हजारौँ हण्डर र ठक्कर खाएकी एक सफल महिला

१८ वर्ष कमलरी जीवनदेखि प्रदेश उप-सभामुखसम्म

बुटवल– बाबुआमा कमैया/कमलरी। कमैयाकै घरमा जन्म भयो कृष्णी थारुको बर्दिया राजापूर गाउँमा। बाजु र दख्मानी थारुका पाँचजना छोरीहरु। बाबुआमाको कमाईले खानलाउन पुग्दैनथ्यो। त्यसैले बाजुले छोरीहरुलाई पनि कमलरी बसाए।

२०३२ साउन १ मा जन्मिएकी कृष्णी ७ वर्षको उमेरदेखि नै कमलरी बसिन्। बिहेपछि पनि कमलरीबाट छुटकारा पाइनन्। ‘त्यो जमाना नै त्यस्तै थियो, बुवाआमा कमैयाकै घरमा, हामी त्यहीँ जन्मियौँ, उहाँहरुले कमाएकोले मात्रै हाम्रो परिवारको खर्च चल्दैनथ्यो’, कृष्णी थारु सम्झिन्छिन्– ‘हामी पाँच बहिनीहरुलाई नै कमलरी काम लगाउनुभयो।’ कमलरी जिन्दगी, न बालापनको चञ्चल, न त पेटभरि खान पाउने। कमैया बसेको घरका ‘मालिक, मालिक्नी’हरुले जति दिन्थे त्यति खाएर गुज्रिए कैयौं दिनरात।

करिब १८ वर्ष कमलरी र बुक्रही बसिन् उनी। आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबुआमाले ज्यान पाल्नकै लागि तत्कालीन कृषि विकास बैंकका प्रमुखको आवासमा उनलाई कमलरी बसालेका थिए। कमलरी बसेकै समयमा १४ वर्षको उमेरमा कमैया बसेका कृष्ण थारुसँग उनको विवाह भयो। विवाहपछि उनको जीवन बुक्रहीमा परिणत भयो।  सानै उमेरदेखि अर्काको घरमा कमलरी बसेका कारण उनले औपचारिक शिक्षा लिन पाइनन्। मालिकको घरमा बुक्रही बसेकै बेला उनले ०५० सालमा गाउँमै प्रौढ शिक्षा लिने अवसर पाइन्।

०५७ सालमा कमैयाहरू मुक्त भएपछि उनको परिवार पनि मुक्त भयो। तर घर, अन्नपात र थातथलोको कुनै ठेगान थिएन। बासको कुनै व्यवस्था नभएकाले ०५७ साल असोजतिर मालिकको घर छोडेर अस्थायी शिविरमा बस्यो उनको परिवार।

साबिक राजापुर गाविस–१ मा रहेको सामुदायिक वनको खाली जमिनमा बसेपछि ०५८ सालमा सरकारले राजापुर नगरपालिका–४ मा एक कठ्ठा १० धुर जमिन दियो। ०५९ सालमा मुक्त कमैया बस्तीका १२ जना मिलेर ‘मुक्त कमैया समूह’ गठन भयो। उनी अध्यक्ष बनिन्। ‘म जीवनमा पहिलोपटक नेतृत्वमा पुगेँ, हामीले मासिक पाँच रुपैयाँ बचत गर्न थाल्यौँ, त्यसपछि १० रुपैयाँ बनायौँ।’–उनी सम्झिन्छिन्–‘त्यही रकम बालबच्चाको पढाईमा खर्च गर्ने नियम बनायौं।’

०५७ मा कमैयामुक्त समाजको गाउँ, जिल्लाबाट केन्द्रीय सदस्य, ०५८ मा गेरुवा ग्रामीण जागरण संघमा अगुवा कमैया अभियानकर्मी, ०६३ मा मुक्त कमैया पुनःस्थापनाको कार्यान्वयन समिति बर्दियाको सदस्य, ०६४ देखि कमैया महिलाको अधिकारका लागि जिल्लाको संगठन निर्माणमा उनी खटिईन्।

जिल्ला बालकल्याण समितिको सदस्यको रुपमा पनि काम गरेकी उनी ०६४ मै कमैया महिला जागरण समाज नेपालको केन्द्रीय अध्यक्ष भइन्।
जीवनको अधिक समय हजारौँ हण्डर र ठक्कर भोगेकी कृष्णीले आफ्नो घर, जमिन र सम्पत्ति होला भन्ने कहिल्यै सोचेकी थिइनन्। विवाहअघि ७ वर्ष र विवाहपछि १२ वर्ष बुक्रही बसेर कठोर परिश्रम गर्न बाध्य पारिएकी कृष्णी तत्कालीन एमाले (हाल नेकपा) को तर्फबाट प्रदेश नम्बर ५ को सांसद बनिन्।

२०५९ सालमा १२ जनाको समूहबाट नेतृत्व गर्न थालेकी उनी अहिले प्रदेश ५ प्रदेश सभाको उपसभामुख छिन्। उपसभामुख भएपछि उनले महिलाहरुलाई अघि बढाउन, उत्प्रेरणा प्रदान गर्न अगुवाई गर्छिन्। हौस्याउँछिन्, आफ्नै उदाहरण दिन्छिन् र सिकाउँछिन् संघर्ष गर्न। ‘प्रदेश सभामा बोल्ने कुराहरु, महिलाको पक्षबाट उठाउने कुराहरुका बारेमा महिला सांसदहरुले कुराकानी गर्नुहुन्छ’, उनी भन्छिन्–‘यसरी गर्दा राम्रो हुन्छ, तपाईहरु बोल्नुपर्छ, आवाज उठाउनुपर्छ भन्छु, हामी महिलाहरुमाथि दोहोरो जिम्मेवारी छ, त्यसलाई व्यवस्थापन गर्न सक्नु हाम्रो कमजोरी हैन, क्षमता हो भन्ने कुरा गर्छु।’

उनी नेपालको पितृसत्तात्मक संरचना परिवर्तन हुन समय लाग्ने बताउँछिन्। भन्छिन्–‘एकैचोटि, अहिले भर्खरै सबै चीज परिवर्तन भइहाल्न सक्दैन, पछाडि पारिएका वर्ग, जाति, कमैया, कमलरी, बुक्रही, दलित, आदिवासी, जनजाति र महिलाको अधिकारका लागि नीति निर्माण गरेर अघि बढेमात्रै व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ।’

संविधानको बाध्यकारी व्यवस्थाले पनि अब समाजलाई परिवर्तनको बाटोमा अघि बढाएको उनको ठम्याई छ। ‘संविधानमा महिलाको सहभागिताका बारेमा बाध्यकारी नीति बनेको छ, उनी भन्छिन्– ‘समानता, समावेशी, सहभागिताको बारेमा अब धेरै सुधार भएको छ, यसैलाई टेकेर हामीहरु समाज परिवर्तनका लागि निरन्तर लाग्नुपर्छ, खासगरी ग्रामीण महिलाको आर्थिक र सामाजिक पाटोमा सुधार ल्याउनका लागि अब पूरै ध्यान दिनुपर्छ।’

आफुले भोगेको पीडा र संघर्षका कथाबाट सिक्दै आफ्ना सन्तति र समाजलाई सही बाटोमा मार्गदर्शन गर्न अग्रसर छिन् कृष्णी। ‘मेरो समयमा काल परिस्थिति नै त्यस्तै थियो, चाहेर पनि आफ्नो मन परेको काम गर्न, पढ्न पाइँदैनथ्यो, उनी भन्छिन्– ‘अहिले आफैले चयन गरेर आफ्नो इच्छा अनुसारको काम गर्न, अघि बढ्न सकिने समय छ।’

एक छोरी र एक छोराकी आमा उनी छोराछोरीहरु समाज सुधारको बाटोमा लागुन् र आफुले पाएजस्तो दुःख समाजको कोही कसैले भोग्नु नपरोस् भन्ने चाहना राख्छिन्। ‘मैले जे भोगेँ, त्यो अरु कसैले भोग्नु नपरोस्’, उनको कामना छ– ‘संसारभरका नारीहरु अघि बढ्न सकुन् र स्वतन्त्र जीवनयापन गर्न, चाहनाअनुसारको काम गर्न स्वतन्त्रता मिलोस्।’

तस्बिरहरु: सी. पी. खनाल/देश सञ्चार 

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू