एल्बरीमा गजल मुशायरा सम्पन्न

सिड्नी – क्रिएटिभ सर्कल तथा गजल मुशायरा परिवारको आयोजनामा यही मार्च २ तारिख शनिबारका दिन न्युसाउथवेल्स राज्यको एल्बरीमा पर्ने ५२५ स्वीफ्ट स्ट्रिटस्थित एल्बरी इन्टरटेनमेन्ट सेन्टरमा गजल मुशायरा सम्पन्न भयो ।

गजल मुशायरा साँझमा २० जना गजलकारहरूले ४० वटा गजल वाचन गरेका थिए भने स्थानीय कलाकारहरूको गीत र नृत्य समेत प्रस्तुत गरेर उपस्थित कलाप्रेमीहरूलाई मनोरञ्जन दिएका थिए ।

भुटानी नेपालीहरूको बाहुल्यता रहेको सो क्षेत्रमा आयोजना गरिएको गजल मुशायरामा भाग लिन सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलबर्न, पर्थ, एडिलेड, तास्मेनिया, एल्बरीलगायत अमेरिकाबाट पनि गजलकारहरू सहभागी रहेको कुरा कार्यक्रमका संयोजक दुर्गाप्रसाद रिमालले जानकारी दिए ।

उनले अगाडि भने – ‘विभिन्न राज्य तथा विदेशबाट समेत यस गजल मुशायरा साँझमा भाग लिनका लागि आउने सबै गजलकारहरूलाई धन्यवाद दिनका लागि मार्च ३ तारिख आइतबारका दिन वनभोज तथा धन्यवाद ज्ञापन कार्यक्रम पनि आयोजना गरेका थियौँ । कार्यक्रममा गजलप्रेमीहरुको सहभागिताले निकै उत्साहित भएका छौँ ।’

गजल मुशायरा साँझमा दुर्गाप्रसाद रिमालद्वारा लिखित रुबाई सङ्ग्रह ‘समयको आयु’ कृतिको प्रमुख अतिथि एल्बरी सिटी काउन्सिलका काउन्सिलर डेभिड फारले लगायतले विमोचन गरेका थिए ।

त्यसैगरी गजल मुशायरा साँझको सभापतित्व रिमेन आलोकले गरेका थिए भने संचालन प्रकाश धमलाले गरेका थिए ।

साँझमा स्थानीय तथा विभिन्न राज्यहरूबाट आएका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

फाल्गुन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू