जोर्ज जोन र एलियम्मा जोन ।
निष्काम शिक्षासेवीहरु

जोन सर र एलियम्मा म्याडमसँग दुई घण्टा

राहदानी चाहिन्थ्यो नेपाल पस्नका लागि । उनी भारतका विभिन्न क्षेत्र घुमेर नेपाल घुम्ने रहरले भीमफेदीसम्म आएका थिए विसं २००७ साल अघि ।

तर राहदानी थिएन। महाशिवरात्रीको बेला पनि थिएन त्यो। शिवरात्रीको बेला परेको भए दुई हप्ताका लागि बिना राहदानी नेपाल पस्न पाइन्थ्यो । भीमफेदीसम्म आएका उनी नेपाल हेर्ने रहर तत्कालका लागि थाँती राख्दै फर्किए । त्यो बेला नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्र चिनिन्थ्यो ।

शायद १७–१८ वर्षका थिए, नागपुरमा स्नातक पढ्दै गरेका । अहिलेको महाराष्ट्रमा पर्ने नागपुर त्यो बेला भारतको सेन्ट्रल प्रोभिन्स अर्थात सिपीमा पर्थ्यो ।

स्नातक पहिलो वर्षमा अध्ययनरत केरलाका जोर्ज जोन गर्मी बिदाको बेला पारेर आफ्ना साथीसँग भारतका पटनासँगै, विहार सहितका क्षेत्र घुमेर नेपाल हेर्ने रहरले भीमफेदीसम्म आएका थिए। काठमाडौँ खाल्डो छिर्न नेपालीलाई नै बडाहाकिमले तोक लगाइदिनु पर्ने समयमा भारतबाट आएका जोर्ज जोन राहदानी बिनै पस्न पाउने कुरो थिएन । उनी फर्किए ।

तर केही वर्षपछि जोनको रहरको बाटो खुल्यो । नेपालमा व्यवस्था परिवर्तन भयो । प्रजातन्त्र आयो । अनि खुला भयो प्रवेश । जोनले स्नातक तहको अध्ययन पूरा गरिसकेका थिए । उनलाई नेपाल हेर्ने यसअघिको अपूरो सपना पूरा गर्ने र खुला आँखाले कल्पनाको ठाउँ हेर्ने रहरले तान्यो।

अनि आए नेपाल


२००९ सालको चैतमा जोर्ज जोनले पहिलोपटक काठमाडौँ अर्थात नेपाल देखे । अहिलेको जस्तो बाक्लो बस्ती थिएन । काठमाडौँ खाल्डो साँघुरो थियो। अधिकांशले चिन्थे एकअर्कालाई । औसत भन्दा केही होचो कद, कालो वर्णका जोर्जले धित मरुन्जेल काठमाडौँका गल्ली चाहारे । घुमे ।

रक्सौलबाट अमलेखगञ्जसम्म रेल र बसमा आएका उनी त्यो वेलाको प्रचलित पैदल मार्ग भीमफेदीबाट हिँडेर नेपाल (काठमाडौँ) पसेका हुन् । उनले काठमाडौँलाई हेर्न थालेको हप्ता दिन हुँदै थियो । नयाँ सडक क्षेत्रमा घुम्दै थिए । त्यहाँ एक पाकिस्तानीले ‘ड्राईक्लीन’ पसल खोलेका थिए।

पर्यटकका लागि नेपाल खुल्ला भएकाले ‘ड्राईक्लीन’ चल्न थालेको थियो । त्यसका मालिकले जोर्जसँग कुरा गरे । अंग्रेजी राम्रो रहेकाले जोर्जलाई उनले आफ्नो काममा सहयोग गर्न आग्रह गरे । घुम्न आएका जोर्जले केही महिना काम पनि हुने, धित मरुन्जेल काठमाडौँ घुम्न पनि पाइने सोचे अनि प्रस्ताव स्वीकारे ।

२० वर्षका जोर्जलाई टेनिस खेल्न मन पर्थ्यो । एक बिहान टेनिस कोर्ट खोज्दै उनी डिल्लीबजारसम्म पुगे । त्यहाँ भेटिए प्राध्यापक नरेन्द्र बस्नेत । काठमाडौँमा भर्खर नेपाल नेशनल कलेज (हालको शंकरदेव क्याम्पस) खुलेको थियो । नरेन्द्र बस्नेत त्यहिँ पढाउँथे ।

