महिला र पुरुष एक अर्काका परिपुरक हुन्, बराबर किन भनिँदैछ?

आज अन्तराष्ट्रिय नारी दिवस । विश्वभर प्रभात फेरि, समारोह, गोष्ठि तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरेर महिलाको मानव अधिकार सुनिश्चितताको आह्वान गर्दै अन्तराष्ट्रिय नारी दिवसलाई भव्यताका साथ मनाउने चलन छ । महिला विकासको लागि स्थापित यस विश्व अभियानमा नेपालले पनि हरेक वर्ष सक्रिय सहभागिता देखाउंदै आएको छ ।

यसपालि नारी दिवसको नारा ‘ब्यालेन्स फर बेटर’ अर्थात ‘प्रगतिका लागि सन्तुलन’ भन्ने छ । सरसर्ती हेर्दा यस वर्षको नारा पछिल्लो वर्षको नारा (प्रगतिका लागि दबाब) भन्दा प्रगतिशिल देखिन्छ , जसमा अप्रत्यक्ष रुपमा महिला लगायत पुरुष र तेस्रोलिंगीहरुलाई समेत यो नारी दिवसले समेट्न खोजेको भान हुन्छ ।

यो सान्दर्भिक र खुशीको कुरा पनि हो । यो प्रगतिका लागि सन्तुलन भन्ने नाराले महिलाहरुको सशक्तिकरण तथा विकासको लागि पुरुष र तेस्रो लिंगीहरुको तर्फबाट समेत सकारात्मक उर्जा थपिने आशा गर्न सकिन्छ।

महिला र पुरुष समान हुन् भन्ने नारा लोकप्रिय छ । तर के महिला र पुरुष साच्चै समान हुन् त ? हाम्रो विचारमा महिला र पुरुष समान होइनन् । महिला, महिला नै हुन् । पुरुष, पुरुष नै हुन् । बरु, महिला र पुरुष एकअर्काका परिपुरक हुन् ।

यसलाई धार्मिक रुपमा पनि शिवको अर्धनारीश्वर स्वरुपले हरेक मानिस चाहे पुरुष होस् या महिला होस् एक मानवभित्र नारी र पुरुष दुवैको आवश्यकता हुन्छ भन्ने कुरा प्रतिबिम्बित गरेको छ।

हामी मानिसहरु ‘शिव जी’ जस्तो चमत्कारीक ढंगले एकै चोटि नारी र पुरुष हुन सक्दैनौँ । हामी मानवहरुमा कसैमा नारीको गुण प्रबल छ भने कसैमा पुरुषको।
अझ अहिलेको समयमा त तेस्रो लिंगीलाई पनि अबहेलना गर्नै मिल्दैन ।

मानव महिला र पुरुष गरि दुई जातिमा मात्र सिमित छैन्, तेस्रो लिंगीहरुलाई पनि समेटेर मानवको दुई भन्दा बढि जाति हुन्छ भन्ने कुरालाई सहज रुपमा स्वीकार्नु पर्ने समय आइसकेको छ। हामी चाहे महिला हुं, पुरुष हुं वा तेस्रो लिंगी नै किन नहोस् , एकले अर्कालाई परिपुरकको भूमिका निर्वाह गरेर हरेक लिंगीले पूर्ण रुपमा मानव हुने सुख प्राप्त गर्न सक्छौं ।

मानिस चाहे पुरुष, महिला या तेस्रो लिंगी होस् ऊ भित्रको पूर्ण मानब फलिभूत हुन सक्ने वातावरण सबैले पाउनु नै मानव अधिकार हो । यस अर्थमा नेपाल जस्तो पितृसत्तात्मक समाजमा पुरुषको गुण र स्वभाबको मात्रै प्रोत्साहन गरिएको पाइन्छ भने महिला तथा तेस्रो लिंगीहरुको आधारभूत गुणहरुलाई अबमूल्यन गरिएको पाइन्छ।

शायद त्यसैले पनि होला, जति पनि महिलामुखी विकासका कुराहरु भएका छन्, ती गतिबिधिहरु महिलाको अन्तरनिहित गुणलाई उत्खनन गर्नुको सट्टा महिलालाई पुरुष जस्तै बनाउने तिर लागिएको देखिन्छ ।

जस्तो महिलाले पुरुषले गर्न सक्ने काम जे पनि गर्न सक्छ भन्ने होडबाजी चल्यो । त्यसैको सिलसिलामा महिलाले हिमाल चढ्न थालिन्, पहाड फोर्न थालिन्, रकेट उडाउन थालिन् आदि इत्यादि । महिलाले यस्तो काम गर्नु हुंँदैन, गर्न सक्दैनन् भनेर हामीले भन्न खोजेको होइन, तर महिलालाई पुरुषको प्रतिस्पर्धीको रुपमा खडा गर्ने विकास क्रमले कतिपय पुरुषहरुलाई संशकित बनाएको कुरालाई नकार्न सकिँंदैन ।

धेरै मानिसहरुलाई महिलावादी भन्ने बित्तिकै झर्को लाग्ने अवस्था समेत सृजना भएको छ । अहिले विकासको नाममा महिलालाई पुरुष जस्तो मात्रै बनाउने होइन कि पुरुषलाई महिला सरह बनाउने पनि अभियान चलेको छ, जस्तो पुरुषले बालबालिका हुर्काउने, खाना पकाउने आदि ईत्यादि ।

यस्तो सोच र व्यवहारले गर्दा पुरुषहरुले आप्mनो अस्तित्व जोखिममा परेको अनुभव गर्नु शायद पुरुषको हिसाबले ठिकै पनि हुन सक्छ । कृपया स्मरण रहोस् , यी माथिका उदाहरणहरुले काममा लैंगिक विभेद गर्नु हाम्रो आशय पक्कै पनि होइन।

यद्यपि सबै महिला र पुरुषले यो बुभ्mन जरुरी छ कि , महिलाहरुले महिला अधिकारको कुरा गर्दा उनीहरुले आप्mनो मानव अधिकारको कुरा गरेका हुन्, उनीहरुको आशय पुरुषको हक अधिकार खोस्नु वा भागबण्डा गर्नु होइन ।

महिला, पुरुष, र तेस्रोलिंगी समान होइनन्, सबैको आ-आफ्नै अस्तित्व हुन्छ । हरेक लिंगलाई आप्mनो पृथकता अनुसार वृद्धि विकास हुने अवसर दिइनु पर्दछ ।

नेपाली सभ्यताले महिलालाई मानिसभन्दा तल खसालेर कम मान्छे बनाइदिएको छ भने पुरुषलाई मानिस भन्दा माथि उचालेर महामानवको रुपमा परिकल्पना गरिदिएको छ ।

बास्तवमा यो दुवै असामान्य हो । महिला र पुरुष दुवै आफ्नो गुण स्वभाव अनुसार मानव हुने अधिकार पाउनु पर्दछ । नेपालमा महिलालाई प्रत्यक्ष रुपमा हिंसा छ भने, पुरुषलाई पनि अप्रत्यक्ष रुपमा हिंसा छ। जस्तो पुरुषलाई आर्थिक भार , पुरुषार्थ देखाउनु पर्ने दबाब छ, जुन एक प्रकारको सांस्कृतिक हिंसा नै हो ।

जसले गर्दा पुरुषको पनि समग्र वृद्धिविकास हुन पाएको छैन् । महिला, पुरुष, र तेस्रोलिंगी सबैको विकास कसरी हुन्छ त भन्दा सहि सन्तुलन ल्याएर गर्न सकिन्छ ।
समतामूलक विकास योजनाको कार्यान्वयनबाट सहि सन्तुलन कायम गर्न सकिन्छ ।

महिलालाई महिलाको ईच्छा आवश्यकता अनुसार विकास योजना ल्याइनु पर्दछ भने पुरुष र तेस्रो लिंगीहरुलाई पनि उनीहरुको ईच्छा र आवश्यकता अनुसारको विकास योजना हुनु पर्दछ।

हामी महिला भएको कारणले पुरुष र तेस्रो लिंगीका गुण र स्वभाबका बारेमा अभिव्यक्ति दिँदा त्यो न्यायोचित नहुन सक्छ । यस लेखमा हामी महिलाको एक महत्वपूर्ण अन्तरनिहित गुण, स्वभाब, र भूमिकाका बारेमा चर्चा गर्ने अनुमति चाहन्छौँ ।

महिलाको सबैभन्दा ठूलो गुण भनेको ममत्वो हो । यहि ममत्वोले महिलालाई भौतिक, बौद्धिक, नैतिक, र आध्यात्मिकरुपले सम्मानित बनाएको छ । महिलालाई पुरुषभन्दा शारीरिक रुपमा कमजोर भनेर ब्याख्या गरिएपनि महिलाले भोग्न सक्ने प्रशव पीडा त कुनै पनि शारीरिक शक्तिसँग तुलना गर्न मिल्दैन।

