अन्तर्राष्ट्रिय नारी दिवस

हामी मानिस बन्ने कि महिला?

नारी दिवस आउनेबित्तिकै मेरो दिमागमा एउटा कुरो आइहाल्छ, त्यो हो- गोष्ठीको कुरो, कार्यक्रमको कुरो। विद्यालयमा हुने वादविवाद, वक्तृत्वकला हुन् वा सहरबजारका विशेष ठाउँमा हुने गोष्ठी वा सेमिनारका कुरा।

करिव १५ वर्ष अगाडि स्कुल पढ्दाताका हरेक नारी दिवसमा कहिँ न कहिँ केही न केही कार्यक्रममा सहभागी हुने गरेका सम्झना मानसपटलमा कुदिरहेछन् यतिबेला। नारीहरु पीडित् छन्, दमित छन्, शोषित् छन् भनेर चर्को स्वरमा भाषण गरेको, अनि महिला पुरुषबीच समानता हुनुपर्ने भन्दै ‘मास’ तताएको अनुभवले आज आफैँलाई सोचमग्न बनाएको छ।

के म सानो छँदा जोडजोडले नारी समानताका भाषण गरेका ठाउँका दिदीबहिनीहरुले आज लैङ्गिक समानता अनुभूत गर्न पाएका छन् त? के त्यहाँका दिदीबहिनीहरुले परिवारमा आफ्नै अस्तित्व, आफ्नै पहिचान छ भन्ने भेउ पाएका छन् त? आज १५ वर्षपछि फर्केर हेर्दा ती दिदीबहिनीको जीवनमा केके परिवर्तन आए त?

अहँ, उनीहरुको जीवनमा उल्लेख नै गर्नुपर्ने किसिमको परिवर्तन हामीले देख्न पाएका छैनौँ। मार्च ८ को ‘तामझाम’ रन्किरहेकै बेला यस्ता प्रभावबिनाका कार्यक्रमहरुले मात्र ‘नारी दिवस’ नमनाए हुन्थ्यो भन्ने मलाई लागिरहन्छ।

समता (नाम परिवर्तन) उनका बाआमासँगै बसेर चिया खाँदै थिइन्। आमाको टाउकाको अघिल्लो भागतिर कपाल सेतै फुलेका थिए। कपाल झरेर मुसाको पुच्छर जस्तै पातलो भएको थियो, घुँग्रिएर जरैसम्म पुगेको थियो। समताले भनिन्, ‘आमा कपाल काट्नुस्। उमेर बढ्दै गएपछि स्याहार गर्न नि गाह्रो। थाइकट काट्नू। स्याहार गर्न नि सजिलो। नुहाउन पनि सजिलो।’

चियाको चुस्की लिँदै गरेका बाले अमिलो स्वरमा भने, ‘किन काट्नु कपाल? छोरी मान्छेको कपाल त लामो लरक्क परेको पो राम्रो हुन्छ। हेर, त्यत्ति लामो कपाल ठुटे बनाएर क्यै छैन।’

संवादको यो सानो अंशले हाम्रो परिवेश देखाउँछ। हाम्रो समाजको मानसिक अवस्थाको सानो चित्र दिन्छ।

हामी आज जसरी सोचिरहेका छौँ, जे सोचिरहेका छौँ, त्यो कुनै एक दिनको कार्यक्रमले पक्कै तय गरेको होइन, यो त हाम्रो हुर्काइसँगै विकास भएको सिकाइभोगाइको रुपान्तरणमात्र हो। हामीले सुन्दै आएका, देख्दै आएका गतिविधिहरुले थोरै भए पनि हाम्रो धारणा बनाउन मदत गरेका हुन्छन्। हामी जुन प्रकारको सामाजिक संरचनाबाट हुर्किएका छौँ, सोही अनुरुपले व्यवहार गर्न सिक्छौँ।

मान्छे जन्मँदा एउटा मासुको पिण्ड मात्र हो।

फ्रान्सेली नारीवादी तथा अस्तित्ववादी सिमोन दि बुभो(र) ले उनको विख्यात कृति ‘द सेकेण्ड सेक्स’ मा भनेकी छन्- ‘कोही महिला भएर जन्मिँदैनन् तर हुर्काइन्छन्।’ भलै बट्राण्ड रसलले खाना र तालिमले मान्छेको स्वभाव बदल्नसक्ने बताएका छन्। अर्को महत्वपूर्ण कुरा के हो भने हाम्रो अध्ययनको दायराले हाम्रो सोचाइमा ठूलै प्रभाव पारेको हुन्छ। अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ भन्नेमा कसको पो विमति होला र!

