जेलबाट छुटेकाे भोलिपल्ट सिके राउत र सरकारबीच भएकाे नाटकीय सहमतिकाे पूर्णपाठ

तस्बिर: बर्षा शाह

काठमाडाैँ– तराई–मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत र नेपाल सरकारबीच शुक्रबार ११ बुँदे सहमति भएको छ।

राष्ट्रिय सभागृहमा आयोजित एक विशेष कार्यक्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतको उपस्थिति थियो।

बिहीबारमात्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका सिके राउत र सरकारका बिचमा नाटकिय रुपमा भएको सहमतिलाई महत्वका साथ हेरीएको छ।

सरकार र सिके राउतबिच भएको सहमतिका ११ बुँदा जस्ताको तस्तैः

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।

२. हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौँ। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकार प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधन गर्न सहमत भएका छौँ।

३. लोकतान्त्रिक मदभेदहरु हुन सक्छन् तर तिनिहरुप्रति राज्य, राजनितिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौँ।

४. सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उदेश्य हो। हामी तराई–मधेस लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई–मधेस लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिवद्ध छौँ। त्यसैगरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौँ।

५. स्वन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्ताहरुमाथि लगाईएको राज्य विरद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरु फिर्ता लिइने र हिरासत वा कारागारमा रहेका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ।

६. स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाईने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन।

७. स्वतन्त्र मधेस गठबन्धनका नेता–कार्यकर्ता तथा समर्थकलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपाल भित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मुलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र त्यस्ता क्रियाकलाप गरेवापत राज्यद्वारा कुनै प्रकारको कारवाही गरिने छैन।

८. २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तीका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ।

९. स्वतन्त्र मधेस गठबन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचार जिम्मा सरकारले लिने छ।

१०. स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेकोे ज्ञान, सीप र सामथ्र्यलाई तराई–मधेस लगायत समग्र देशका जनता तथा राष्ट्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाईका साथ सदुपयोग गर्न र सरकारको तर्फबाट स्वतन्त्र मधेस गठवन्धनप्रति लोकतन्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएका छौँ।

११. यो सहमति आजैका मितिबाट लागु हुने छ।

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्