ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाका मृतकप्रति अस्ट्रेलियामा श्रद्धाञ्‍जली

सिड्नी- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्‍यान गुमाएका पर्यटन, संस्कृति तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना र पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा अस्ट्रेलियामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

प्रवासी नेपाली मञ्च अस्ट्रेलिया तथा जनप्रगतिशील मञ्च अस्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नीको मेरिल्याण्ड्सस्थित २३२–२३४ मेरिल्यण्ड्स रोडमा रहेको रेस्ट फङ्सन सेन्टरमा सो कार्यक्रम गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि न्युसाउथ वेल्सका महावाणिज्यदुत दीपक खड्का, अतिथिहरू एनआरएनए ओसेनियाका संयोजक धर्मराज अधिकारी, जनप्रगतिशील मञ्चका प्रमुख सल्ल्लाहकार शेषमणी शर्मा, न्युसाउथवेल्सका पर्यटन दूत बद्री अर्याल, ध्रुव सुवेदी, हरिलाल लामिछाने लगायतले श्रद्धाञ्जली व्‍यक्त गरेका थिए।

साथै उनीहरुले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी र स्व. उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको राजनीतिक तथा आर्थिक समृद्धिमा पुर्‍याएको योगदानका बारेमा चर्चा समेत गरेका थिए।कार्यक्रममा नेपाल सरकारले हवाइ सुरक्षालाई चासोका साथ लिएर आवश्यक सुरक्षाका उपायहरू अपनाउन समेत अपील गरिएको थियो।

त्यसैगरी पोखरा समाज अस्ट्रेलियाको आयोजनामा सोही दिन सिड्नीको कोग्रास्थित हग्वेन पार्कमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा मृतकहरूको सम्झनामा दुई मिनेट मौन धारण गर्नुका साथै तस्वीरमा माल्यार्पण समेत गरिएको थियो। कार्यक्रममा स्व. पर्यटनमन्त्री अधिकारी र स्व. उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले पुर्‍याएको योगदानका बारेमा चर्चा गरिएको थियो।

समाजका अध्यक्ष राजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, अतिथिहरू प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे, एनआरएनए आइसिसी सदस्य होम पाण्डे, एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अच्युत थपलिया, सचिव देव गुरूङ, कोग्रा अभिभावक संघका प्रवीन मल्ल, भिएफएमका संरक्षण महेश प्रसाई लगायतका वक्ताहरूको उपस्थिति थियो। कार्यक्रममा सिड्नीवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

फाल्गुन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू