एक सिएनएन पत्रकारको जीवन अनुभव

विश्वास गर आफ्नो संघर्षलाई

सबैलाई नमस्कार। मेरो नाम जेन असर। म सिएनएन इन्टरन्यासनलकी उद्घोषक हुँ। मलाई गर्व लाग्छ, आफ्नो स्वप्नपेशा (ड्रिम-जब) गर्न पाएकोमा। म हरेक दिन काम गर्न असाध्यै उत्सुक हुन्छु। तर, मेरो जीवन सधैं यस्तै उत्साहपूर्ण थिएन।

म मेरो पृष्ठभूमिबारे केही बताउन चाहन्छु। चार/साढे चार वर्षअगाडि म एउटा रिसेप्सनिस्टका रुपमा काम गर्थेँ। जीवनको लामो कालखण्ड म ‘कडा मिहिनत नै सफलताको सूत्र हो’ भन्नेमा विश्वस्त भएँ। थाहा छ,  म के सोच्थेँ- यदि तिमी साँच्चै कडा मिहिनेत गर्छौ भने सफलता हात पारेरै छाड्छौ। अहिले बल्ल बुझ्दैछु- त्यसमा कति धेरै कथाहरु जोडिएका हुँदा रहेछन्। धेरै मानिस छन् जो असाध्यै मिहिनेत गर्छन्, असाध्यै तीक्ष्ण छन्, जसले सही मानिसलाई चिनेका र जानेका छन्, शिक्षित पनि छन् तर पनि सोचेजस्तो सफलता हात पारिरहेका छैनन्।

मिहिनेतले मात्र सधैँ सफलता निर्धारण नगर्ने रहेछ। सफलता कहिल्यै पनि सरल बाटोमा नभेटिँदो रहेछ, यो जहिल्यै घुमाउरो रेखामै कुद्ने रहेछ। जीवनको लामो कालखण्ड ‘म कडा मिहिनेत नै सफलताको सूत्र हो’ भन्नेमा विश्वस्त भएँ।

म फेरि मेरो जीवन संघर्षकै बारे केही भनूँ। म लण्डनमा जन्मे-हुर्केकी हुँ। मेरो परिवार मूलतः नाइजेरियाबाट आएको हो। सेप्टेम्बर ३, १९८८- मेरो जीवनको सबैभन्दा खराब र दुखदायी दिन थियो, जति बेला म ५ वर्षकी मात्र थिएँ। मेरी आमा र म नाइजेरियामा एउटा विवाहमा सरिक भएर फर्किएका थियौँ। मेरा भाइ र बुवाचाहिँ अझै नाइजेरियामै हुनुहुन्थ्यो, एउटा लामो सडकयात्राका लागि। सेप्टेम्बर ३ मा उहाँहरु लण्डन आउने भएकाले हामी स्वागत गर्न विमानस्थलमा कुरिरहेको थियौँ। विमान आयो तर उहाँहरु आउनुभएन।

मलाई लाग्यो- उहाँहरुको फ्लाइट छुट्यो होला। हामी कुरेको कुर्‍यै भयौँ। उताबाट कुनै सूचना आएन। निकै बेरपछि मेरी आमालाई नाइजेरियाबाट एउटा फोन आयो।

फोनमा कोही भन्दै थियो, ‘तिम्रो पति र छोरा कार दुर्घटनामा परेका छन्, एक जनाको मृत्यु भएको छ, कुन चाहिँ हो, हामीलाई थाहा भएन।’

कारमा ५ जना रहेछन्। पछाडिका सिटका सबैको मृत्यु भएको रहेछ जसमा मेरो बुवा र भाइ पनि परे। त्यसपछि मैले परिवारमा बुवाको भूमिका खेल्न थालेँ। त्यतिबेला मेरी आमा गर्भवती हुनुहुन्थ्यो। दोहोरो पीडाले उहाँ असाध्यै बिथोलिनु भएको थियो। किनभने मेरा बुवा र आमा एकअर्काका जीवनका प्रीति थिए।

म एकल अभिभावकत्व भएको परिवारमा हुर्किएँ। केही समयका लागि म मेरा हजुरबा-हजुरआमासँग नाइजेरिया गएँ। पछि म लण्डन फर्केर आउँदा मेरी आमाले एउटा सोच बनाइसक्नुभएको थियो- ‘यदि तिमी सफल हुन चाहन्छौ भने तिमीले जीवनमा मानिसहरुलाई हरेक पाइलामा जोड्दै जानुपर्छ।’

त्यसपछि उहाँले मलाई विविध प्रकारका स्कुलहरुमा पठाउनुभयो। म नाइजेरियाको स्कुलमा गएँ, साउथ लण्डनको एउटा स्टेट स्कुलमा गएँ, एउटा निजी स्कुलमा गएँ र एउटा आवासीय स्कुलमा पनि गएँ। मेरी आमाले स्वेच्छाले नै यी सबै गर्नुभएको थियो।

म १६ वर्षकी हुँदा मेरी आमा एकदमै कडा नाइजेरियन आमा हुनुहुन्थ्यो। उहाँ मलाई अक्सफोर्डमा पठाउन चाहनुहुन्थ्यो जुन कुरा हाम्रो लागि असम्भवप्रायः नै थियो। आफ्नो बच्चालाई अक्स्फोर्डमा कसरी पढाउन सकिन्छ भनेर उहाँले केहीबेर बसेर सोच्नुभयो। तत्कालै उहाँले मलाई १८ महिनासम्म टिभी हेर्न रोक लगाउने निर्णय गर्नुभयो। मलाई बिबिसी र सिएनएनमात्र हेर्न-सुन्न दिनुभयो। त्योभन्दा बढी केही हेर्न चाहेमा मैले आमाका अनुमति लिनुपर्थ्यो। त्यसपछि टिभी, फोन, संगीतका माध्यमबाट म छुटेँ। पढ्नुभन्दा मसँग अरु केही थिएन।

एकदिन आमाले अचानक भन्नुभयो, ‘यदि तिमी अक्सफोर्डमा भर्ना हुन सक्यौ भनेमात्र म तिमीलाई टिभी हेर्न दिन्छु।’

उहाँको योजनाले काम पनि गर्‍यो। मैले पनि साँच्चै मिहिनेत गरेँ र अक्स्फोर्डमा भर्ना हुन सफल भएँ। अहिले यो कुरा तपाईँहरुलाई सुनाइरहँदा मलाई कत्ति रमाइलो लागिरहेको छ।

मेरो बाल्यकाल सहज थिएन। एकल अभिभावकत्व अनि पैसाको अभाव। मलाई साथी बनाउन पनि सहज थिएन। हो, मेरो बाल्यकाल सहज थिएन तर मेरा बाल्यकालका हरेक पलहरु अत्यन्तै महत्वपूर्ण छन्। किनकि तिनै क्षणले मेरो वास्तविक जीवन तय गरिदिए।

मैले अघि भनेजस्तै, म अक्स्फोर्डपछि न्यूयोर्क ग्र्याड स्कुल र कोलम्बिया पनि गएँ।

त्यति बेलासम्म मलाई लगिरह्यो- कडा मिहिनेत नै सफलताको सूत्र हो। तर अहिले म बुझ्छु, त्यत्तिमात्र होइन रहेछ। त्यसको अलावा अरु के-के पनि हुन् भनेर म तपाईंहरुलाई भन्दैछु।

मलाई विश्वास लाग्ने पहिलो कुरा हो, ‘संघर्षमा विश्वास गर्नु।’ यो कुरा मैले धेरैभन्दा धेरै सुनेकी छु। त्यसको अर्थ यो हो कि तिमीले पार गर्दै आएका धेरै दुखले तिमीलाई अर्को कुनै राम्रो विन्दुमा पक्कै पुर्‍याउनेछ।

चार/साढे चार वर्षअगाडि म क्यालिफोर्नियाको एउटा उत्पादन कम्पनीमा रिसेप्सनिस्टको रुपमा काम गर्थेँ।

म रिसेप्सनिस्टको पदबाट अलि माथि उठ्न चाहन्थेँ। तर मैले त्यहाँ जतिसुकै मिहिनेत गरे पनि त्यसो हुन सकेन। मेरो हाकिमले मेरो पदोन्नति गर्दिन्छन् होला भनेर मैले राति अबेरसम्म पनि काम गर्थेँ तर त्यसको कुनै अर्थ भएन। सत्य के भयो भने म जुन पदमा काम गर्न चाहन्थेँ, त्यो पदका लागि उनीहरु अर्कै मानिस खोजिरहेका रहेछन्। म रिसेप्सनिस्ट भएकाले अन्तर्वार्ताका लागि आउनेलाई मैले पानी पुर्‍याउनुपर्थ्यो। मलाई थाहा छ- त्यो पटक्कै सजिलो थिएन। म आफ्नै लागि पनि सजिलो मानिरहेकी थिइनँ।

त्यसपछि मैले आत्माभित्र केही खोज्न थालेँ, आफैँलाई सोध्न थालेँ, वास्तवमा म जीवनमा के गर्न चाहन्छु भनेर। भलै त्यो गर्न नसकौँला तर ‘तँ के गर्न चाहन्छस्’ भन्ने कुराले मलाई घोचिरह्यो।

प्रसारण पत्रकारिताप्रति म आशक्त थिएँ। न्यूयोर्कमा एउटा स्थानीय टिभी स्टेशनमा फोन गरेर सोधेँ, ‘तपाईँकोमा काम पाउन मैले के के गर्नुपर्छ?’ संवाददाता हुन २/३ वर्षको अनुभव भएको हुनुपर्ने उत्तर आयो। दुर्भाग्य, मसँग त्यस्तो कुनै अनुभव थिएन। मसँग भएको अनुभव भनेको फोन उठाउने र फ्याक्स गर्नेमात्र थियो। मलाई त्यत्तिमात्रै थाहा थियो।

उनीहरुले मलाई पटकपटक ‘हुँदैन’ भनिरहे। उनीहरुको ‘हुँदैन’लाई म मेरो जवाफ मान्नै चाहन्न थिएँ। अर्कातिर, मेरो ब्रिटिस लवज थियो। अमेरिकामा यदि स्थानीय टिभीमा काम गर्न चाहने हो भने बाह्य लवज भएर हुँदैन। तर,  न्यासनल टिभीमा स्थानीयमा भन्दा अलि सजिलो हुन्छ।

त्यति नै बेला मलाई आर्थिक संकट आयो, जागिर गयो। मसँग न काम बाँकी रह्यो, न पैसा नै।

मैले जसरी पनि न्यूयोर्क जाने निर्णय गरेँ। मेरो रूममेट वा हाउसमेटलाई मैले केही सय डलर दिएँ। उनीहरुले मलाई लसएन्जलसतिर रिपोर्टरको जस्तै अभिनय गर्न सहयोग गरे। उनीहरुले जे गर्थे, मैले त्यसको मज्जाले अध्ययन गरेँर विभिन्न प्याकेज बनाएँ। भ्वाइस ओवर पनि गरेँ।

ती सामग्री मैले त्यही टिभी स्टेशनमा पठाएँ, उनीहरुले मलाई काम गर्न बोलाउलान् कि भन्ने झिनो आस गरेर। दुर्भाग्य उनीहरुकहाँ हजारौँहजार निवेदन र त्यस्ता भ्वाइस रेकर्ड आउँदा रहेछन्।

यो व्यापारिक संसारले भन्छ, ‘यदि तिमी अगाडि बढ्न चाहन्छौ भने तिमी प्रतिष्पर्धात्मक हुनैपर्छ, सफलताको योजना हुनैपर्छ। तर आफू के चाहन्छु भन्नेमा प्रतिस्पर्धा गर्नमा म विश्वास गर्दिन। आफूलाई जे चाहिएको छ, त्यसको सिर्जना गर्नुमा म विश्वास गर्छु।

मेरो टेपरेकर्ड सुनेर मलाई प्रतिक्रिया दिन उनीहरुलाई धेरै महिना लाग्यो। निरन्तर इमेल पठाउने भएकोले एक दिन उनीहरुको ध्यान ममाथि पर्‍यो। मलाई अन्तर्वार्ताका लागि बोलाए, भ्वाइस ओवर गरेका टेपहरु मसँगै थिए- मैले देखाएँ, म केके काम गर्नसक्छु भनेर। मेरो अनुभवै नभए पनि उनीहरु असाध्यै प्रभावित भए। मलाई तत्कालै जागिरमा बोलाए। त्यसैले म भन्छु- आफ्नो संघर्षमा विश्वास गर।

मलाई विश्वास लाग्ने दोस्रो कुरा हो- ‘प्रतिष्पर्धामा विश्वास नै नगर।’ यो व्यापारिक संसारले भन्छ, ‘यदि तिमी अगाडि बढ्न चाहन्छौ भने तिमी प्रतिष्पर्धात्मक हुनैपर्छ, सफलताको योजना हुनैपर्छ। तर आफू के चाहन्छु भन्नेमा प्रतिस्पर्धा गर्नमा म विश्वास गर्दिन। आफूलाई जे चाहिएको छ, त्यसको सिर्जना गर्नुमा म विश्वास गर्छु। अब्राहम लिंकनले एकपटक भनेका छन्, ‘सुन्दर भविष्यको अनुमान गर्ने सबैभन्दा राम्रो तरिका भनेको अहिले नै केही सिर्जना गर्नु हो।’

सफल हुन अरुबाट केही लिनुपर्छ भन्नेमा म विश्वास गर्दै गर्दिन। आफ्ना समकक्षीहरुलाई प्रेरणाका लागि हेर्नुका केही फाइदा अवश्य छन्। तर, मलाई लाग्छ- त्यो प्रतिस्पर्धात्मक साहस, कोही घचेड्ने मान्छे र अरुसँग आफैँलाई तुलना गरिरहनुले वास्तवमा एउटा डर र असुरक्षामात्र जन्माएको हुन्छ र आफैँलाई धर्मर्‍याइदिन्छ।

जब म सिएनएन इन्टरन्यासनलमा अर्कै पदका लागि अन्तर्वार्ता दिँदै थिए, म आफूसँग प्रतिस्पर्धा गरिरहेकै केटीसँगै बसिरहेकी थिएँ। उसलाई शुभेच्छा नदिने होइन, मैले त घण्टौँ बसेर उनलाई उल्टै सहयोग गरेँ। उनले के सुधार गर्नुपर्छ भनेर देखाएँ, उनको काम पाउने सम्भावना मेरो जत्तिकै थियो। स्क्रिन टेस्ट गर्न म भित्र गएँ र केही बेरपछि बाहिर आएँ। भित्र के सोध्छन् भन्ने सबै उनलाई बताएर राम्रोसँग तयारी गर्न भनेँ।

म प्रतिस्पर्धामा विश्वास गर्दिन, म सिर्जनामा विश्वास गर्छु। पहिले नै सिर्जित कुनै कुरामा प्रतिस्पर्धा गर्नुमा मलाई विश्वास छैन।

मैले इमान्दारीसाथ विश्वास गर्ने तेस्रो कुरा चाहिँ ‘दिनु’ हो। मेरो जीवनमा यो प्रष्ट भएर आएको छ। ‘तिमी जति धेरै दिन्छौ, उति धेरै पाउँछौ।’

यो पाठ मैले क्याटकोल नाम गरेकी महिलाबाट सिकेको हुँ जोसँग मैले सिएनएन इन्टरन्यासनलका लागि अन्तर्वार्ता लिएको थिएँ। उनी एउटा कर्पोरेट सिईओ हुन् जसले आफ्नो करिअर वेटरबाट सुरु गरेकी थिइन्। म त्यो संघर्षबारे जान्न चाहन्थेँ किनभने उनी एउटा गरिब पारिवारिक वातावरणमा हुर्केकी हुन्। हप्ताभरि खान १० डलर जम्मा गर्नुपर्ने अवस्थाबाट अहिले सीईओ हुँदासम्मका सबै कथाव्यथा जान्न चाहन्थेँ म। विशेष गरेर आर्थिक रुपमा उनलाई कस्तो अनुभव भयो, त्यो जान्न चाहन्थेँ।

तर, उनले भनिन्, ‘राम्रै पैसा कमाए पनि पैसा हुँदा कस्तो हुन्छ, मैले खासै अनुभव गरिनँ।

उनी अहिलेसम्म पनि अरुलाई असाध्यै पैसा दिन्छिन रे। उनी जति दियो उति आउँछ भन्नेमा प्रस्ट छिन् रे। यो कुराले मलाई गहिरो प्रभाव पार्‍यो।

मैले धेरै सिईओको अन्तर्वार्ता लिएको थिएँ। प्रविधि सुरु गर्नेहरुसँग पनि धेरै अन्तर्वार्ता लिएको छु। केहीले लाखौं डलरको व्यापार पनि गरेका छन्। प्राय: उनीहरु के भन्छन् भने यदि तिमी साँच्चै सफल हुन चाहन्छौ भने तिमीसँग नेटवर्क र ब्रान्ड हुन जरुरी छ। प्रतिस्पर्धाको अध्ययन जरुरी छ। तर, क्याटकोलका केही प्रयोगात्मक सुझाव छन्।

उनको सार तिमी जति धेरै दिन्छौ, उति धेरै पाउँछौ भन्ने नै हो। म तपाईंहरुलाई यो भन्न सक्छु- मैले पनि उनको भनाइको अभ्यास गरेको छु। तर केही पाउने आशामा दिनेमा चाहिँ म विश्वास गर्दै गर्दिन।

अन्त्यमा यी सबै कुरा मेहनतसँगै सम्बन्धित छन्। पहिलोपटक यस्तो सुन्दा मलाई लाग्यो- यो एउटा अतिशयोक्ति मात्र न हो जुन धेरैपटक सुन्दै आएको छु। मैले यी कुरामा कहिल्यै ध्यान दिइन। अहिले बल्ल म त्यो बुझ्दैछु।

म एउटा उदाहरण दिन चाहन्छु। जब म एउटा लोकल बिजनेस टिभीमा काम गर्थेँ, त्यो बेला इन्टरन्यासनल न्यूज पाउन मैले असाध्यै मेहनत गरेँ। म किशोरी हुँदादेखि नै सिएनएनमा काम गर्न चाहन्थेँ। धेरै संवाददाताहरुलाई हेरेर अध्ययन गरेपछि मैले बुझेँ- उनीहरुले कति मेहनत गर्नुपरेको रहेछ। मैले यो पनि बुझेँ- एउटा विशेषता हुनु, एकप्रकारको विज्ञता हुनु, अरुभन्दा राम्रो गर्नसक्छु भन्ने साहस हुनु कति महत्वपूर्ण रहेछ। खेलकुद संवाददाता, राजनीतिक वा बिजनेस संवाददाता नै किन नहोस्!

बिजनेस रिपोर्टमा मेरो असाध्यै सोख थियो। लोकल न्यूजमा काम गर्दादेखि नै मैले बिजनेस न्यूज अध्ययन गर्ने र सिक्ने निधो गरेँ। त्यहाँ अवसर छ, मेरो लागि आउँदै छ भनेर होइन, न कुनै अन्तर्वार्ताका लागि तयारी गरिरहेकी थिएँ। तर, म विश्वास गर्थेँ- एकदिन अवश्य अवसर पाउनेछु, म त्यसनिम्ति राम्ररी तयार भएको हुनुपर्नेछ।

मलाई के लाग्छ भने ‘सफलता त्यतिबेला आउँछ जब सम्पूर्ण तयारीहरुले अवसर भेट्छन्।’

म हरेक हप्ता पुस्तकालय जान्थेँ, एक हप्ता बिजनेस स्टक्स पढ्थेँ, अर्को हप्ता बोन्ड त अर्को हप्ता डेरिबेटिभ्स। आफैँलाई सिकाउँथेँ। न्यूयोर्कमा लाइब्रेरियनहरुले मलाई राम्ररी चिन्ने भएका थिए किनभने धेरैपटक पुस्तकालयबाट निस्कने अन्तिम व्यक्ति म नै हुने गर्थेँ।

त्यसो गर्दागर्दै मैले एकदिन सिएनएनका एक वरिष्ठ कर्मचारीलाई भेट्ने अपूर्व मौका पाएँ। तपाईं कुन विभागमा काम गर्नुहुन्छ भनेर मैले उनलाई उत्तिखेरै सोधेँ। उनले भने, ‘म बिजनेस न्यूज चलाउँछु। म एउटा संवाददाताको खोजीमा छु।’

म एउटा दृष्टिहीन आँखालाई प्रतिस्पर्धामा उतार्नमा विश्वास गर्छु, दिनुमा विश्वास गर्छु, अवसरहरु छन् भन्नेमा विश्वास गर्छु र ती एकदिन तिमीसम्म आइपुग्छन् भन्नेमा विश्वास गर्छु। मात्र तिमी त्यसका लागि तयार भएको हुनुपर्नेछ।

उनले मलाई स्क्रिन टेस्टका लागि जान र आर्थिक समाचारको टेस्ट गर्न दुई हप्ताको समय दिए। मलाई दुई हप्तामात्र तयारी गर्ने समय दिएकामा उनले कताकता दुःख मानेजस्तो गरे। तर, मेरो दिमाग र मनले भन्दै थियो, मैले  बर्षौँदेखि यसकै तयारी गरिरहेकी छु।

पूर्वतयारी गर्न मैले जेठा दाजुबाट सिकेको हुँ।

धेरै मानिस अन्तर्वार्ताका लागि फोन नआउँदासम्म पर्खिरहन्छन्, तयारी गर्दैनन्। केही मानिस आफूले अभ्यास गर्नुको साटो अडिसनको फोन नआउँदासम्म कुरिरहन्छन्। मेरो दाजुले मलाई कुनै फोन आउनुअघि नै आफू त्यसका लागि तयार हुनुपर्ने कुरा सिकाउनुभयो।

अन्त्यमा, म ‘संघर्षमा विश्वास गर’ भन्नेमै विश्वास गर्छु। आफू हिँडेका बाटाहरु चिन्नुमा विश्वास गर्छु। तिमीले भोगेका दुःखले अन्त्यमा तिमीलाई केही पक्कै दिएर जानेछ भन्नेमा विश्वास गर्छु।

म एउटा दृष्टिहीन आँखालाई प्रतिस्पर्धामा उतार्नमा विश्वास गर्छु, दिनुमा विश्वास गर्छु, अवसरहरु छन् भन्नेमा विश्वास गर्छु र ती एकदिन तिमीसम्म आइपुग्छन् भन्नेमा विश्वास गर्छु। मात्र तिमी त्यसका लागि तयार भएको हुनुपर्नेछ।

(सिएनएन इन्टरनेसनलकी बिजनेस संवाददाता जेन असरले टेड टक्समा व्यक्त गरेको अनुभवको उषाकिरण रेग्मी @1Ajammariले गरेको नेपाली रुपान्तरण)

@

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्