सुर्खेत-कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको नाटक महोत्सव शुरु भएको छ। साँस्कृतिक संस्थाको आयोजनामा बिहीबारदेखि ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’ शुरु भएकोहो। फागुन २९ सम्म वीरेन्द्रनगरमा हुने महोत्सवमा मञ्चनका लागि १३ वटा नाटक छनोट भएका छन्।

महोत्सवमा सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी १३ वटा नाटक प्रर्दशन हुने आयोजकले जनाएको छ। देशका विभिन्न क्षेत्रको भाषा, संस्कृति भेषभुषा र मौलिकता झल्किने नाटकहरू प्रर्दशन हुने रारा राष्ट्रिय नाटक महोत्सवका संयोजक प्रभाकर शर्माले बताए।

नाटक महोत्सवले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई सार्थकता दिन सहयोग पुग्ने उनले बताए। आयोजकले नाटक प्रदर्शनका लागि तालिकासमेत सार्वजनिक गरेको छ। हरेकदिन दिउँसो एक बजे र बेलुका चार बजे नाटक प्रदर्शन गरिने छ।

बिहीबार आरंग नेपाल सुर्खेतको नाटक ‘मुसल पर्व’ मञ्चन गरियो। फागुन २४ गते शुक्रबार १ नम्बर प्रदेशको सोलुखुम्बु नाट्य समुहबाट ‘आरन’, सुदुरपश्चिम प्रदेशको खप्तड सांस्कृतिक मञ्च परिवारबाट ‘छाउ’ प्रदर्शन हुनेछ। फागुन २५ गते १ नम्बर प्रदेशका मानव अधिकार मञ्च नेपाल, इलामबाट ‘म पहिलो सन्तान किसान जन्माउँछु’ र कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट ‘आमाको सपना’ नाटक प्रदर्शन हुनेछ।

२६ गते २ नम्बर प्रदेशको श्री गढीमाई नाट्य कला केन्द्रबाट नाटक ‘दहेज आ दारु’ र त्यसै दिन सुदुरपश्चिम प्रदेशको सुदुर पश्चिमाञ्चल साहित्य समाज कैलालीबाट ‘श्रीमान् वीरबहादुर’ नाटक प्रदर्शन हुनेछ। यस्तै फागुन २७ गते विहान ११ बजे तीन नम्बर प्रदेशको साइलेन्ट एक्ट काठमाडौंको नाटक ‘जिउँदो आकाश’ र कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाको ‘फड्को’ नामक नाटक प्रर्दशन हुनेछ। २८ गते चार नम्बर प्रदेशका मञ्जरी नाट्य समुहको नाटक ‘नौगेडी’ र प्रदेश ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट ‘हिटवा’ नाटक प्रर्दशन हुनेछ।

महोत्सवको अन्तिम दिन फागुन २९ गते ४ नम्बर प्रदेशको युथ क्रिएसन थिएटर पोखराबाट नाटक ‘घेरो’ र ३ नम्बर प्रदेशको ‘ङ’ समुह काठमाण्डौबाट ‘एक बोली एक दाम’ नाटक प्रर्दशन हुनेछ।

सुर्खेतको प्रहरी व्यामशालामा आयोजना हुने महोत्सवका लागि एक सयदेखि तीन सयसम्म टिकटको शुल्क निर्धारण गरिएको छ। स्थानीय नाट्य संस्था आरंग नेपालको सहकार्यमा हुन लागेको महोत्सवमा उद्घाघाटन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गरेका छन्।

फाल्गुन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्