मोरङले गोल पोस्ट छेउमा ल्याएको बल क्लियर गर्दै एपिएफका कप्तान मिलन राई।

विर्तामोड– मगमग झापा गोल्डकप फुटबल प्रतियोगिताको आइतबारको खेलमा मोरङ ११ लाई शून्यका विरुद्ध एक गोल गर्दै विभागीय टोली एपिएफ क्लब विजयी भएको छ।

झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा पहिलो हाफमा एपिएफका हरि कार्कीले मोरङ विरुद्ध पहिलो गोल गरेका थिए।

खेलमा सशस्त्रले १–० को अग्रता लिएपछि तीन जना अफ्रिकी मूलका खेलाडी सम्मिलित मोरङले आक्रामक खेल खेलेको थियो। तर मोरङका कैयौं प्रहार गोलमा परिणत हुन सकेन।

बल लिने प्रयासमा एपिएफ र मोरङ (रातो जर्सीमा) का खेलाडी।

दोस्रो हाफमा सशस्त्र विरुद्ध गोलको बदला लिन मैदान पसेको मोरङको केही जोर चलेन। एक गोल गरेपछि सशस्त्रले डिफेन्सिभ खेल खेलेको थियो। उसको एक गोल नै निर्णायक बन्यो।

खेल शुरु भए लगत्तै मोरङले अन्य क्लबका खेलाडी खेलाएको भन्दै विरोध गरेपछि खेल करिब २० मिनेट स्थगित भएको थियो।

सशस्त्रले मंगलबार त्रिभुवन आर्मीसंग खेल्नेछ। सोमबारको खेल उद्घाटन खेलको विजेता झापा ११ र हङकङ नेप्लिज एकेडेमीबीच हुनेछ।

खेलको म्यान अफ दी म्याच सशस्त्रका हरि कार्की घोषित भए। उनले ओली एण्ड एसोसिएट्सले प्रदान गरेको १५ हजार नगद पाए। प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ।

बल नियन्त्रणको प्रयासमा मोरङका खेलाडी प्याट्रिक र एपिएफका खेलाडी रामकुमार कुमाल (सेतो जर्सीमा)।

तस्वीरहरुः उमाकान्त खनाल/देश सञ्चार 

 

फाल्गुन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्