राष्ट्रपतिको सवारीमा यात्रुको विद्रोह: ट्राफिक भन्छ- गलत बुझाइले भिडियो भाइरल भयो

काठमाडौं- मंगलबार साँझ सात बजेर २७ मिनेटमा ‘चित्र-शब्द’ नामको ट्विटर ह्यान्डलबाट एउटा भिडियो पोस्ट हुँदै त्यसमाथि लेखिएको थियो- यहाँबाट राष्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेटदेखि ट्राफिकले रोकेर राखिरहेका थिए। त्यतिकैमा एकजना मानिस आजित हुँदै बोले, ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।’ सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाए, बाँकी भिडियोमा।
राष्ट्रपति विद्यादेवी भन्डारीको सवारीका क्रममा भएको जामले हैरानी भएपछि मोटरसाइकल चालकले ट्राफिक ब्यवस्थापनविरुद्ध उत्रिएर जबर्जस्ती सवारी चलाएको भन्दै पोस्ट भएको उक्त भिडियो यतिबेला सामाजिक सन्जालमा भाइरल भएको छ।
भिडियो भाइरल भएसँगै यात्रुले ‘ठिक’ गरे, ट्राफिकसहित सुरक्षा निकायले अब बुझ्ने समय आएकोलगायत जस्ता टिप्पणीहरु भइरहेका छन्। भीआईपीहरुको सवारीका बेला राजधानीका यात्रु र सवारी चालकले लामो समय जाममा परेर नियमितजसो समस्या व्यहोरिरहनु परेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने भिडियोको गलत ब्याख्या हुँदा भाइरल भएको दावी गरेको छ। महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले भिडियो जाम खोलिएपछि खिचिएको दाबी गरे।
‘ राष्ट्रपतिको सवारीका लागि लैनचौरमा हामीले करिब १० मिनेट बाटो ब्लक गरेका थियौं। त्यसक्रममा मोटरसाइकल चालकहरुले हर्न बजाएको साँचो हो। तर राष्ट्रपतिको सवारी केशरमहलमा पुगेपछि हामीले लैनचोरको ब्लक खोलेका थियौँ। त्यसक्रममा उक्त भिडियो खिचिएको देखिन्छ। जाम खुलेपछि राष्ट्रपतिको सवारीमा अगाडि बढेका मोटर साइकललगायतका सवारी साधनले बाधा पुर्याउला कि भनेर ट्राफिक प्रहरी आत्तिँदै दौडिएको देखिन्छ’, एसएसपी पन्तले भने।