राष्ट्रिय टिममा छानिने छैनन् जर्मनीका तीन स्टार खेलाडी

जर्मनीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योआखिम लोले जेरोमी बोएट्याङ, म्याट हम्मल्स र थोमस मुलरलाई अब राष्ट्रिय टिममा छनौट नगर्ने बताएका छन् ।

बोएट्याङ र हम्मल्स दुवै ३० वर्षका भए र मुलर २९ वर्षका छन् । बार्यन म्युनिखबाट खेल्दै आएका तीन खेलाडीलाई अब राष्ट्रिय टिममा छनौट गर्ने कुनै मनसाय नरहेको लोले बताएका हुन् ।

तीन खेलाडीले राष्ट्रिय टिमबाट २४६ खेल खेलेका छ । उनीहरुले जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तर गएको वर्ष रुसमा भएको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । यस्तै जर्मनी नेशन्स लिग फुटबलबाट पनि रेलिगेशनमा परेको छ ।

लोले सन् २०१९ जर्मनीको राष्ट्रिय टिमका लागि नयाँ सुरुवात गरहेको बताएका छन् । आफू नयाँ अनुहारलाई राष्ट्रिय टिममा स्थान दिने मनसायमा रहेको र जर्मनीको फुटबलका लागि यो सही कदम हुने उनले बताए ।

राष्ट्रिय टिममै रहेका युवा खेलाडीले आफ्नो कौशल पूर्ण रुपमा देखाउन पाउनु पर्ने र दायित्व पनि बहन गर्नु पर्ने प्रशिक्षक लोको भनाई छ ।

बोएट्याङ, हम्मल्स र मुलर तीनै खेलाडीसहित खेलेको जर्मनीको पछिल्लो खेल गएको अक्टोबर १३ मा नेदरल्याण्डसविरुद्धको हो । नेशन्स लिग अन्तर्गतको यो खेलमा जर्मनी ३–० ले पराजित भएको थियो ।

मुलरले १०० खेलमा ३८, बोएट्याङले ७६ खेलमा एक तथा हम्मल्सले ७० खेलमा पाँच गोल गरेका छन् ।

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्