इथियोपियन विमान दुर्घटनापछिको प्रभाव

बोइङ ७३७ म्याक्स एट ग्राउण्डेड हुने क्रम बढ्यो

इथियोपियामा १५७ जनाको ज्यान जाने गरि बोइङ ७३७ म्याक्स एट दुर्घटनामा परेपछि यो मोडलको विमानको सुरक्षालाई लिएर विश्वव्यापी चासो बढेको छ ।

केही देश र एयरलाइन्सले बोइङ ७३७ म्याक्स एट विमानको व्यवसायिक उडान तत्कालका लागि बन्द गरेका छन् । अहिलेसम्म चीन तथा इन्डोनेसियाले यो मोडलका विमानको उडान तत्कालका लागि रद्द गरेका छन् ।

विज्ञापन

यस्तै सिंगापुर, इथियोपियन एयरलाइन्स, रोयल एयर मोरक्कको तथा बेलायतको उपनिवेशमा रहेको केमेन आइल्याण्डको केमेन एयरवेजले बोइङ ३३७ म्याक्स एट मोडलका विमान ग्राउण्डेड गरेका छन् ।

सन् २०१७ को मे मा पहिलो व्यवसायिक उडान सुरु भएको बोइङ ७३७ म्याक्स एट मोडलका दुईवटा विमान दुर्घटनामा परेका छन् ।

इथियोपियन एयरलाइन्सको विमान आइतबार उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा रहेका ३५ देशका १५७ जनाको ज्यान गएको छ ।

पछिल्लो पाँच महिनामा बोइङ ७३७ म्याक्स एट विमान दुर्घटनामा परेको यो दोस्रो घटना हो । लायन एयरले सञ्चालन गरेको यहि मोडलको विमान गएको अक्टोबरमा उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो ।

अहिलेसम्म विभिन्न देशका ७९ एयरलाइन्सले बोइङ ७३७ म्याक्स एट खरिद गरेका छन् । चीनमा ९० भन्दा बढि विमान छन् । उसले बोइङको सञ्चालनमा रोक लगाएको छ ।

यस्तै विश्वका ठूला एयरलाइन्समाथि पनि दबाब बढेको छ । प्रायः सबै एयरलाइन्सले आफूहरुले विमानको सुरक्षाको विषयलाई लिएर चनाखो भइ अनुगमन गरेको बताइरहेका छन् ।

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्