ वर्षयता हिउँदका पाँच महीना माहुरीलाई चरनको अभाव हुने गरेको बताए।

विभिन्न प्रकृतिका विषादीको प्रयोगले माहुरी मर्ने र घारै रित्तिनै समस्या बढ्दै गएको उनले बताए। किसानले जैविक मल र विषादीको प्रयोग गरेर हिउँदे बाली लगाउने बेलासम्म माहुरी फष्टाउने गरेकामा हिजोआज उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादीलगायतका कारणले माहुरीको जैविक प्रणालीमा समेत गम्भीर असर परेको किसानले बताएका छन्।

मोदी–२ कुँडुलेका हेमनाथ चापागाईंले घर वरपर एक दर्जन घारका माहुरीलाई पनि चरनको अभाव भएको बताए। कुँडुलेमा १४–१५ परिवारले व्यावसायिक माहुरी पालन गर्छन्। स्थानीयका अनुसार थाप्लाबारी, कुँडुले, कँडेनलगायतका गाउँ माहुरीका लागि उपयुक्त क्षेत्र छ ।

‘चिनी खुवाएर पाल्दा दुःख धेरै हुन्छ, लगानी पनि बढ्छ’, बाच्छाका उत्तम परियारले भने, ‘लामो समय चिनी खुवाउनु पर्‍यो भने मह राम्रो हुँदैन।’ कतिपय माहुरीपालक भने प्रविधिको अभावले पनि माहुरीबाट उल्लेख्य लाभ लिन सकिरहेका छैनन्।

कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लामा वर्षेनि करीब सात टन मह उत्पादन हुँदै आएको छ। पछिल्लो समय रासायनिक प्रकृतिका विषादीको प्रयोग, जमीन बाँझो राख्नेलगायतका कारणले माहुरीलाई गम्भीर असर परेको छ।

फाल्गुन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्