साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करण मंगलबारदेखि

पूर्व कप्तान जमुना गुरुङ भन्छिन्-वर्षौ‌देखि नेपालसँग भारत डराउँछ

काठमाडौं-दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करण मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ।

प्रतियोगिता नेपालले पहिलोपटक आयोजना गर्न लागेको हो। सुरुका तीन संस्करणमा फाइनलसम्म पुगेको नेपाल भारतमा तीन वर्षअघि आयोजित पछिल्लो संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो। प्रतियोगितामा भारत पहिलो संस्करणदेखि न‍ै विजेता बन्दै आएको छ।

विज्ञापन

नेपाललाई निकटतम प्रतिद्वन्द्वी मानिए पनि यी प्रतियोगितामा भारतलाई अहिलेसम्म हराउन सकेको छैन। दक्षिण एसियाली खेलकुद-सागको महिला फुटबलमा समेत भारतले अरुलाई उपाधि जित्न दिएको छैन।

साग महिला फुटबल हालसम्म दुईपटक भएकामा दुवैको फाइनलमा भारतले नेपाललाई हराएको थियो। अर्थात साफ च्याम्पियनसिप होस् र साग महिला फुटबल, दुवैमा नेपालको यात्रा कसैले रोकेको छ भने त्यो भारतमात्र हो। पछिल्लो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाट नेपाल बाहिरिँदा भारतसँग नै ३-१ गोलले पराजित भएको थियो।

साफ महिला च्याम्पियनसिप र साग महिला फुटबल एकै वर्ष अर्थात सन् २०१० देखि आयोजना हुन थालेको हो।  त्यसैले घरेलु मैदानमा नेपाली महिला फुटबल टोलीलाई उपाधिको खडेरी टार्ने अवसर छ।

स्मरणीय छ गत महिना भारतको भुवनेश्वरमा आयोजित हिरो वुमेन्स गोल्डकपमा नेपालले भारतलाई हराएर पछि उपविजेतासम्म बनेको थियो। त्यस प्रतियोगितामा नेपालले भारतलाई २-१ गोलले हराएको थियो।  यसकारण पनि नेपाली महिला टोलीको मनोबल यतिबेला उच्च छ।

साफ महिला च्याम्पियनसिप तथा साग महिला फुटबलमा नेपालविरुद्ध हालसम्म केवल तीनवटा टोलीले मात्र  गोल गरेका छन् त्यसमा पनि श्रीलंका र अफगानिस्तानले एक एकपटक मात्र।

साफ महिला च्याम्पियनसिपमा मात्र नेपालविरुद्ध भारतबाहेक अफगानिस्तानले मात्र गोल गरेको छ। सन् २०१२ मा आयोजित साफ महिला च्याम्पियनसिपमा अफगानिस्तानले नेपालविरुद्ध गोल गरेको थियो। यी क्षेत्रका टोलीमध्ये भारतबाहेक अन्यले नेपाललाई हराउन सकेका छैनन् दुवै प्रतियोगितामा।

सन् २०१० को जनवरीमा साग महिला फुटबल आयोजना हुँदा नेपाल करिब आधा दशकपछि अन्तर्राष्ट्रिय फुटबलमा सहभागी हुँदै थियो। नगन्य घरेलु प्रतियोगिताबीच बनेको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी व्यक्तिगत मिहेनतकै भरमा साग महिला फुटबलमा सहभागी हुँदै थिए। त्यसअघि एक दशकभन्दा बढी समयदेखि फुटबल खेलिरहेकी जमुना गुरुङको कप्तानीमा थियो नेपाली टोली।

दुईपटक साफ च्याम्पियनसिप र एकपटक साग महिला फुटबल खेलेकी जमुनाले नेपाली महिला फुटबलका थुप्रै उतारचढाव नजिकबाट देखेकी छिन्।

