आफू मधेसविरोधि नभएको मनोवैज्ञानिक सन्देश दिन प्रधानमन्त्री ओली मधेस झर्दै

रौतहटमा नेकपा प्रदेश दुई २ ले तयारी गरेको आमसभा । तस्बीर /दीपा दाहाल

रौतहट– आफू मधेस  विरोधी नभएको र यहाँको विकास चाहेको मनोवैज्ञानिक सन्देश दिने उद्देश्यले पहिलोपटक प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले ‘कोर’ मधेसको रुपमा चिनिएको रौतहटमा सम्बोधनका लागि झर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीसँगै एउटै मञ्चबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि रौतहटमा शनिबार नेकपा प्रदेश दुईले आयोजना गर्न लागेको आमसभालाई संवोधन गर्ने छन्।

प्रधानमन्त्री ओलीले नाकाबन्दी, नागरिकता लगायत विषयमा फरक अडान लिएका कारण मधेसी जनताको चित्त दुखेको र त्यहाँको विश्वास गुमाएको भनिएका बेला मेधसको विकासका निम्ति आश्वस्त पार्न र सकारात्मक मनोवैज्ञानिक सन्देश दिन उनी मधेस झर्न लागेका छन्।

प्रदेश नम्बर दुई नेकपाको नेतृत्वले शुक्रबार पत्रकार सम्मेलनमार्फत आमसभाको सम्पूर्ण तयारी पुरा भइसकेको र त्यो उपलब्धीपूर्ण हुने दाबी गरेको छ।

पार्टीको दुई नम्बर प्रदेशका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु शाहले देशको मुख्य नेतृत्वसँग मधेसलाई जोड्न यो आमसभाले भूमिका खेल्ने दाबी गरे।

शाहको अभिव्यक्तिबाट गरुडामा शनिबार हुने आमसभामार्फत प्रधानमन्त्री ओली र सिंगो नेकपा पार्टीले मधेसलाई आश्स्वत बनाउन चाहेको स्पष्ट बुझिन्छ।

‘यो आमसभा नेकपा पाटीप्रतिको विगतका भ्रमहरु हटाउनका लागि हो। प्रदेश सरकारले गरेका राम्रा कामबारे जानकारी गराउन पनि यो आयोजना गरिएको हो,’  शाहले भने।

रौतहटकै क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद शाहले पिछडिएको मधेसलाई अघि ल्याउन र यहाँ द्धन्द नभई शान्ति कायम गर्न आफ्नो पार्टीले पहल गरिरहेको र त्यसको एउटा उदाहरण शनिबारको आमसभा भएको बताए।

नेकपाले रौतहट लगायत मदेसका जिल्ला प्रधानमन्त्री ओलीको कर्मथलोको रुपमा चित्रित गरेको छ।

तर मधेसमा नेकपाले विश्वास आर्जन गर्न नसकेको टिप्प्णीका बीच आयोजना गर्न लागिएको आमसभा र प्रधानमन्त्री ओलीको संवोधनलाई चासोका साथ हेरिएको छ।

शाहले पछिल्लो समय विकशित राजनीति घटनाक्रमबारे पनि नेतृत्वले संवोधन गर्ने बताएका छन् । त्यसबाट मधेसी जनताको मन जित्ने प्रयासमा ओली रहेको स्पष्ट संकेत मिलेको छ ।

मधेसवादी दल राष्ट्रिय जनता पार्टी राजपाले आफ्ना सांसद रेशमलाल चौधरीलाई टीकापुर हत्याकाण्डको दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिएको पृष्ठभूमिमा पनि यो आमसभालाई चासोको रुपमा लिइएको छ।

स्वतन्त्र मधेसको माग गर्दै पृथकतावादी अभियान चलाउँदै आएका सीके रावतलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउन उनीसँग ११ बुँदे सहमति गरेको भोलीपल्ट प्रधानमन्त्री ओली मधेस झर्न लागेका हुन्।

रौतहटको गौरमा २०६३ साल चैत्र सात गते तत्कालिन मधेसी जनअधिकार फोरमसँगको भिडन्तमा तत्कालिन माओवादीका २८ जना कार्यकर्ताको हत्या भएको थियो।

त्यसपछि तत्कालिन माओवादी र मधेसकेन्द्रीत दलहरुको दुरी फराकिलो बनेको थियो । प्रचण्डको नेतृत्वमा रहेको सोही माओवादीले कालान्तरमा आएर तत्कालिन एमालेसँग एकता गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जन्मिएको हो ।

फाल्गुन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू