टीकापुर हत्याकाण्ड: प्रहरीको वाकिटकीमा सुनिएको त्यो संवाद

घटना एक–भदौ ४


२०७२ साल भदौ ७ गते टीकापुर हत्याकाण्ड हुनुभन्दा तीन दिनअघिको कुरा हो। अखण्ड सुदूरपश्चिम पक्षधरले धनगढीबाट टीकापुरसम्म मोटरसाइकल र्‍याली गरेको थियो।

उक्त र्‍यालीको रिर्पाेटिङका लागि धनगढीबाट मसहित चारजना पत्रकार त्यता गएका थियौँ।

विज्ञापन

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरको दोहोरो आन्दोलनले जिल्ला अशान्त थियो। मोटरसाइकल र्‍याली नगर्न सुरक्षा निकायले गरेको आग्रह अखण्ड पक्षधरले मानेका थिएनन्।

प्रहरीले पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा घेरा हालेर मोटरसाइकल र्‍याली रोक्न खोजेको थियो तर हजारौँको संख्यामा रहेको मोटरसाइकल र्‍यालीलाई प्रहरीले रोक्न सम्भव भएन।

टीकापुर जान पूर्व–पश्चिम राजमार्गको लम्कीबजारबाट दक्षिण लाग्नुपर्छ त्यहाँ पनि प्रहरीले रोक्न खोजेकै हो र्‍यालीलाई तर उनीहरुले टीकापुर नपुगेर नफर्कने अडान लिएपछि प्रहरी ब्याक भयो।

मोटरसाइकल र्‍यालीको अगाडि–पछाडि गर्दै हामी पनि सँगसँगै थियो र्‍यालीसँग। लम्कीबजारबाट अगाडि बढेपछि मोटरसाइकल र्‍यालीरोकियो के भएछ भनेर हामी क्यामरा बोकेर दौडियौँ।

लम्की–टीकापुर सडकखण्डको बीचमा थरुहट आन्दोलनकारीले मोटरसाइकल र्‍यालीमा अवरोध पुर्‍याउने उद्देश्यसहित काठको मुढा तेर्साएका थिए, ढुंगा थुपारेका थिए । त्यसमाथि जलाइएको टायरले धुवाँको मुस्लो फालिरहेको थियो। सुरक्षाको कमाण्ड सम्हालेका थिए जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरीक्षक विश्व खड्काले। उनले आत्तिँदै भन्दै थिए, ‘भनेको मानेनन् अब के गर्ने?’

खेतका गह्रामा रहेका थरुहट आन्दोलनकारीहरुबाट गुलेलीले प्रहार हुन थाल्यो र्‍यालीतिर। सडकबाट ढुंगा प्रहार हुन थाल्यो उनीहरुमाथि अखण्ड पक्षधरबाट। अखण्ड पक्षधर र थरुहट पक्षधरबीच भिडन्तको स्थिति बन्यो। हामी पत्रकारहरु ज्यान जोगाएर काम गर्नुपर्छ भनेर सल्लाह गर्दै थियौँ।

प्रहरीले फेरि अनुरोध गर्‍यो मोटरसाइकल र्‍याली फिर्ता गर्न। तर यतिबेला साँघुरो सडकबाट मोटरसाइकल र्‍याली फर्काउन सजिलो थिएन। यत्तिकैमा तीन–चारजना युवाहरु कराउन थाले, ‘डराएर हुँदैन अगाडि बढ्नुपर्छ’ भन्दै थिए उनीहरु।

नभन्दै आगोको मुस्लो रहेको स्थानतर्फ तीनवटा मोटरसाइकल कुदाए उनीहरुले। त्यसको पछिपछि सबै दौडिए बाटो छेक्न बसेका थरुहट पक्षका युवापछि सरे।

त्यहाँ थरुहट पक्षका युवाहरुको साइकलसहितका सामान छुटेका थिए। अखण्ड पक्षधर युवाहरुले त्यसमा तोडफोड मात्रै गरेनन्, तोडफोडपछि सबै सामानहरु खोलामा बगाइदिए।

दुवैतर्फबाट ढुंगा हानाहान भयो। केही घाइते भइसकेका थिए। र्‍याली अगाडि बढ्यो। अखण्ड पक्षधरका युवाहरु सडक छेउमा रहेका थारु समुदायका घरमा ताडफोड गर्न थाले।

थारु समुदायकी एक बुढी आमा हात जोडेर अनुनय विनय गर्दै थिइन् तर उनको घरको छानाका टायलहरु पनि फुटे। यति भइसक्दा ठूलो संख्यामा थरुहट आन्दोलनकारी पनि भेला भइसकेका थिए। मोटरसाइकल र्‍याली भागाभाग भयो। केही अगाडि निस्के, कतिपय रोकिए।
प्रहरीले अश्रुग्यास प्रहार गर्दै मुठभेड रोक्ने प्रयास गरिरहेको थियो।

एक्कासी हामी पत्रकार चढेको गाडी थरुहट आन्दोलनकारीले घेरे। हामीले पत्रकार हो भन्दा उनीहरु पत्याएनन्। कसैले टीकापुरमा शेरबहादुर देउवा आइरहेको र पत्रकारकै गाडीमा देउवा चढेको कुरा उनीहरुलाई सुनाएका रहेछन्। गाडी खोल्न लगाए पत्रकार मात्रै देखेपछि उनीहरुले हाम्रो गाडी छोडे।

टीकापुर पुग्दा साँझ परिसकेको थियो। आन्दोलनकारीहरु तितरवितर भएका थिए। हामी टीकापुरको एक रेडियोमा गयौँ, समाचार तयार पार्न। यत्तिकैमा फेरि सन्देश आयो बजारमा तोडफोड र आगजनी हुँदैछ भनेर। हामी क्यामेरा लगेर फेरि बजार दौडियौँ। त्यहाँ अखण्ड पक्षधर युवाहरुले नाराबाजी गर्दै विभिन्न घरहरुमा ढुंगामुढा गरिरहेका थिए। शायद ती चौधरी समुदायका व्यक्तिहरुका घर थिए।

आन्दोलनकारीहरुले रेशम चौधरी (हाल प्रतिनिधिसभा सदस्य) का बुवाले चढ्ने सरकारी नम्बर प्लेट भएको मोटरसाइकलनमा आगजनी गरे।

प्रहरीले उनीहरुलाई लखेट्यो। स्थिति असामान्य बनेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाइएको भन्दै माइकिङ्ग गर्‍यो। केही क्षणमै टीकापुर बजार सुनसान भयो तर हामी भने सडकमै थियौँ । साँझ धनगढी पुग्ने मनसायका साथ निस्केका हामीहरु अब कता जाने, कहाँ बास बस्ने भन्ने टुंगो थिएन, सुरक्षा अधिकारीहरुका फोन उठिरहेका थिएनन्।

हामी पत्रकार रहेको जानकारी गराउँदै एक चिया पसलमा भित्रबाट सटर बन्द गरी रोकियौँ।

झ्यालबाट नजिकै प्रहरीको गस्ती टोली रहेको देखिन्थ्यो। हामीसँगै रहेका एक साथीले प्रहरीलाई इसारा गरेर बोलायौँ। ती प्रहरीले धनगढीबाट आएका पत्रकारहरु अलपत्र परेको सूचना माथिल्लो निकायमा पुर्‍याएपछि हामीलाई लिन प्रहरीको भ्यान आयो। टीकापुरको एक होटलमा रात बितायौँ। दोस्रो दिन बिहान प्रहरीले स्कर्टिङ गरेर हामीलाई धनगढी पुर्‍यायो। राजमार्गका हरेक बजारमा थरुहट पक्षधरको आन्दोलनकारी नाराबाजी गरिरहेका देखिन्थे।

त्यसैदिन केन्द्रमा सुदूरपश्चिमका ९ वटै जिल्लाको एक प्रदेश रहने गरी दलहरुबीच सहमति भएको कुरा बाहिर आएको थियो। अखण्ड पक्षधरको आन्दोलन सेलाए पनि थरुहट आन्दोलन झन झन चर्कँदै गयो।

घटना दुई–भदौ ७


हरेक दिन बिहान अखण्ड पक्षधरको जुलुस सकिएलगत्तै थरुहटको जुलुस र थरुहटको जुलुस सकिएलगत्तै अखण्डको जुलुस आयोजना हुन्थ्यो धनगढीमा। स्थानीय प्रशासनले दुवै पक्षलाई सडकमा निस्कन अलग अलग समय तोकेको थियो।

धनगढी बजारको चौराहातिर अखण्ड पक्षधर भेला भएका हुन्थे भने क्याम्पसरोड तिर थरुहट पक्षधर। बीच बजार भन्दा अगाडि बढ्न दुवै पक्षलाई प्रशासनले दिएको थिएन, काँडेतार लगाएर रोकिन्थ्यो।

भदौ ७ गते बिहान ८ बजेतिर मोबाइलको घण्टी बज्यो। थरुहट आन्दोलनका प्रवक्ता माधव चौधरीको फोन थियो। ‘आज टीकापुरमा पनि ठूलो आन्दोलन छ, धनगढीमा पनि चौराहा पुगेरै छोड्ने हो, काँडेतार तोडिन्छ, रिपोर्टिङ्गमा आउनुहोला’ उनले भनेका थिए।

धनगढीको क्याम्पसरोडबाट थरुहट आन्दोलनकारीको विरोध र्‍याली सुरु भयो, हामी पत्रकारहरु त्यहाँ पुगेर काँडेतार लगाइएको जिल्ला प्रशासनको गेट नजिक रोकियौँ।

जुलुस आइरहेको भन्दै बजारका सबै सटरहरु झारिएका थिए। जिल्ला प्रशासनको गेट बन्द थियो। सुरक्षाकर्मी तैनाथ थिए ठूलो संख्यामा। थरुहट आन्दोलनको र्‍याली जिल्ला प्रशासनको गेटमा पुग्यो।

तर प्रवक्ता माधव चौधरीले भनेझैँ काँडेतार तोडिएन। उनीहरु सामान्य कोणसभा गरेर फर्किए। के भएछ भन्ने लाग्यो। एक्कासी मेरो कानमा सशस्त्रका एक प्रहरी अधिकारीले बोकेको वाकिटकीको आवाज गुन्जियो।

झसङ्ग भएँ।

‘टीकापुरमा भीडन्त जारी छ, एसएसपी साप समेत ढलेको खबर छ, ठूलो क्षति भयो’, वाकिटकीमा भनिँदै थियो। म ती प्रहरीको नजिक गएँ। के भएको भनेर सोधेँ तर उनले टीकापुरमा ठूलो क्षति भएको बाहेक अरु केही भनेनन्।

हतार हतार कार्यालय गएँ। सबै साथीहरुका अनुहार मलिन थिए। एकैछिनमा एसएसपी न्यौपानेसहित सातजना प्रहरी र एक नाबालकको ज्यान गएको पुष्टि भयो।

घटनापछि कैलालीमा ३२ दिनसम्म कर्फ्यू लागेको थियो ।

फाल्गुन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्