सहिद गोविन्द गौतमकाे निधन भएको दुइ वर्ष पूरा

सहिद गोविन्दका परिवारको गुनासो: ‘थुप्रैले आश्‍वासन दिए, तर कसैले पूरा गरेनन्’

धनगढी-सीमा रक्षाका क्रममा नेपाल-भारत सीमा कञ्चनपुरको पुनर्वासमा भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमको निधन भएको आइतबार दुई वर्ष पूरा भएको छ।

२०७३ फाल्गुन २६ गते नेपाल-भारत सीमा नजिकै रहेको खोल्सामा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीको गोली लागेर गौतमको ज्यान गएको थियो। उनको निधन लगत्तै कञ्चनपुर लगायत देशका विभिन्‍न ठाउँमा आन्दोलन भयो। सरकारले गोविन्द गौतमलाई सहिद घोषणा गर्‍यो। तर उनको परिवारले पाएको आश्वासन पूरा नहुँदा परिवारको अवस्था दयनीय बनेको छ।

सहिद गौतमका बुवा खेमलाल गौतम भन्छन- ‘न त छोराले गरेको योगदानको मूल्याङकन भयो न त सीमाको नै रक्षा, त्यतिबेला थुप्रैले थुप्रै आश्वासन दिए तर ती आश्‍वासन आश्‍वासनमै सीमित भए।’

उनले छोराको मृत्युपछि परिवारको बिचल्ली भएको बताए। सहिद गोविन्द गौतमका तीन छोरी छन्। उनीहरुलाई स्थानीय युग ज्योति एकेडेमीले पढाइरहेको छ। राज्यले  उनीहरुलाई पढाउने बिषयमा खासै चासो नदिएको सहिद गोविन्द गौतमका बुवाको दुखेसो छ।

सरकारले सहिद गौतमकी श्रीमती लक्ष्मी गौतमलाई रोजगारी दिने बताए पनि उनले अहिले सम्म रोजगारी पाएकी छैनन्। कमाउने छोरा सहिद भएपछि नावालक नातीनी पाल्न समस्या भएको उनकी आमा हरिदेवी गौतमले बताइन्। उनले भनिन्–‘आफ्नो छोराको हत्यापछि धेरैले आश्वासन दिएको भए पनि सपना जस्तै भएको छ।’

नेपाल सरकार, नेपाली कांग्रेस लगायत केही संघ संस्थाले परिवारलाई आर्थिक सहयोग गरेपनि त्यसले जीवन निर्वाह गर्न समस्या भएको परिवारको भनाई छ। सोही घटनामा घाईते भएका टीकाराम चापागाई अवस्था पनि दयनीय रहेको छ।

गृह मन्त्रालयले नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको जनाएको थियो। गृह मन्त्रालयले गौतमलाई लागेको गोली नेपालका कुनै पनि सुरक्षा निकायमा लाग्ने हातहतियारमा प्रयोग नभएको हुँदा उक्त गोली एसएसबीले हानेको ठहर सहितको रिपोर्ट भारतीय दूताबासलाई बुझाई बुझाएको थियो। घटना घटेको ७ सय ३० दिन बित्दा समेत सरकारले चासो दिएको छैन।

आईतबार पुर्नवासमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारले सहिद गौतमको नाममा सालिक निर्माण गर्ने जनाएको छ। कार्यक्रममा जिल्लाको पुनर्वास नगरपालिका-६ मा पर्ने आनन्दबजार नजिकै सहिद गौतमको सालिक बनाइने सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए।

पुनर्वास नगरपालिकाले आयोजना गरेको तेस्रो गौतम स्मृति दिवसको अवसरमा मन्त्री सुवेदीले सहिद गौतमको फोटोमा माल्यार्पण गर्दै बर्दी बिनाका सीमाका सिपाहीको सुरक्षाका लागि प्रदेश सरकार सधैं तयार रहेको समेत बताए। त्यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारालामा तामाङले सहिदको सपना साकार पार्न सरकारले त्यस अनुसारको काम गर्नुपर्ने बताए।

पुनर्वास नगरप्रमुख जीवनराज थापाले कार्यक्रममा सहिद गौतमका आमा-बुबालाई सम्मान गरेका थिए। उनले तीन छोरीलाई बार्षिक रुपमा १० हजार दिने घोषणा गरेका छन्।

फाल्गुन २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्