कुनै समय अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी रहेकी जमुना म‌ंगलबारदेखि घरेलु मैदानमा सुरु हुन लागेको साफ महिला च्याम्पियनसिपलाई कसरी लिईरहेकी छिन् ? प्रतियोगितामा नेपालको सम्भावना र चिरप्रतिद्धन्द्धी भारतको दावेदारीलाई लिएर देशसन्चारले जमुनासँग गरेको कुराकानी उनकै शब्दमा –

त्यतिबेला नेपालमा घरेलु महिला फुटबल प्रतियोगिता हुँदैन थियो भने पनि हुन्छ। तरपनि विभागीय टोलीले महिला फुटबल टोली बनाएका कारण केही सजिलो भएको थियो। २०६३ सालमा शसस्त्र प्रहरी बल-एपिएफले महिला फुटबल टोली तयार गरेपछि नेपाल पुलिस र आर्मी क्लबले पनि महिला टोली बनाए। विभागीय टोलीमा रहेका कारण ती टिमका खेलाडी नियमित प्रशिक्षणमै रहन्थे। तर अन्तर्राष्ट्रिय प्रतियोगिता र अभ्यास खेलहरु नभएको वर्षौं भईसकेको थियो। यत्तिकैमा ११ औँ साग(सन् २०१०)मा महिला फुटबल समावेश हुने कुराले हामी निकै खुसी थियौँ। दक्षिण एसियाका सबै टोलीसँग हामी अपरिचितजस्तै थियौँ। त्यसको केही वर्षअघि हामीले भारतको मनिपुरको टोलीसँग खेल्दा खेल निकै प्रतिस्पर्धात्मक भएको हामीलाई थाहा थियो। हाम्रो टोलीमा अधिकांश खेलाडी एपिएफकै थिए। हामीमा अनुभव र एक्सपोजरको कमी थियो।

हामीले पहिलो खेलमा बंगलादेशलाई १-० गोलले हरायौँ। तर दोस्रो खेलमा श्रीलंकालाई ८-१ गोलले हराएपछि टोलीका सबै खेलाडीको मनोबल उच्च भयो। हामी पनि बलियो रहेछौँ भन्ने भयो। तेस्रो खेल भारतसँग थियो। उसले हामीलाई ५-० गोलले हरायो। यो खेल हाम्रा लागि निकै गाह्रो भएको थियो। भारतलाई हामीभन्दा निकै बलियो पायौँ। उनिहरु फिजिकल्ली निकै स्ट्रङ देखिए। टेक्निकल्ली पनि उत्तिकै सशक्त थिए। हरेक खेलले हाम्रो मनोबल उच्च बनाउँदै थियो। प्रतिद्धन्द्धीका कमजोरी पत्ता लगाएर त्यस अनुसार खेल्न सिक्दै थियौँ। चौथो खेलमा पाकिस्तानलाई ७-० गोलले हराएपछि हामीले उपाधि भिडन्त तय गर्‍यौं, भारतसँग। यसपटक हामी भारतविरुद्ध पुरानो गल्ती नदोहोर्‍याउनेमा सचेत थियौं। हामी भारतलाई गोल गर्न नदिएर गोलका अवसर सृजना गर्ने रणनितीमा थियौँ। दोस्रो हाफको मध्यसम्म भारतलाई गोल गर्न दिएनौँ।

खेलको पहिलो गोल मैले नै गरेँ। तर भारतले उत्कृष्ट पुनरागमन गर्‍यो। खेलपछि भारतका प्रशिक्षकले नेपाली टोलीको निकै प्रसंशा गरे। मलाई लाग्छ-त्यही दिनदेखि भारतीय महिला फुटबल टोली नेपालसँग सचेत भएर खेल्न थाल्यो। अझ भनौँ- भारत, नेपालदेखि डराउन थाल्यो। सोही वर्षको अन्त्यमा भएको साफ च्याम्पियनसिपमा फाइनलमा हाम्रो भेट भारतसँग भयो। यसपटक हामी १-० गोलले पराजित भयौँ। भारत र नेपालबीचको खेल प्रतिस्पर्धात्मक बन्दै थियो। सन् २०१२ को साफ च्याम्पियनसिपको फाइनलमा पनि भारतसँग पराजित भएपछि निकै खल्लो लागेको थियो। मलाई लाग्थ्यो- सुरुमा हामीले गोल गर्‍यौँ भनेपनि भारत खेलमा फर्कन सक्छ, त्यो उसको खेलमा देखिन्थ्यो। उनीहरु निकै आत्मविश्वासी देखिन्थे। विस्तारै पुराना खेलाडीलाई नयाँले विस्थापन गर्दै गए। राष्ट्रिय टोलीमा नयाँ अनुहार देखिन थाले।

हाम्रो विडम्बना भन्नुपर्छ- साफ च्याम्पियनसिप जस्तो प्रतियोगिता अघि न हामीले अभ्यास खेल खेल्न पाउथ्यौँ न पर्याप्त प्रशिक्षण हुन्थ्यो। अहिले दक्षिण एसियामा बंगलादेश र भुटानले निकै सुधार गरेका छन् आफुलाई। अब चुनौती बढ्दो छ। पछिल्लो समय नेपाली टोलीले पनि पर्याप्त तयारी गर्न थालेको छ। गत महिना भारतलाई हराएपछि टोलीको आत्मविश्वास राम्रो छ। तर फिजिकल्ली अलिक कमजोर हुनु हाम्रो समस्या हो। तर टेक्निकल्ली उत्कृष्ट छौँ भन्‍ने लाग्छ। 

भारतविरुद्ध नेपाल


साफ महिला च्याम्पियनसीप 

सन् २०१० :  ०-१ ले पराजित (फाइनल)

सन् २०१२ :  १-३ ले पराजित (फाइनल)

सन् २०१४ : ०-६ ले पराजित (फाइनल)

सन् २०१६ : १-३ ले पराजित (सेमिफाइनल)

साग महिला फुटबल


सन् २०१० : ०-५ ले पराजित (लिग चरण)

१-३ (फाइनल)

सन् २०१६ : ०-० बराबरी (लिग चरण)

०-४ (फाइनल)

 

साफ महिला च्याम्पियनसीपमा नेपालबारे तथ्य


– सन् २०१० को डिसेम्बरमा आयोजित साफ महिला फुटबलको पहिलो चरणमा नेपालले  तीनवटै खेल जित्दै त्यसमा ३१ गोल गरेको थियो। एक गोल पनि सामना गरेन। उसले सेमिफाइनलमा ३-० गोलको जित निकालेको थियो।

-सन् २०१२ मा आयोजित दोस्रो साफ महिला च्याम्पियनसिपको पहिलो चरणमा नेपालले तीनवटै खेल जितेको थियो। ती खेलमा २० गोल गरेको नेपालले एक गोल व्यहोरेको थियो। सेमिफाइनलमा ३-० गोलको नतिजा निकालेर फाइनल यात्रा तय गरेको थियो।

– सन् २०१४ को संस्करणमा नेपालले फाइनल पुग्दासम्म एक गोल पनि बेहोरेन। समूहगत चरणका सबै खेल जित्दै १३ गोल गरेको नेपालले सेमिफाइनलमा १-० गोलको नतिजा निकालेको थियो।

– साफ महिला च्याम्पियनसीपको पछिल्लो संस्करणमा नेपालले समूहगत चरणमा एक गोल नखाई सबै तीन खेल जितेको थियो। ती खेलमा उसले १८ गोल गर्‍यो। प्रतिद्वन्द्वी  भारतसँग सेमिफाइनलमै भिड्नुपर्ने समिकरण बनेपछि नेपालले प्रतियोगिताको इतिहासमा पहिलो पटक फाइनल यात्रा तय गर्न सकेन। सेमिफाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको थियो।

फाल्गुन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्