राष्ट्र भनेको के? राष्ट्र विखण्डन भनेको के?

१) सी के राउत र सरकारबीचको सहमतिलाई मैले स्वागतयोग्य माने । धेरै मित्रहरूले उक्त सहमतिप्रति आशंका व्यक्त गर्नु भयो । सधैँ आशंका मात्र गरेर बस्ने, ठोस निष्कर्ष दिन नसक्ने अनि मुलुकलाई आशंकाकै बन्दी बनाइरहने कुरामा मेरो सधैँ विमति ।

देखेको कुरा छाती ठोकेर भन्न सक्नु पर्दछ, अविश्वास गर्ने प्रष्ट आधार नहुन्जेल विश्वास गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । अनि राम्रा कुरा कसैले गर्यो भने त्यसको तत्काल प्रशंशा गरेर राम्रोलाई थप प्रोत्साहन दिनु पर्दछ भन्ने मान्यतामा म सधैँ रहिरहेको छु ।

नेपालको आन्तरिक उर्जा र भूराजनीतिक यथार्थतालाई सीके राउतले अन्तर्मनले अङ्गिकार गरेका मैले बुझेको छु । बाँकी प्राविधिक कुरा मात्र हुन् ।

२) राष्ट्र विखण्डनको कुरा गर्नुहुन्छ भने पहिला राष्ट्र भनेको के भनेर प्रष्ट हुनुपर्दछ । राष्ट्र भनेको मुलुकको संविधान पनि हो । नियम–कानुन पनि हो । सरकार, अदालत, संवैधानिक अङ्गहरू , सुरक्षा निकायहरू, स्कूल, कलेज, अस्पताल सबै राष्ट्र हुन् ।

खेतबारी, नहर–कुलो नदी, खोला, पहाड, सडक, पुल सबै राष्ट्र हुन् । मुलुकको व्यापार , उद्योग धन्दा, कल कारखाना सबै राष्ट्र हुन् । पशुपतिनाथ, स्वयम्भु, मुक्तिनाथ, खप्तड ,जनकपुर लुम्बिनी राष्ट्र हुन् । निकुञ्जहरू हुन् राष्ट्र । हिन्दु र वौद्ध धर्म हो राष्ट्र ।

नेपालको हकमा हिन्दुत्व हो राष्ट्र । पृथ्वीनारायण शाह, बहादुर कालु पाण्डे , झागल गुरुङ्ग , बिसे नगर्ची , भानुभक्तहरू हुन् राष्ट्र भनेको । नेवारी र मिथिला सभ्यता र संस्कृति बेगर नेपाल राष्ट्रको परिचय निर्माण नै हुँदैन ।

राम नवमी, कृष्णाष्टमी, तीज, पंचमी,दसैँ–तिहार, ल्होसार आदि हुन् राष्ट्र । लाखे नाच पनि हो राष्ट्र र देउडा नाच पनि । राजा हुन् राष्ट्र । विभिन्न जातजाती, भाषा र संस्कृति हुन् राष्ट्र । तिनलाई प्रतिनिधित्व गर्ने जनता हुन् राष्ट्र । ७२को संविधान मात्र होइन राष्ट्र ४७को संविधान पनि राष्ट्र थियो ।

३) यी सबै आज कुन हालतमा छन्? यी विखण्डित छैनन् ।
उदाहरणको लागि राष्ट्रको प्रतीक बनेका पृथ्वी नारायण शाह र भानुभक्तको सालिक फोर्ने न सीके राउत थिए न ती सालिक भत्काइदा मुलुकमा ओलीको सरकार थियो ।

राष्ट्र विखण्डन गर्छ भने संघियता, धर्मनिरपेक्षता र गणतन्त्रले गर्दछ तर ती मूल्यहरू मुलुकमा लाद्ने निर्णायक भूमिकामा न ओली थिए न राउत ।
अनि को हो राष्ट्र विखण्डनको सूत्रधार ?

४) कम्युनिस्टको विरोध गर्ने अनेकौँ सैद्धान्तिक आधार छन् । ओली सरकारको विरोध गर्ने दर्जनौ कारणहरू छन् । स्पष्ट कारणहरू छन् । विरोध तिनमा केन्द्रित गरे भयो नी , किन काल्पनिक र अनुमानका कारण खोज्नु पर्यो ?

५) संसारभर प्रतिरक्षात्मक भएका कम्युनिस्टहरू नेपालमा यो हैसियतमा कसरी आइपुगे ? कांग्रेस आफैले त्यसमा कस्तो योगदान पुर्यायो? पुर्याइरहेको छ ?

६) संविधानले समाजवादलाई लक्ष्य बताउनुको अर्थ मुलुकले कम्युनिस्ट शासनलाई आफ्नो लक्ष्य बताएको हो भनेर मैले त भनिरहेको छु । कम्युनिस्टले अवलम्वन गर्ने समाजवादी कार्यक्रमले मुलुकलाई प्रगति र समृद्धि दिन सक्दैन भनेर भनेको भन्यै छु ।

आज कांग्रेस मुलुकको राजनीतिक प्रतिपक्ष होइन, संसदीय प्रतिपक्ष मात्रै हो ।

७) प्रतिक्रिया मात्रै गरेर बस्ने हस्तक्षेपकारी विषय लिएर आउन नसक्ने, सत्तामा पुग्न र रहिरहन आफ्ना सबै मूल्य, विचार र राजनीतिक संस्कृतिलाई परित्याग गरेर जुनसुकै चरित्रको राजनीतिक शक्तिसँग साँठगाँठ गर्न कांग्रेस पछि छ र ?

सडकमा जसले जे भनेर आयो त्यही ठीक भन्ने र आफ्ना सैद्धान्तिक र वैचारिक धरातल मास्ने कांग्रेस होइन आजको मुलुकको अवस्थाको कारण ?
मुलुक जोड्ने अजेण्डा हराएको कांग्रेसकै कारण हो आजको समस्या ।

८) समस्या न नेकपा हो, न सीके राउत । त्यसकारण समाधान पनि नेकपा होइन, सीके राउत होइन । समस्या कांग्रेस हो र समाधान पनि कांग्रेस हो ।

कांग्रेसको यो मूल्यहीन र रुग्ण वैचारिक स्थिति अनि सिङ्गो पार्टी केही नेता र तिनका आसेपासेको विर्तामा रुपान्तर भएको अवस्थाले स्वयम् कांग्रेसका नेता–कार्यकर्ता, समर्थक शुभेच्छुक अन्य प्रजातन्त्रवादीहरू मात्र नभएर कम्युनिस्ट व्यवस्थामा विश्वास गुमाउँदै गएका कम्युनिस्टहरू पनि लक्षहीन र गतिहीन बन्दै गएका छन् ।
कांग्रेस आफू सच्चिए मात्रै, आफ्नो विश्वासमा सतिसाल झैँ उभिए मात्रै पुग्छ ।

कांग्रेस समाधान लिएर नआउने भएपछि जो स्थायी वा अस्थायी समाधान लिएर आउँछ उसको समर्थन गर्नै पर्यो नी ।

कांग्रेसले उपचार नदिएपछि पनि मुलुक रोग पालेर बसिरहने ?

९) ओलीले राउतलाई मूलधारमा ल्याउने कोशिस गरे, त्यो प्रयाशलाई सम्मान । जबसम्म परिणाम गलत देखिन्न त्यसलाई समर्थन गर्नु पर्दछ । सत्य प्रस्तुत गर्न नसक्ने, तथ्य सामू ल्याउन नसक्ने अनि कोरा कल्पना, अनुमान र षड्यन्त्र सिद्धान्त घोकेर मुलुकलाई अन्यौलमा मात्र राख्ने, कोठामा कानेखुसीमा षड्यन्त्रका कथाहरू रचेर बस्ने राजनीति, विश्लेषण र तर्ककाप्रति सहमत हुन सकिन्न ।

सत्य र तथ्यलाई बंग्याएर, अर्थको अनर्थ लगाएर अनि प्रमाणविहीन राजनीतिक प्रलाप मच्चाएर मुलुकमा भय, त्रास, भ्रम र द्वन्द्व मच्चाइरहने उद्यमीहरूलाई कुनै न कुनै शत्रु पक्ष सधैँ चाहिन्छ तो अहिले यो सवालमा पनि देखिएको छ ।

षड्यन्त्र हो भने प्रमाण सहित छाती ठोकेर सार्वजनिकरूपमा भन्न सक्नु पर्दछ ।

(यो सामग्री केशवप्रसाद भट्टराईको फेसबुक पेजबाट साभार गरिएको हो ।)

फाल्गुन २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्