नागरिक समाजका विडम्बना र प्रचूर सम्भावना

नागरिक समाजको दायित्व संस्कारको निर्माणद्वारा समाजलाई भय, हिंसा, अभाव र विभेदबाट मुक्तगरी सभ्यतातिर उन्मुख गराउनु हो। यो ज्ञानको आधारशीला हो। यसले राज्यको सम्प्रभूतालाई मानवीय क्षेत्रको विस्तार र बजारलाई आवश्यकताहरुको पूरा र श्रमको क्षेत्रको लोकतान्त्रीकरण गर्न मद्दत गर्दछ।

ज्ञानको आधारशीला भएको कारणले नै यसले मानिसको अस्तित्व, आवश्यकता, स्वतन्त्रता र मुक्तिको क्षेत्रमा नागरिकसँग सहकार्य गर्दछ। उनीहरुको सिर्जनात्मक ज्ञानले जनसहभागिता सकृय, चेतनशील र विवेकी हुन्छ। स्वविवेकी र स्वनिर्णय गर्न सक्ने नागरिकले सार्वजनिक क्षेत्रको विस्तारमा सहयोग गर्न सक्तछन्।

सार्वजनिक क्षेत्रमा हुने समालोचनात्मक वहसमा नागरिकको पहिचान उदार व्यक्तित्व निर्माण, मुलक र अन्तर्राष्ट्रिय बदलिँदो परिस्थितिको बारेमा ज्ञान र आफ्नो जीवनमा आइपर्ने समस्याहरु समाधन गर्न सफल हुन्छन्। अतः नेपालमा पनि नागरिक समाजले नागरिकका अधिकार कर्तव्य, गुण, शीप, ज्ञान प्रदान गर्दै उनीहरुलाई असल जीवनतिर उद्दत गराएमा कमजोर नेपाली राज्यको सवलीकरण हुन सक्तछ।

यसबाट नागरिकले सुरक्षा, कानूनी शासन र सेवा र वस्तुहरु प्राप्त गर्न सक्तछन्। सभ्य जीवनका लागि अभावमुक्त स्वतन्त्र जीवन आवश्यक हुन्छ। यसको आधार न्यायपूर्ण व्यवस्था हो। न्याय पेशा अनुरुप गर्ने कार्य मात्र होइन, यो सामाजिक एकता र व्यवस्थामा सबैलाई सरोकार बनाउने क्षेत्र हो। अतः लोकतन्त्रको सामाजिक आधार सबल बनाउन सामाजिक न्यायको व्यवस्था समेत नेपालको संविधानले गरेको छ।

नागरिक पहिचान उमेर, जाति, वर्ग, लिङ्ग, क्षेत्र, जात, धर्म, पेशागत र अन्य पहिचानभन्दा उच्चकोटीको भएकाले नागरिक समाज यीभन्दा माथि उठेर समान पृष्ठभूमि भएको राष्ट्रिय संस्कृतिको निर्माणमा लागे राष्ट्र निर्माण सहज हुन्छ।

समान पृष्ठभूमिको आधारमा साझा भविष्य निर्माण गर्न सजिलो हुन्छ। नागरिक चेतनाको अभावमा कतिपय नागरिक समाज नेपालमा सङ्कीर्ण सोचाइ र यस्तै संस्थागत आवद्धतामा रुमल्लिरहेका छन्। कतिपय व्यक्तिमुखी र चाख वा दबाब समूहको रुपमा छन्।

कतिपय दाताहरुको परियोजनामा बाँधिएकाले संस्थागत पूर्वाग्रहमा जेलिएका छन्। उनीहरु आफैँ स्वतन्त्र नभएकाले समानता र ऐक्यवद्धताको क्षेत्रमा काम गर्न कठिनाइ भएको छ।

कतिपय नागरिक समाजका व्यक्तिहरु आफूलाई अगुवा र अन्यलाई पछुवा भनेर राज्य र दल जस्तै सामाजिक तहहरु निर्माणमा व्यस्त छन्। नागरिक समाज त नागरिकको पारस्परिक हित, सेवा र अधिकार प्रवद्र्धनका लागि उनीहरुलाई आफैँले खोलेको संस्था, सञ्जाल, अभिमान, आन्दोलन वा कदम हो जुन समानताको आदर्शमा स्थापित हुन्छ।

यसमा राजनीतिक दलझैँ अगुवा वा पछुवा नभई छलफल, विमर्श र सहमतिबाट सहकार्य हुन्छ। यसको आधारमा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार, पर्यावरणको संरक्षण, सामाजिक न्याय, शान्तिको बारेमा पैरवी गर्दै समाजका विकृतिहरु, विभेद र थिचोमिचो हटाउँछन्।

