सबैभन्दा सफल क्लबको अप्रत्यासित बर्हिगमन

आफ्नै मैदानमा स्तब्ध रियल मड्रिड, पछिल्लो २२ वर्षयताकै खराब नतिजा

च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक सफल र पछिल्ला तीन सिजन लगातार च्याम्पियन बनेको रियल मड्रिडका लागि यो सिजनको यात्रा टुंगिएको छ ।

१३ पटकको विजेता स्पेनिस क्लब रियल मड्रिड यो सिजन च्याम्पियन्सको लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । पछिल्लो २२ वर्षमा रियल मड्रिड अन्तिम ८ मा पुग्न नसकेको यो पहिलो पटक हो ।

पहिलो लेगमा २–१ को अग्रता लिएर पनि रियल मड्रिडले दोस्रो लेगमा आफ्नो अग्रता कायम गर्न सकेन । डच क्लब अजाक्सले रियल मड्रिडलाई स्तब्ध पारेको हो ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति रियल मड्रिडको मैदानमा भएको खेलमा अजाक्सले ४–१ को जित निकाल्दै समग्रमा ५–३ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो ।

हाकिम जियाचले सातौँ र डेविड नेरिसले १८ औँ मिनेटमा गोल गरेपछि अजाक्सले अग्रता बनायो । ६२ औँ मिनेटमा डुसान तादिकले गोल गरेपछि अजाक्सले ३–० को अग्रता लियो ।

७० औँ मिनेटमा मार्को एसेन्सिओले रियल मड्रिडका लागि एक गोल फर्काए । त्यसको दुई मिनेटपछि लासे शोनले गोल गर्दै अजाक्सको ४–१ को जित निश्चित गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा नाचो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो । युवा खेलाडीले भरिएको अजाक्सले युरोपियन प्रतिस्पर्धामा बिना डर उत्कृष्ट प्रदर्शन गरेको हो ।

यसअघि १६ पटक यी दुई क्लबबिच भेट भएको थियो । पछिल्लो १३ वर्षमा पहिलो पटक नकआउट चरणमा भेट भएका हुन् । अजाक्सलाई बर्नाबेउमा जितका लागि कम्तिमा दुई गोल चाहिएको थियो र उनीहरुले त्यो सुरुको १८ मिनेटमै गरेका थिए ।

लगातार उपाधि दिलाउने महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले छाडेपछिको सिजनमा रियल मड्रिड अन्तिम १६ बाटै बाहिरिएको हो ।

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्