साफ महिला च्याम्पियनसिपमा नेपालको सन्तोषजनक सुरुवात, भुटान ३-० गोलले पराजित

गोलपछि खुसी मनाउँदै नेपाली खेलाडीहरु । तस्बिर बर्षा शाह देश सञ्चार

काठमाडौ‌ँ-  पाचौँ दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपमा  घरेलु टोली नेपालले सन्तोषजनक सुरुवात गरेको छ। विराटनगरको शहिद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोलले हरायो।

नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भन्डारी र कप्तान निरु थापाले एक एक गोल गरे।  १३ औँ मिनेटमा मन्जलीले टोलीलाई अग्रता दिलाएकी थिइन्।

दुई मिनेटपछि सावित्रा भन्डारीले टोलीको अग्रता दोब्बर बनाइन्। ५३ औँ मिनेटमा कप्तान निरुले गोल गरेकी हुन्। खेलमा नेपालले एकपक्षीय दबाब बनाएको थियो। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग खेल्ने छ।

 

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्