बोइङ ७३७ म्याक्स एटबाट हुने सबै उडान चीनले रद्द गर्‍यो

इथियोपियामा १५७ जनाको ज्यान जाने गरि बोइङ ७३७ म्याक्स एट दुर्घटनामा परेपछि चीनले बोइङ ७३७ म्याक्स एट विमानको व्यवसायिक उडान तत्कालका लागि बन्द गरेको छ ।

चीनको उड्डयन सम्बन्धी प्रशासकिय निकायले स्थानीय एयरलाइन्सलाई बोइङ ७३७ म्याक्स एट मार्फत हुने उडान रोक्न निर्देशन दिएको बिबिसीले जनाएको छ । इथियोपियन एयरलाइन्सको विमान आइतबार उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा रहेका ३५ देशका १५७ जनाको ज्यान गएको छ । पछिल्लो पाँच महिनामा बोइङ ७३७ म्याक्स एट विमान दुर्घटनामा परेको यो दोस्रो घटना हो । लायन एयरले सञ्चालन गरेको यहि मोडलको विमान गएको अक्टोबरमा उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो ।

चीनको नागरिक उड्डयन प्राधिकरणले वक्तव्य जारी गरेर नयाँ मोडलको बोइङ ७३७ म्याक्स एट का दुई विमान दुर्घटना भएको र दुवै उडेको केही समयमै दुर्घटनाग्रस्त भएकाले तत्कालका लागि यो विमान मार्फत उडान नगर्न भनेको छ ।

एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्ससहितका एयरलाइन्सको उडान प्रभावित हुने भएको छ । चीनमा ९० भन्दा बढी बोइङ ७३७ म्याक्स एट विमान सञ्चालनमा छन् । यो विमानको व्यवसायिक प्रयोग सन् २०१७ देखि हुन थालेको हो ।

फाल्गुन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्