बिखण्डनको मुद्दा छोडेकोमा सिके राउतलाई कमल थापाको धन्यवाद

नेपालगञ्ज– राप्रपाका अध्यक्ष कमल थापाले बिखण्डनको मुद्दा छोडेकोमा सिके राउतलाई धन्यवाद दिएका छन्।

राप्रपाले देशव्यापी थालेको स्वभिमान यात्राका क्रममा बाँकेको कोहलपुरमा आइपुगेका थापाले त्यहाँ आयोजित कोण सभामा भने, ‘सिके राउतले बिखण्डनको मुद्दा छोडेको कुरा सुनेँ। यो राम्रो कुरा हो। त्यसका लागि धन्यवाद छ।’

अध्यक्ष थापाले बिखण्डनकारी जोसुकै भएपनि कडा कारबाही हुनुपर्छ भनेर शुरुदेखि नै आफूले आवाज उठाउँदै आएको स्मरण गराउँदै राउतले बिखण्डनको मुद्दा छोड्छु भनेपनि उसका हरेक गतिविधिप्रति सजक रहनुपर्ने बताए।

सुर्खेत पुगेर पश्चिम जाने क्रममा कोहलपुरमा आइपुगेका थापाले गरिबीका आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने बताए। ‘जातीय र सम्प्रदायिक आधारमा नभई गरिबीको आधारमा आरक्षणको व्यवस्था हुनुपर्छ’, अध्यक्ष थापाले भने, ‘बाहुन र ठकुरी पनि गरिब छ भने उसले आरक्षण पाउनु पर्छ।’

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजतन्त्र पक्षधर जोकोहीसँग मुद्दाका आधारमा एकीकरण गर्न सकिने दोहोर्‍याए। उनले पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपालाई ढिला नगरी एकीकरणमा आउन आव्हान गरे।

ताप्लेजुङबाट फाल्गुन १५ गते शुरु भएको स्वाभिमान यात्रा सुदूरपश्चिमतर्फ लागेको छ। ३० गते काठमाडौँमा पुगेर समापन हुने यात्रा २६ गते नेपालगञ्जमा आएर कोण सभामा परिणत हुने राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए। उनका अनुसार, यात्राका क्रममा टोलीले ठाउँठाउँमा कोण सभा गर्दै हिडेको छ।

यसैबीच, सुर्खेतस्थित संवाददाता डिलप्रकाशश शर्माका अनुसार, आज विहान सुर्खेतमा पत्रकार सम्मेलन गरेर राप्रपा अध्यक्ष थापाले प्रचण्ड र देउवा नेतृत्वको सरकारमा जानु भूल भएको बताएका छन्। उनले भने,‘ओली सरकारले राम्रो काम गरेको थियो। त्यसमा म पनि थिए। त्यसपछि प्रचण्ड र देउवा सरकारमा जानु गलत भयो’, अध्यक्ष थापाले भने, ‘त्यो कुरा जनताले रुचाएनन्।’

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्