कहाँबाट आयो शसस्त्र प्रहरी र सेनाले बोक्ने हतियार शिवगढी गाउँमा ?

बुटवल-कपिलवस्तुको शिवगढीमा प्रहरीले सर्च अपरेशनका क्रममा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँगबाट एसएमजी हतियार बरामद गर्‍यो।

दुर्गा बहादुर रोकाको घरबाट एसएमजी सर्ट मेसिन गन २ थान बरामद गरेको कपिलवस्तु प्रहरी प्रमुख अच्युतम पुडासैनीले पुष्टि गरेका छन्।

यो नेपाली सेना र सशस्त्र प्रहरीसँग रहेको अत्याधुनिक अटोमेटिक हतियार हो। ‘दुईवटा एसएमजी सर्ट गन मेसिन अत्याधुनिक हतियार भेटिएका छन्, प्रहरी प्रमुख पुडासैनीले भने–नेपाली सेनाले चलाउने हतियार हो यो,सशस्त्र प्रहरीसँग पनि छ।’

नेपाल प्रहरीको भने स्पेशल टास्क फोर्ससँग मात्रै रहेको यो हतियारले स्वचालित अवस्थामा प्रतिमिनेट पाँच सय गोली फायर गर्छ भने अर्धस्वचालित अवस्थामा ३४ राउन्ड फायर गर्छ । यो हतियारले दुई सय मिटर क्षेत्रसम्म असर गर्छ।

दोस्रो विश्वयुद्धका बेला ब्रिटिशमा निर्माण भएको एसएमजी दर्जनौं मुलुकमा भएका ठूला युद्धमा प्रयोग भएको हतियार हो । नेपाली सेनाले यो हतियार दश वर्षे माओवादी सशस्त्र युद्धताका नेपाल भित्र्याएको थियो। पछिल्लो समय एम १६ आएपछि यो हतियार कम प्रयोगमा रहेको सुरक्षा अधिकारीहरु बताउँछन्।

‘यो हतियार अलिक पूरानो हो, अहिले भारतमा पनि बन्ने यो हतियारभन्दा धेरै आधुनिक हतियारहरु आइसकेका छन्’-एक सुरक्षा अधिकारीले भने।
यस्तो अत्याधुनिक हतियार कहाँबाट विप्लवका कार्यकर्तासँग भेटियो?

प्रहरी यसकै खोजीमा छ। अत्याधुनिक हतियार फेला परेपछि प्रहरीले थप खानतलासी र निगरानीलाई बढाएको छ। ‘त्यो अत्याधुनिक हतियार कसरी आयो, हामी खोजअनुसन्धानकै क्रममा छौं, कपिलवस्तु प्रहरी प्रमुख पुडासैनीले देशसञ्चारसँग भने-यो कति पूरानो र कुन अवस्थामा रहेको हतियार हो, हामीले अध्ययन गर्दैछौं।’

झोलामा लुकाएर राखिएका हतियार नेकपा कार्यकर्ता रोकाको घरबाट फेला परेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार ती हतियारसहितको झोला बोकेर भाग्न खोज्दा प्रहरीले खुट्टामा गोली हानेको थियो । प्रहरीले यो हतियार युद्धकै बेलाको हुनसक्ने अनुमान गरेको छ।

‘हतियारको नम्बर र अरु कुराहरु हेर्ने काम भइरहेको छ, नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने–युद्धका बेला नेपाली सेनासँगको लडाइँमा लुटिएको हुनसक्छ भन्ने प्रारम्भिक तथ्य हो, त्यो बाहेकका कुराहरुमा पनि हामीले अनुसन्धान गरिरहेका छौं।’

अन्य साना हतियारहरु खुला सीमानाका कारण अपराधिक समूहले भारतबाट भित्राएपनि यति धेरै ठूला र अत्याधुनिक हतियार भने पछिल्लो समय फेला परेका थिएनन् । पूर्वी नेपालमा यही हतियारसरहको अर्को हतियार फेला परेपनि यो हतियार भने नेपालमा धेरै समयपछि फेला परेको हो।

‘हतियारहरुका बारेमा हामीले पनि यही भन्न सक्ने अवस्था छैन, प्रहरी अनुसन्धानकै क्रममा छ, अनुसन्धान सकिएपछि सबै कुरा बाहिर आउँछ,–प्रदेश ५ प्रहरी प्रमुख पिताम्बर अधिकारीले भने।

सर्च अपरेशन जारी छ-प्रहरी


प्रहरीले शिवगढीमा ठूलो संख्यामा आधुनिक हतियारसहितका हतियार र विष्फोटक सामग्री बरामद गरेपछि थप सक्रियता देखाएको छ।
कपिलवस्तु प्रहरी प्रमुख पुडासैनी भन्छन्-हामीले शिवगढी क्षेत्रमा गरेको अपरेशन सफल नै भयो, हाम्रो आँकलन सही निस्कियो, तर अरु पनि धेरै काम बाँकी छ।’

उनले पूर्व सूचनाका आधारमा चलाएको सर्च अपरेशनका क्रममा केही अवरोध र असहजता भएपनि प्रहरी अझै पनि अनुसन्धानकै क्रममा रहेको बताए।

‘हाम्रो अपरेशन सकिएको छैन, हामीले थप निगरानी र थप अध्ययनलाई जारी राखेका छौं, उनी भन्छन्-शंकास्पद स्थानहरुमा अनुसन्धानका लागि प्रहरीको टोली खटिइसकेको छ।’

घटनाबारे नेकपाको आपत्ति, भन्यो-सर्वसाधारणमाथि दमन भयो


शिवगढीमा प्रहरीले अनावश्यक रुपमा स्थानीयमाथि दमन गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ।

नेकपाका कपिलवस्तु जिल्ला सक्रेटरी संगम पुनले विज्ञप्ति निकाल्दै पक्राउ परेका रोका निर्दोष रहेकोले तत्कालै रिहा गर्न माग गरेका छन्।

फाल्गुन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्