भेनेजुएलामा परस्पर विरोधीको व्यापक प्रदर्शन

अमेरिकाका ‘जोकर र कठपुतली’ को सत्ता कू प्रयास विफल : राष्ट्रपति

राजनीतिक संकट गहिरिँदै गएको भेनेजुएलामा सत्तापक्ष र विपक्षका प्रदर्शन भइरहेका छन् ।

देशमा विद्युत आपूर्ति बन्द भएपछि विभिन्न सेवामा असर परेपछिको अवस्थामा एक अर्कामाथि आरोप लगाउँदै आएका सत्ता पक्ष र विपक्षी समर्थकले भेनेजुएलाभर व्यापक प्रदर्शन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निकोलश मादुरो र विपक्षी नेता क्आन गुएडोको आह्वानमा प्रदर्शन भएका हुन् ।

राजधानी काराकासमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता गुएडोका समर्थक र प्रहरीबिच झडप भएको छ । प्रहरीले विपक्षी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।

गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । त्यसयता राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो एक अर्का विरुद्धको प्रदर्शनमा लागेका छन् ।

बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि मादुरो र गुएडोले त्यसको जिम्मेवार एक अर्कालाई लगाए । ब्ल्याक आउटका कारण अस्पतालसहितका अत्यावश्यक क्षेत्रको सेवा प्रभावित भएपछि शनिबार प्रदर्शन भएको हो ।

विपक्षीको बाहुल्यता रहेको नेशनल एसेम्ब्लीका अध्यक्ष समेत रहेका गुएडोलाई अमेरिकासहितका ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् । तर मादुरोलाई देशको सेनाको साथ छ भने रुस र चीनसहितका देशले समर्थन गरिरहेका छन् । यहि कारण मादुरो सत्तामा टिकी रहेका छन् ।

काराकासमा भएको प्रदर्शनको क्रममा प्रहरीले गुएडोका समर्थकलाई अघि बढ्न दिएन । प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरे । प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । त्यसपछि नेता गुएडोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू अब देश दौडामा लाग्ने र समर्थकलाई एकीकृत गर्ने बताएका छन् ।

त्यसपछि चाँडै नै काराकासमा भव्य प्रदर्शन गर्ने गुएडोले घोषणा गरेका छन् । उनले भनेका छन्, ‘हामी सबै काराकासमा जम्मा हुने छौँ, किनकी हामी सबै एकीकृत हुनुछ ।’

राष्ट्रपति मादुरोले आफूप्रति बफादार रहेकोमा आर्मीलाई धन्यबाद दिएका छन् । आर्मीकै सहयोगका कारण विपक्षीको सत्ता कू को योजना विफल भएको मादुरोले दाबी गरे ।

राष्ट्रपति कार्यालय बाहिर भएको कार्यक्रममा सम्बोधन गर्दै मादुरोले गुएडोलाई अमेरिकाको जोकर र कठपुतली रहेको बताए । अमेरिकाको सहयोगमा गुएडोले कू गर्न खोजेको मादुरोको आरोप छ ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।

आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् । मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।

विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

फाल्गुन २६, २०७५ मा प्रकाशित