आफ्ना अन्तरइच्छाका किताब वा विषयवस्तु अध्ययन गर्नु एउटा आत्मीय मित्र भेटिनु जत्तिकै सुखद हुन्छ भनेर कतै पढेको थिएँ। आफूलाई मन परेको किताब पढ्दा आफ्नो मन मिल्ने साथी जोसँग हामी निर्धक्क मनका कुरा राख्न सक्छौँ, भेटेजस्तै महसुस हुन्छ- यो धेरैपटक मैले अनुभूत गरेको छु।

यति थाहा पाइसकेपछि हामी मान्छे बन्ने वा महिला बन्ने वा पुरुष बन्ने, त्यसको निर्णय हाम्रै हातमा छ भन्ने स्पष्ट हुन्छ। महत्वपूर्ण कुरा हामी हाम्रो परिवार र समाजमा कत्तिको मानवीय व्यवहार गर्छौँ भन्ने हो। हामी जोसँग बोलिरहेका छौँ, व्यवहार गरिरहेका छौँ, उसको स्वभावमा धक्का नपुग्ने गरी आफूलाई प्रस्तुत गरिरहेका छौँ कि छैनौँ भन्ने प्रश्न हामीले आफैँलाई सोध्न सक्छौँ। अर्को मानिस, चाहे महिला होस्, या पुरुष- उसको व्यक्तिगत स्वभाव र चरित्र तथा उसका अवधारणाहरुलाई सम्मान नगरी हामी विकसित र सभ्य समाजको यात्रामा अघि बढ्न सक्दैनौँ।

यतिबेला लैङ्गिक समानताका कुरा, नारी स्वतन्त्रताका कुरा बग्रेल्ती सुन्नमा आएका छन्। नारी दमित, पीडित भएका र उनीहरुले उक्त दमनशोषणबाट मुक्ति चाहेका खबरहरु शृंङ्खलाबद्ध तरिकाले मिडियामा आएको पढ्न/देख्न पाउँदा अत्यन्त खुसी लाग्छ। कम्तीमा हामीले आफूमाथि भएको अन्याय र विभेद चिन्न थालेका छौँ। चिन्न मात्र होइन, त्यस्तो अन्यायबिरुद्ध लड्न थालेका छौँ। न्याय माग्दा थप अन्यायमा परिन्छ कि भनेर आफैँले मात्र सुन्ने स्वरमा बोल्ने हामी आज संयुक्त आवाजमा आगो ओकल्न सक्ने भएका छौँ।

तर, के हामीले न्याय माग्दैमा पाएका छौँ त? नारी भएकै कारणले बेहोर्नु परेका पारिवारिक, सामाजिक अवहेलनाहरुबाट मुक्त भयौँ त? शिक्षा र रोजगारीमा हाम्रो पहुँच छ त? कमजोर, डरपोक, लजालु आदि भएकै कारणले हामीमाथि हुने गरेका थिचोमिचो र अत्याचार रोकिएका छन् त?

यी सबै प्रश्नको जवाफ पूर्ण रुपमा ‘छैन’ हुन सक्दैन। हो, केही परिवर्तन आएका छन्। तर, नगण्य रुपमा।

यतिबेला हामी पुरातन परम्परा र परिवर्तनको संघारमा संघर्षरत छौँ। एकातिर हामीले जे भोग्दै आएका छौँ, त्यो न्यायसंगत छैन, त्यसमा समानता छैन, स्वतन्त्रता छैन भन्ने हामीलाई थाहा छ। अर्कातिर हामी जस्तो वातावरण खोजिरहेका छौँ, त्यो रातारात सम्भव छैन भन्ने पनि हामीलाई थाहा छ। सोच्नैपर्ने विषय हो- ‘किन हामी शैक्षिक, आर्थिक र नेतृत्वको हिसाबले अग्रपङ्तिमा आउन सकेका छैनौँ?’

हरेक वर्ष नारी दिवस आउँदा/मनाउँदा हामी (महिला) पछि परेको र अबको यात्रा लैङ्गिक समानताको हुनुपर्नेमा जोड दिन्छौँ। तर, समतायुक्त समाजको निर्माणमा महिला-पुरुष दुवैको उत्तिकै महत्वपूर्ण भूमिका छ भन्नेमा हामी प्रष्ट छौँ? हामी मानिस बन्ने कि महिलामात्र? के यो विषय हामीले स्पष्ट रुपमा बोध गर्न सकेका छौँ?

मार्च ८ जस्ता पर्वहरुमा चिनेजानेका सबै महिला थुपारेर परम्परागत तिजजसरी मनाउने चलन पनि हामीले देख्दै-सुन्दै आएका छौँ। यस्ता सतही कार्यक्रमहरुले खानेपिउने र रमाउने हाम्रो दमित इच्छाको त पूर्ति होला, हाम्रो मानसिक अवस्था र समाजमा हाम्रो भूमिका र प्रभावमा भने कुनै परिवर्तन आउन सक्दैन। सार्वजनिक स्थलमा चुरोट तानेर महिला समानताका नारा घन्काउनेहरुका ढोङ हामीले स्पष्ट रुपमा बुझ्नैपर्छ।

पुरुषबाट आफूलाई अलग्याएर समानता र समतामूलक यात्रा अघि बढ्न सक्दैन। तपाईँ, हामी सबै, चाहे पुरुष होस् या महिला- ले एकअर्काको स्वभाव र क्षमता बुझेर सहकार्य गर्नु जत्तिको उत्तम उपाय अर्को हुनै सक्दैन।

समानता, अस्तित्वका विषयमा हाम्रो देशमा बहस हुन थाल्नु एउटा सुलक्षण नै हो तर हाम्रो बहसले समाजमा प्रभाव पारेको छ कि छैन वा पारेको भए कस्तो प्रभाव पारिरहेको छ भन्नेमा हामी सचेत हुनैपर्छ। महिला अधिकारका नाममा देशमा थुप्रै विमर्श भएको सुनिन्छ। महिला हक अधिकारको नाममा धेरै कार्यक्रम भएको सुनिन्छ। कार्यक्रमका सहभागीमा भने महिलाको संख्या न्यून हुन्छ। जसका लागि कार्यक्रम बनाइएको हो, उनीहरुकै न्यून सहभागिता भएपछि त्यो कार्यक्रमको के अर्थ?

अर्कातिर मार्च ८ जस्ता पर्वहरुमा पनि चिनेजानेका सबै महिला थुपारेर परम्परागत तिजजसरी मनाउने चलन पनि हामीले देख्दै-सुन्दै आएका छौँ। यस्ता सतही कार्यक्रमहरुले खानेपिउने र रमाउने हाम्रो दमित इच्छाको त पूर्ति होला, हाम्रो मानसिक अवस्था र समाजमा हाम्रो भूमिका र प्रभावमा भने कुनै परिवर्तन आउन सक्दैन। सार्वजनिक स्थलमा चुरोट तानेर महिला समानताका नारा घन्काउनेहरुका ढोङ हामीले स्पष्ट रुपमा बुझ्नैपर्छ।

समाजमा सबै वर्ग र हैसियतका मानिस छन्। नेपालमा पनि छन्। नेतृत्वदायी पदमा महिला हुनु, महिला सहभागिता वा हुर्कँदो समानताको रुप हो। अहिले नै हेरौँ न, राष्ट्रपति महिला छन्, प्रधान न्यायाधीश महिला थिइन्, सभामुख महिला थिइन्। जुम्लाले भर्खरै मात्र सिडियोमा महिलालाई पाएको छ।

निजी कार्यालयहरुमा पनि महिला नेतृत्वको संख्या बढिरहेको देखिन्छ। क्याम्पसप्रमुख महिला, प्रधानाध्यापक महिला, बैङ्कको सिईओमा महिला- हिजोआज यस्ता उदाहरणहरु उल्लेख्य रुपमा देखिन थालेका छन्।

महिला र पुरुषबीचको जुन भेद छ, यो हाम्रो सामाजिक संरचनाको उपज हो। समाजले निर्माण गरेको हो। समाजले निर्माण गरेको विभेदलाई समाजबाटै फाल्न सकिन्छ। मात्र हामीले बुझ्नुपर्‍यो- यहाँ हरेक मान्छेको अस्तित्व छ। महिला वा पुरुष दुवै अभिन्न हुन्। उनीहरुको आफ्नै स्वभाव, रुचि, क्षमता र पहिचान छ। कुनै महिलालाई ‘तिमी त पुरुषजस्तो पो हुनुपर्छ। पुरुषले जस्तो पो काम गर्नुपर्छ’ भनेर पुरुषसँग तुलना गर्नु उनको अपमान हो। त्यस्तै, कुनै पुरुषलाई ‘लोग्नेमान्छे भएर पनि के लत्रक्क परेर बसिराको, छ्या! यो त कस्तो केटी जस्तो छ!’ भनेर उसको स्वभावको खिल्ली उडाउनु गलत सामाजिकीकरण र अन्धपरम्परा हो।

जहाँसम्म महिला सशक्तीकरणको कुरा छ, त्यसका लागि मूलतः महिला स्वयम् नै तयार हुनुपर्छ। पहिचान, स्वअस्तित्व र आत्मनिर्भरताको महसुस महिला स्वयमले नगरुन्जेल सशक्तीकरणको दिशामा एकै पाइलो पनि अघि बढ्न सक्दैन। हामी यदि अन्तरमनैबाट समानता र समतामूलक समाजको कल्पना गरिरहेका छौँ र सोही अनुरुपको समाजमा बाँच्न चाहन्छौँ भने हाम्रा केही प्रमुख जिम्मेवारी छन् जसलाई हामीले मनन् र अवलम्वन गर्नैपर्छ।

१. हरेक मानिसको आफ्नै स्वभाव र क्षमता हुन्छन् भन्ने कुराको बोध। मायालु ,लजालु, रिसाहा, कठोर, कोमल, बलियो, कमजोर, बहादुर, काँतर आदि मानवीय स्वभाव हुन् न कि कुनै महिला वा पुरुषको स्वभाव। यिनै स्वभावलाई लिएर कुनै व्यक्तिको व्यक्तित्वको प्रशंसा गर्नु वा खिल्ली उडाउनु उपहासमात्र हो भन्ने बुझ्नु जरुरी छ। यो स्वभावमात्र  कसैको व्यक्तित्वको पूर्णता होइन। यो त व्यक्तित्वको असाध्यै सानो पाटोमात्र हो।

२. हरेक मानिसको आफ्नै अस्तित्व छ भन्ने महिला-पुरुष दुवैले बुझ्नुपर्छ। अस्तित्व र पहिचानको खोजीमा महिला-पुरुष दुवैको सहकार्य अपरिहार्य छ भन्ने बोध र सोही अनुरुपले व्यवहारमा उतारी बुझेकाले बुझ्न बाँकीलाई बुझाउने हो भने समतायुक्त समाजको भोग हामीले नै गर्न पाउनेछौँ।

३. महिला सहनशील, कोमल हृदय भएका, लजालु आदि भनेर जसरी वर्ग विभाजन गरिन्छ, त्यसमा सुधार गर्नुपर्छ। यसको बोधले नै यी अवधारणा परिवर्तन हुनसक्छन्। यी स्वभाव कुनै स्त्रीजाति वा पुरुषजाति जनाउने स्वभाव होइनन्, यी मानवीय स्वभाव मात्र हुन्।

४. महिला आर्थिक वा सामाजिक रुपमा सशक्त र प्रभावशाली बन्न पुरुषको बाटो हेरेर हुँदैन। यदि आफू आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्त बन्ने हो भने यसको सुरुवात आफैँबाट गर्नुपर्छ। हामी आफैँले सुरु गर्‍यौँ भने यसमा पुरुष बाधक हुँदैनन्, बरु उनीहरुले हाम्रो बाटो सहज नै बनाउँछन्। बुझौँ- पुरुष हाम्रा दुश्मन होइनन्, हामी अघि बढ्न चाह्यौँ भने उनीहरुले हाम्रो यात्रामा बाधा पुर्‍याउनै सक्दैनन्, ती हाम्रो सशक्तीकरणका सहयात्री बन्नेछन्।

१०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको यहाँहरु सबैलाइ हार्दिक शुभकामना!

@1Ajammari
फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्