जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

प्रदेश २ को भाषा मैथिली हुनु पर्नेमा सभापति देउवाको जोड

जनकपुरधाम–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको साहित्यमा मैथिली भाषा र मिथिला संस्कृतिको व्यापक प्रभाव रहेको बताएका छन्।जनकपुरमा शनिबारदेखी सुरु भएको महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले प्रदेश नम्बर २ को राष्ट्रिय भाषा मैथिली हुनुपर्नेमा जोड दिए।

मैथिली विकास कोषद्वारा आयोजित ‘जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु भएको हो। नेपालको ईतिहास र हरेक कुरामा मैथिली भाषा र मिथिलाको प्रभाव रहेको बताउँदै कांग्रेस सभापति देउवाले प्राचिन राजा जनकको नगरी जनकपुरधामले संस्कृति जोगाएर राखेको प्रति खुसी व्यक्त गरे।

उनले संघीयता देशको आवश्यक्ता पनि हो र यसलाई कसैले बदल्न नसक्ने बताए।

सभापति देउवाले भने, ‘अब संघीय देश नेपालमा आ–आफ्नो भाषाको बोल्ने लेख्ने अधिकार छ र यसमा कसैको कुनै पनि किसिमको हस्तक्षेप गर्ने अधिकार छैन । यद्यपी संविधानमा रहेको केही कुरा संसोधन गर्ने प्रस्ताव आफुहरुले राखेका थियौं तर संसोधन हुन सकेन।’

यस्तै, उनले मिथिला र मैथिली विकासका लागि आफ्नो पार्टीले सदैव सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसका लागि लागिरहने प्रतिबद्धता व्यक्त गरे।


सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाउँदै आम जनता तथा सञ्चार माध्यमलाई लेख्न र बोल्न नियन्त्रण गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा रोक लगाएर संघीयताविरुद्ध अधिनायकवाद लाध्न खोजेको आरोप लगाए।

उनले प्रदेश र आम जनताको मौलिक हक खोसेर सरकारले गरिरहेको संघीयताविरोधी काम कांग्रेसलाई मान्य नहुने र त्यसविरुद्ध संघर्षमा जाने चेतावनी दिए।

यस्तै, नेपाली कांग्रेसका उपसभापनि विमलेन्द्र निधीले नेपालमा नेपालीपछि सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेको बताएका छन्। संसारमै बोलिने उत्कृष्ट भाषाहरु मध्ये मैथिली पनि एक रहेको भन्दै पुर्वप्रधानमन्त्री समेत रहेका उपसभापनि निधीले भने, ‘मैथिली भाषा उच्चकोटीको तथा सरल रहेको विद्वानहरुको भनाई छ र नेपालको दस्तावेजमा अधिकारिक तथ्यांक अनुसार मैथिली भाषा नेपाली पछि सबैभन्दा बढी बोलिने भाषा हो।’

२०४६ सालको संविधान र अहिलेको संविधान २०७२मा समेत मैथिली भाषालाई दोस्रो भाषाको रुपमा राख्न अभियान चलेको थियो र अहिले पनि यो अभियानमा लाग्नु पर्ने आवश्यक्ता रहेको भन्दै उपसभापनि निधीले प्रदेश नं २ को आफ्नो भाषा मैथिली हुनु पर्ने बताए ।

महोत्सवमा मिथिला र मैथिलीमा आधारित विभिन्न नाटक प्रर्शन गरिनेछन्। नेपाल र भारतका विद्वानबीच मिथिला र मैथिली भाषाको अवस्था र संरक्षणबारे छलफल हुनेछ।

महोत्सवमा नेपाल, भारत, बंगलादेश र अफगानिस्तानका नाट्य संस्थाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। देशमा संघीयताको अभ्यास प्रारम्भ भईसकेको र प्रदेश सरकार गठन भएको एक वितिसक्दा पनि प्रदेश २ को राजधानी, नामाकरण र भाषामा विवाद रहेको बेला यसबारे छलफल गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष जिवनाथ चौधरीले बताएका छन्।

फाल्गुन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्