नेपालको धेरैजसो नागरिक समाजका पहलकदमीहरु सङकीर्ण धरातलबाट उठ्न नसकेकाले उनीहरु लोकतन्त्रको सच्चा पहरेदारका रुपमा आम नागरिकको हितको लागि कार्य गर्न सकिरहेका छैनन्। अतः विविध आदर्शका वावजुद नेपाली नागरिक समाज आफैँ विडम्बना, अन्तरविरोध, विभाजन र कतिपय विलय भएका छन् दलगत राजनीतिमा।

एउटा विषयमा पुराना नागरिक समाज सफल भए नेपाली राज्यले पूरा गर्न सक्ने भन्दा पनि बढी मागहरुको उठान गरेर। यसबाट राजनीति र समाजको गुनासो तथा पिरमर्का व्यवस्थापनमा लोकतन्त्र कमजोर सिद्ध भएको छ। तर, उनीहरुले राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको जुन आवश्यकता दर्शाएका छन्, त्यसले दलको समावेशिता, प्रतिनिधित्व र रुपान्तरणमा सहयोग पुर्‍याएको छ।

वैधानिक माग र आवाज अभिव्यक्त गर्ने निकायको रुपमा नागरिक समाजले आफ्नो कार्य अघि बढाउनु आवश्यक छ। नागरिक समाज न नेपाली जनता, न नेपाली राज्यमा अन्तर्निहित सार्वभौमिकताका विकल्प हुन्। विधान र ऐन बनाउने व्यवस्थापकीय अधिकार नेपाली नागरिकमा सुरक्षित हुन्छ र त्यसैको प्रयोगबाट उनीहरु आफूलाई अधिनस्थ पार्ने ज्ञान, परम्परा, प्रविधि र संस्थानहरुबाट मुक्त हुँदै विवेकी र तर्कयुक्त हुन सक्तछन्।

अतः नेपाली नागरिक समाजले सार्वजनिक इच्छा, क्षेत्र, चाख र वस्तुहरुलाई स्वार्थ समूहको नियन्त्रणबाट मुक्त हुँदै आम नागरिकको संवैधानिक र मानव अधिकारको पूर्तिका क्षेत्रमा सचेतता, क्रियाकलाप र सहकार्य थालनी गरेमा नेपाली नागरिकले सार्वजनिक व्यवस्था, सुरक्षा, स्वतन्त्रता र स्वाभिमान हासिल गर्न सक्तछन्। सभ्यता र संस्कृतिको मध्यस्थता नै चेतनशील नागरिक समाजले गर्छ। अतः विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिक समाजले प्रज्ञा, नीतिहरु, कानून र राजनीतिको दिशानिर्देश र समाजको सकारात्मक परिवर्तनको क्षेत्रमा कार्य गरेमा नेपालका विकृतिहरु, अभाव र अज्ञानता हटाउँदै नागरिक र राज्यबीच सहकार्य बढाउन सक्तछन्।

नेपाली नागरिक समाजले राज्यसँग सम्प्रभूताको साझेदारी गर्दा यसको आन्तरिक र वाह्य दायित्व वहन गर्न सहायोग गरेमा कर्तव्यमूखी समाजको निर्माणले नागरिकका अधिकारहरु पूरा गर्न सजिलो हुन्छ। तर, उनीहरु अन्तर्राष्ट्रिय राजनीतिको बहावअनुसार चलेमा अन्तर्राष्ट्रिय समाजजस्तै नेपाली समाज पनि अराजक हुन्छ र भूराजनीतिक द्वन्द्वको कारक हुन्छ।

यसबाट विभिन्न खालका विचौलियाहरुको भूमिका न्यूनीकरण गर्न सजिलो हुन्छ। तर नागरिक समाजले नेपाली नागरिकहरुमा सार्वजनिक विवेकको प्रवद्र्धनबाट सामाजिकीकरण गर्ने सन्दर्भमा आफ्नो सांस्कृतिक, ऐतिहासिक र स्वतन्त्रताको परम्पराको परिवेश बिर्सन हुँदैन। अनुभवले विवेक प्रदान गर्दछ र आफू र समाजलाई मानवीय बनाउन सहयोग गर्दछ।

व्यवहारिक विवेकको सदुपयोगबाट नागरिक समाजले नेता र नागरिकको चरित्र निर्माणमा सहयोग गर्न सक्तछन्। तर, चरित्र निर्माणमा आत्मज्ञान र अधिकार प्राप्तिका लागि वैज्ञानिक र व्यवहारिक ज्ञानकोबीच मध्यस्थता नेपाली नागरिक समाजले नगरेको हुँदा लोकतन्त्रको स्थापना र विसर्जनमा उनीहरुले सरोकार देखाउनुको सट्टा दिपावली गरेको हो। व्यक्तिगत स्वार्थ र दलगत अनुशासनको अभावमा सार्वजनिक हित कमजोर भएको हो र रणनीति र कानूनबीच अन्तरविरोध हुँदा राज्य र व्यवस्थाको जवाफदेहीताको क्षमता कमजोर भएको हो।

नेपाली नागरिक समाजले राज्यसँग सम्प्रभूताको साझेदारी गर्दा यसको आन्तरिक र वाह्य दायित्व वहन गर्न सहायोग गरेमा कर्तव्यमूखी समाजको निर्माणले नागरिकका अधिकारहरु पूरा गर्न सजिलो हुन्छ। तर, उनीहरु अन्तर्राष्ट्रिय राजनीतिको बहावअनुसार चलेमा अन्तर्राष्ट्रिय समाजजस्तै नेपाली समाज पनि अराजक हुन्छ र भूराजनीतिक द्वन्द्वको कारक हुन्छ।

त्यसैले वाह्य निर्देशित, परनिर्भर र सांस्कृतिक रुपले विनिर्माणको शक्तिको रुपमा रुपान्तरण भएमा उनीहरुले नेपाली द्वन्द्व पश्चातको मेलमिलाप, न्याय र भूकम्प पश्चातको पुनर्निर्माणमा गहकिलो र समुचित कार्य गर्न सक्तैनन्। त्यस्तै उनीहरु सार्वजनिक क्षेत्रको विस्तारको बदला असीमित भूमण्डलीकरणतिर लागेमा अराजक बजारजस्तै हुन्छन्, जसले नागरिक दायित्व र राष्ट्रिय जिम्मेवारी लिँदैनन्। यस्तो जमातले वाह्य जगतमा पर्यटन प्रवद्र्धन गर्दछ र आन्तरिक समस्याको समाधानमा बाह्य सोचाइ, विचार र गराइ ठिक हुन्छ भन्ने ठान्दछ। यसबाट मानवीय दायित्व वहन हुँदैन।

नेपालमा यसको खतरा बढेर गएकाले नेपाली नागरिकका समस्याहरु– गरिबी, विभेद, आप्रवासन, कमजोर र महिला विरुद्ध हिंसा, पर्यावरणको विनास, घुसखोरी र भुराजनीतिक चलखेल ज्यूँका त्यूँ छ। आंगिक नागरिक समाज युग धर्मको नाउँमा आफ्नो ऐतिहासिकताको विरुद्धमा अनिश्चितताको दिशामा संघर्ष गर्दैन। संविधानवादको एक विवेकशील पक्ष नागरिकको सामूहिक इच्छा र यसको ऐतिहासिकता प्रतिनिधित्व गर्नु पनि हो।

नेपालको नागरिक समाज जो विचार र ज्ञान निर्माणको क्षेत्रमा उद्दत छन्। तिनले श्रम र राजनीतिबारे आफ्नो प्रष्ट अडान खुलाउनुपर्दछ किनभने यी दुईले नागरिकलाई अरु संसारभन्दा फरक दायरामा उभ्याउँदछन्। किन नेपाली श्रमिकहरुले अरुको लागि काम गरेर आफ्नो मुलुक अभावग्रस्त र गतिहीन भयो, त्यसबारे नागरिक समाजले बहस चलाउनु पर्दछ। अनि स्वकेन्द्रित राजनीतिको गतिशीलताले सार्वजनिक हितको प्रवद्र्धन न्यून हुँदा राजनीतिको मूल उद्देश्यमै अपचलन आयो, नागरिक समाजले सबै क्षेत्रका नेतृत्वलाई जवाफदेही बनाउन सकेनन् र दल, सरकार, लोकतन्त्र र नेपाली राज्यले नै संस्थागत स्थिरता प्राप्त गर्न सकिरहेका छैनन्, त्यसबारे पनि सुसूचित वहस थालनी गुर्न आवश्यक छ। अतः नेपाली नागरिकले आफै सक्रिय भई विभिन्न विचारहरुको संश्लेषणबाट प्राप्त गरिएको ज्ञानलाई आफ्नो अनुभव, विवेक र स्वदेशी ज्ञानको कसीमा राख्दै समाजका विभिन्न संस्थाहरुमाथि लोकतान्त्रिक नियन्त्रण, सन्तुलन र कर्तव्यनिष्ठ बनाएमा अविवेकी तृष्णाहरु न्यून गर्दै नयाँ आशा जगाउन सकिन्छ। यसबाट नेपाली समाजको सभ्यताको परिचय पनि प्रतिविम्बित हुन्छ।

फाल्गुन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्