राजेन्द्र महतोले कीर्ते सही गरेर आफ्नो तलब खाएको उनकै पीएको गुनासो

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले स्वकीय सचिवको तलब कीर्ते हस्ताक्षर गरेर बुझेको उनका पीएले दाबी गरेका छन्। गत फागुनदेखि असारसम्मको तलब स्वकीय रवीन्द्र कुमार चौधरी ‘राजेश’ले पाएको भन्दै आफैं हस्ताक्षर गरेर संसद सचिवालयमा महतोले बुझाएको ‘राजेश’ले जानकारी दिए।

महतोले आफ्नो नक्कली हस्ताक्षर गरेर तलब बुझेपछि स्वकीय सचिव चौधरीले राजीनामा दिएका छन्। आफूले आइतबार इमेल मार्फत राजीनामा बुझाएको उनले देशसञ्चारलाई बताए।

गत फागुनमा स्वकीय भएपनि आफूले ‘सुको तलब नलिएको’ राजेशको भनाइ छ। उनले भने, ‘उहाँसँग अन्य विषयमा पनि मेरो चित्त बुझेको थिएन, तलब बुझेको भनेर नक्कली हस्ताक्षर नै गरेपछि स्वकीय भएर काम गर्नुको अर्थ देखिन, त्यही भएर राजीनामा दिएको हुँ।’

राजेशलाई स्वकीयमा नियुक्त गरेपछि फागुनदेखि असारसम्म ५ महिनाको तलब बुझेको भर्पाई नक्कली बुझाएपछि चौधरीले संसद सचिवालयको समेत ध्यानाकर्षण गराइसकेका छन्।

सचिवालयले महतोसँग यस विषयमा कुरा गर्ने र सक्कली भर्पाई नल्याए बेरुजु राखिदिने बताएको राजेशले जानकारी दिए।

पहिले स्वकीयको पनि सांसदकै खातामा जाने भएकाले धेरै स्वकीयले तलब नपाउने र पाए पनि कम पाउने गरेका थिए। सचिवालयले हाल सम्बन्धित व्यक्तिकै खातामा तलव पठाइदिने व्यवस्था गरेको छ। तर राजेशले भने असारदेखि यताको पनि तलब नपाएको बताएका छन्।

राजेश २०७० सालदेखि राजेन्द्र महतोकी श्रमती शैल महतो सांसद हुँदा पनि स्वकीय थिए। त्यतिबेला पनि तलब नलिएको र पार्टीलाई सहयोग हुन्छ भनेर छाडिदिएको बताए। उनले भने, ‘१५ वर्षदेखि उनीहरुकै पछि लागेर काम गरेँ, यो हद गरिसकेपछि अब मैले यिनै नेताको पछि लागेर काम गरेँ भने जिन्दगीभर गुलाम गरेर बस्नुपर्छ, त्यही भएर आज हिम्मत गरेको हुँ।’

राजेशले सांसद महतोमाथि अरु पनि गम्भीर आरोप लगाएका छन्। महतोले मधेस आन्दोलनको भावना बिर्सिएको, सांसद खरिद बिक्रिमा लागेको, राजपा संयोजक हुँदा आर्थिक हिनामिना गरेको समेत उनका स्वकीय सचिवको आरोप छ।

तर सांसद महतोले भने तीन महिना अगाडि नै राजेशलाई स्वकीय सचिवबाट निकालिसकेको र अहिले आफूविरुद्ध लागेको बताएका छन्।
हाल राजपा अध्यक्ष मण्डलको सदस्य रहेका महतो यसअघि दुई महिना अध्यक्ष समेत भएका थिए।

 

फाल्गुन १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्