फाइल तस्बिर

गलकोट– बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका छन्। सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर ५० लाख रुपैयाँको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन्।

नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बसेका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्केका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन्।

उनीहरुले पाँच महीना अघि सो व्यवसायको सुरुआत गरेका हुन्। ‘पैसा कमाउन धेरै ठाउँमा पुगियो, युरोपका पाँच देश पुग्दासमेत सन्तुष्ट हुन सकिएन’, सापकोटाले भने, ‘विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने इच्छाले गाउँमै कुखुरापालन थाले।’

अर्का व्यवसायी केसीले आफ्नै देशमा मालिक र कामदार आफैँ बन्ने रहर जागेर स्वदेश फर्केको बताए। ‘स्वदेशमै गरेको लगानी खेर जान्न भन्ने अपेक्षा राखेर व्यवसाय गर्न आएँ’, उनले भने। फार्ममा अहिले दुई हजार ५०० लेयर्स जातका कुखुरा छन्। दैनिक एक हजार ८०० अण्डा उत्पादन हुन्छ।

‘लगानी थप्दै गएका छौँ’, सापकोटाले भने, ‘दैनिक पाँच हजार अण्डा उत्पादन गर्ने लक्ष्य छ।’ उनीहरुको दैनिकी अहिले कुखुरालाई दानापानी दिन र हेरचाहमै बित्ने गरेको छ।

बजारीकरण गर्न रु ३५ लाखमा जिप खरीद गरको उनले बताए। उत्पादित अण्डा बागलुङ बजार, कुश्मा, म्याग्दी तथा गलकोट लगेर बिक्री गरिन्छ। उनीहरुले एक रोपनी जग्गा आफ्नै तथा एक रोपनी भाडामा लिई कुखुरापालन गर्दै आएका छन्। ‘जग्गाको भाडा वार्षिक २५ हजार रुपैयाँ तिर्ने गरेका छौँ’, सापकोटाले भने।

फाल्गुन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्