तर पितृसत्तात्मक समाजले महिलाको यो गुणलाई शारीरिक बलको रुपमा पहिचान नगरि एउटा मेसिनको रुपमा मात्र सिमित पार्न खोजियो । त्यसैगरि महिला मानसिक र सामाजिक रुपमा पनि निकै बलबान् छे ।

यसको उदाहरण, लाखौँ महिलाहरु आफ्नो पति तथा परिवारबाट शारीरिक, मानसिक, यौनिक र सांस्कृतिक हिंसा भोगेर पनि आप्mना सन्तान र परिवारको अस्तित्वको र समग्रमा सारा मानवको अस्तित्वको लागि मृत्यूपर्यन्त सहिरहन्छे ।

यदि यहि प्रताडना पुरुषले भोग्न परेको भए सहेर बस्ला त? यसको अर्थ महिलाले सहनु ठिक हो भन्न खोजेको पटक्कै होइन । महिलामाथि हुने कुनै पनि किसिमको हिंसाको अन्त त आजै अहिल्यै हुनुपर्दछ।

आज हामीले औल्याउन खोजेको मुख्य मुद्दा भनेको , हामी एक देशको रुपमा, एक समाजको रुपमा, एक परिवारको रुपमा महिलाको अन्तरनिहित गुणहरुलाई पहिचान गर्न, फलिभुत गर्न, संरक्षण गर्न, आर्थिक मूल्यांकन गर्न र प्रोत्साहन गर्न चुक्यौँ ।

आज महिलामाथि हुने विभिन्न विभेदहरुका कारक तत्वहरुमध्ये यो पनि एक प्रमुख कारक तत्व हो । यसमा सम्बन्धित सम्पूर्ण निकायहरुको ध्यान जाओस् । महिलाको सबैभन्दा शक्तिशाली र पृथक गुण ममत्वोलाई पहिचान गरि यसको प्रबद्र्धनमा जोडदिनु पर्दछ।

ममत्वोले घर, परिवार, समाज मात्र होइन , विश्वमा शान्ति, प्रेम, समझदारी, र सोहार्दता फैलाउँछ । कतै यो विश्वभरि फैलिरहेको द्वन्द्वको एक कारण महिलामुखी गुणलाई संसारले नै अबमुल्यन गरेर पो हो कि?

महिला र पुरुषको सम्बन्धमा अन्ततः महिलाले पुरुषलाई दिने र पुरुषले महिलाबाट चाहने ममत्वो नै रहेछ ।

यदि पुरुषले आफ्नो प्रेमिकामा आमाको झैँ ममत्व खोजेको हुन्छ भने प्रेमको उत्सर्गमा महिलाले आमा जस्तै अनुभूति गर्छिन्। शायद ममत्व नै महिलाको अन्तरनिहित मुलभूत गुण हो जुन एक बालक वा सच्चा प्रेमीले मात्र उत्खनन गर्न सक्दछ।

जसरी बच्चाहरु जति बिग्रिए पनि आमाले छोड्न सक्दिनन् त्यसरी नै एउटा सच्चा प्रेमिकाले आफ्नो प्रेमिलाई छोड्न सक्दैन। तर महिलालाई त्यो ममत्वको उत्सर्गमा पुराउन पुरुषको पनि अपरीहार्य भूमिका हुन्छ। प्रेमीको प्रेम, सम्मान, समझदारी, सहकार्य, र सहयात्राले प्रेमिकालाई कहिल्यै पनि नओइलाउने फुल बन्न सघाउंछ जसको सुगन्धले सबैको जिवन सुखी र समृद्ध रहन्छ।

यस अन्तराष्ट्र्यि नारी दिवशमा सम्पूर्ण पाठकहरुलाई हामी यहि आग्रह गर्न चाहन्छौँ कि कृपया आप्mनो जीवनमा महत्व राख्ने सम्पूर्ण महिलाहरुका लागि अहिंशा , दिर्घायू, सफलता, समृद्धि, सुख, र सुनिश्चित मानवअधिकारका लागि शुभेच्छा राखिदिनुस् ।

(लेखिका द्धय सम्झना शाक्य र बिन्दु भण्डारी वान् पर्सन क्यान मेक अ चेन्ज अर्थात ओ पी सी एम सी भन्ने लैंगिक विभेद न्यूनिकरणका लागि सञ्चालनमा रहदै आएको जनचेतनामूलक सामाजिक सञ्जाल अभियानका प्रमुख अभियन्ताहरु हुन् । )

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्