टेनिसको बहानामा जोर्ज र नरेन्द्रको कुरा बाक्लियो । नरेन्द्रले जोर्जमा आफ्नो कलेजको विद्यार्थी देखे र प्रस्ताव गरे, ‘बेलुकामा हाम्रो कलेजमा पढ, दिउँसो काम छँदैछ ।’ स्नातक गरेका जोर्जले फेरि आइएबाट पढ्न थाले, कारण उनलाई काठमाडौँको बानी पर्न थालेको थियो ।

जोर्ज जोन नेशनल कलेजमा मानविकीका विद्यार्थी बने । दुई–तीन महिनामा फर्किने सोचले आएका उनले यहिँ फेरि अध्ययनको बाटो समाते । जीविकाका लागि काम थियो, खोजेको जस्तो ठाउँको बसाई अनि अब पढाई पनि ।

पत्तै नपाई बिते वर्षहरु


घुम्न आएका जोर्जले काम गर्न थाले । पढ्न थाले । सुरुमा ड्राइक्लिनर्समा काम गरेका उनले त्यसपछि टाइपराइटिङ सिकाउन थाले । ११ कक्षाको परीक्षापछि भारतमै हुँदा सिकेको कुरा यहाँ काम लाग्यो ।

आइए पढे, बिए पढे । अनि अंग्रेजीमा एमए गरे नेशनल कलेजबाट। त्यसबेला नेपालको एम.ए. परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गथ्र्यो त्रिभुवन विश्वविद्यालयबाटै। अध्ययन अवधिमा उनको नेपाल बसाईको ७–८ वर्ष भइसकेको थियो । आनन्ददेव भट्ट र जोर्जले नेशनल कलेजबाट अंग्रेजीमा स्नातकोत्तर गरे ।

विद्यार्थी रहेकै बेला जोर्ज अध्यापक बनेका थिए । ट्युसन पठाउने गर्दा उनको समय त्यसै बित्थ्यो । अध्ययनपछि उनी अध्यापनमा रमाउन थालेका थिए । केरलामा रहेका उनका मातापिता बोलाइरहन्थे, घरबाट चिट्ठी आउँथ्यो । उनलाई भने यतैको माहोलले आफ्नो बनाइसकेको थियो ।

 

पोखरा यात्राको सुरुवात


काठमाडौँ बसाईको ८ वर्ष बितेको थियो । नेशनल कलेजबाट स्नातकोत्तर गरेका जोर्जले ट्युसन पढाएर राम्रो आय गरिरहेका थिए । महिनाको तीन हजार हाराहारीमा कमाउँथे । कुरा २०१७ सालको हो, पोखराको एक विद्यालयका शिक्षक विमलबहादुर थापा जोर्जसँग एमएको परीक्षाका लागि ट्युसन पढ्न काठमाडौँ आएका थिए । उनले जोर्जलाई पोखरा आउन बारम्बार आग्रह गरे। पोखरामा कलेज खोल्ने तयारी थियो ।

दुई महिना ट्युसन पढ्ने क्रममा विमलले जोर्जलाई पोखराका लागि प्रस्ताव गरिरहे । जोर्जले लगातारको आग्रहलाई ‘क्याजुअली’ स्वीकार गरे ।

विमल त्यसको हप्ता दिनमा पोखरा पुगेर जोर्जका लागि नियुक्ति पत्र पठाए, पृथ्वीनारायण इन्टर कलेजको । नियुक्ति पत्रमा तीन सय रुपैयाँ तलब र ५० रुपैयाँ भत्ता थियो । अर्थात जोर्जका लागि महिनाको ३५० रुपैयाँको नियुक्ति पत्रको बोलावट आयो । उनी आफ्नो वचन पूरा गर्न पोखरा गए केही महिनाका लागि । प्रस्तावित कलेजका सचिव शिवबहादुर थापाले हस्ताक्षर गरेको नियुक्ति पत्रले तानिएका थिए उनी ।

पोखरा पुग्दा उनले नियुक्ति पाएको कलेजको आधार नै थिएन । नयाँ कलेजका लागि २५ हजार रुपैयाँ रहेको देखाउनु पर्ने थियो त्यो बेला । तर पोखरामा त्यसको सम्भावना थिएन । १७ हजार रुपैयाँको प्रतिबद्धता थियो । पैसा थिएन ।

देवीरमण सुवेदी नाम गरेका नेपाली पठाउने गुरु थिए, अनि जोर्ज जोन । जोर्जले अंग्रेजी, राजनीति शास्त्र, अर्थशास्त्रसहितका विषय पढाउन पर्ने। कलेजको आफ्नो भवन थिएन । नदीपुरको कन्या स्कूलको भवनमा रातिमा पढाई हुन्थ्यो । विद्यार्थी २० जना थिए ।

 

पौवाबाट सुरु भयो पृथ्वीनारायण क्याम्पस


जोर्ज जोन पोखरा गएर पढाउन थालेको दुई महिना भएको थियो । नदीपुरको रत्नराज्यलक्षमी कन्या स्कुलमा एक रात उनी पढाउँदै थिए । एकजना आएर उनीहरुलाई त्यहाँबाट जान भने । किनकी त्यो बेलाका मन्त्री सूर्यप्रसाद उपाध्याय पोखरा आउँदै थिए र जोर्ज जोनले आफ्ना विद्यार्थीलाई पढाई रहेको स्कुलको अर्को कोठामा छात्राहरुले साँस्कृतिक कार्यक्रमको अभ्यास गरिरहेका थिए ।

छात्राले अभ्यास गरेको ठाउँमा जवान केटाहरु उपस्थित हुनु अमर्यादित मानिन्थ्यो । जोर्ज र उनका विद्यार्थीलाई त्यहाँबाट जान भनियो त्यो रात ।

यो घटनाको असर विद्यार्थीमा गहिरो पर्‍यो । त्यसपछिका दिनमा जोर्जका विद्यार्थीले केही तल रहेको पौवामा पढ्न थाले । त्यहि पौवामा २०१७ मंसिर १७ गते पृथ्वीनारायण कलेजको औपचारिक उद्घाटन भयो ।

सधैँ पौवामा पढाई सम्भव थिएन, यो कुरा विद्यार्थीलाई थाहा थियो । स्थानीय ठूलाबडाको त्यति साथ थिएन । कलेजका पक्षमा चासो विशेष गरि थप अध्ययनका लागि काठमाडौँ वा अन्यत्र जान नसक्ने परिवारका विद्यार्थीको बढि थियो । उनीहरुले नै साँस्कृतिक कार्यक्रम गरे । १२ सय रुपैयाँ संकलन भयो । त्यो बेला यो रकम ठूलो थियो, तर कलेज बनाउनका लागि पर्याप्त भने थिएन ।

बाँस र खरको जोहो अनि छाप्रो


साँस्कृतिक कार्यक्रमले केही रकमको जोहो भएको थियो । तर पौवाको पढाई आफ्नै छाप्रोमा सार्न पुग्ने थिएन । विद्यार्थीहरुले त्यसपछि रातिमा पढ्ने बिहानैदेखि गाउँलेसँग बाँस तथा खरसहितका सामग्री माग्ने क्रम सुरु गरे । बाँस र घरको जोहो भयो र अब छाप्रो बनाउने कहाँ ?

यसको उत्तर त्यो बेलाका बडाहाकिम नारायणप्रसाद शर्माले दिए । पोखरामा बस्ती पातलो थियो, बडाहाकिमले त्यो बेलाको भीमकालीपाटनमा ठाउँ दिए । संकलित बाँस र खरको सहयोगमा त्यहिँ छाप्रो बनाए ।

यहिबिचमा जोर्ज जोनका माता पिताले घरबाट चिट्ठी पठाएका थिए, उनको बिहेका लागि । विसं २०१८ को जेठमा जोर्ज जोनको विवाह केरलाकी एलियाम्मासँग भयो । एलियाम्मा विज्ञानमा स्नातक गरेकी । बिहेपछि उनी पनि जोर्जको साथ लागेर पोखरा आइन् । भीमकालीपाटनमा छाप्रोसँगै जोन दम्पतीका लागि क्वाटर पनि थियो, त्यस्तै छाप्रो । छाप्रो तयार हुँदै गर्दा बेलुका जोर्ज नदीपुरको पौवामा पढाउन जान्थे, एलियाम्मा छाप्रोमा एक्लै हुन्थिन् । विलकुलै नयाँ परिवेशमा आएकी एलियाम्माले कति रात डरमा बिताइन् तर जोर्जलाई पढाउन जानबाट रोकिनन् ।

कलेजको छाप्रो बनाउन विद्यार्थी र जोर्ज जोनले सबै काम गरे । एलियाम्माले सघाइन् । त्यहिँबाट सुरु भएको पृथ्वीनारायण कलेज अहिले नेपालको ठूला क्याम्पस मध्ये एक बनेको छ ।

धेरै थिए अप्ठ्याराहरु


पृथ्वीनारायण क्याम्पसको यात्रामा जोन दम्पतीले धेरै अप्ठ्यारा भोगे । त्यो उनीहरुको रोजाई थियो। विद्यार्थीका लागि आफ्ना सुखहरुको वास्ता गरेनन् । एलियाम्माले पनि त्यहिँ पढाउन थालिन् । छोरी अनीला र छोरा अनु जन्मिए । जिम्मेवारी थपियो । भन्नेले ‘कहाँको धोती यहाँ आएर बसेको छ’ पनि भने । तर जोर्जले आफ्नो बाटो छोडेनन् । त्यस्ता टिप्पणीलाई वास्ता पनि गरेनन्।

उता केरलामा माता पिताले फिर्ता बोलाइरहन्थे । जोर्जको मन भने यतैको भइसकेको थियो, एलियम्माले पनि जोर्जलाई साथ दिइन् । २०२४ साल तिर जोर्जले नेपाली नागरिकता लिए । काठमाडौँमा जोर्जसँगै पढेका सूर्यप्रसाद श्रेष्ठ अञ्चलाधीश बनेर पोखरा आएका थिए । उनैले नागरिकता लिन भने । जोर्जले त्यसका लागि प्रक्रिया सुरु गरे । उता मातापिताको मनमा चिसो पस्यो । छोरा फर्किने भएन भन्ने पीर बढ्यो। सबैले विरोध गरे । तर जोर्जको मन नेपालमै बस्यो । नेपाली बने ।

एलियाम्माले पनि पोखरामै शिक्षा सेवा गरिरहेकी थिइन् । असजिलोहरु पार गर्दै त्रिविबाट एमएस्सी गरिन् । त्यसपछि माछामा विद्यावारिधी गरिन् पटना विश्वविद्यालयबाट । जोर्जले बाग्लुङमा पढाए, त्यसपछि त्रिविमा आए । अनि फेरि पृथ्वीनारायण क्याम्पसमै गए । जीवन शिक्षा सेवामा लगाए ।

गुनासो केही छैन


८६ वर्षका भए जोर्ज जोन अहिले । अनि एलियाम्मा ८२ वर्षकी । केही हप्ताअघि पोखरा गएका बेला हामी जोन दम्पतीलाई भेट्न पोखरा बुद्ध चोकमा रहेको उनीहरुको घर पुग्यौँ । साँझ परेको थियो, जोन दम्पतीको घर पुग्दा । झण्डै दुई घण्टाको बसाईमा जोन दम्पतीले आफ्नो जीवन यात्राका केही स्मृतिहरु सुनाएका हुन् ।

पृथ्वीनारायण क्याम्पसको इतिहास बताए । आफ्ना सजिला–अप्ठ्याराका कुरा गरे । तर सबैमा उनीहरु दुवैमा गर्व थियो । गुनासो कतै देखिएन। जन्मी–खेली हुर्केको माटो भन्दा आफ्नो कर्मले सिन्चेको माटोको सुगन्ध प्रिय रहेको जोर्ज जोनले बताए । एलियम्माका लागि पनि यहि माटो प्यारो बनेको छ ।

आफूले पढाएकाहरु कति देशको नेतृत्वमा पुगे । कति सरकारी सेवामा । कोही उनीजस्तै शिक्षा सेवामा लागे । ती सबैले ‘जोन सर’ र ‘एलियाम्मा म्याडम’ भनेर गर्ने आदरले जोन दम्पतीलाई चम्किलो बनाउने गरेको छ । जोर्ज जोनले आफ्नो कुराको बिट मार्दै हामीसँग भनेका थिए, ‘अप्ठ्यारो त जहाँ पनि छ । त्यो भन्दा ठूलो कर्म हो । हामीले त यहाँ कर्म मात्रै गरेका हौँ । यो कर्मले नै हामीलाई परिचय दिएको छ । यो भन्दा के चाहियो र ? जीवन धन्य भएको छ ।’

जोन दम्पतीसँगको बसाईपछि हामी बाहिरियौँ । पोखरा बुद्ध चोकमा रहेको जोन दम्पतीको रातो रंगको तीन तले घरको मुल गेटमा लेखिएको थियो–करुणालय । जोर्ज एलियाम्मालाई करुणा भनेर बोलाउँछन् ।

हाम्रो प्रवेशका लागि करुणालयको गेट खोलेका जोर्जले अँध्यारिँदै गरेको साँझमा बाहिरिने बेलामा पनि उनले खोले । करुणालयबाट बिदा भयौँ, ती समर्पित ऋषि दम्पत्तिको सत्कर्मको कथा लिएर ।

फाल्गुन १९, २०७५ मा प्रकाशित