को आउला पर्यटन मन्त्रालयको उत्तराधिकारी?

‘बेस्ट पर्फमर’ दिवंगत मन्त्री अधिकारीको यस्तो छ रिपोर्टकार्ड

काठमाडौँ— संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले पछिल्लो चार वर्षको अवधिमा हालै हेलिकोप्टर दुुर्घटनामा दिवंगत त्यसको नेतृत्वकर्ता रवीन्द्र अधिकारीलाई ‘बेस्ट पर्फमर’का रुपमा स्मरण गरेको छ।

मन्त्रालयका सत्तारुढ या विपक्षी दल निकट सबै कर्मचारीहरुले दिवंगत मन्त्रीको नेतृत्वमा भएका कामले सफलता प्राप्त गरेको निष्कर्ष निकालेका छन्, केही आधार सहित।

उनी बाँचेको भए त्यो नतिजामूलक हुन्थ्यो या हुन्थेन, त्यो निष्कर्ष निकाल्न कठिन नै छ। तर पनि मन्त्रालयका कर्मचारीहरुले केही यस्ता तथ्याङ्क उपलब्ध गराएका छन् जसले मन्त्री अधिकारीले एक वर्षमा नतिजाउन्मुख काम गर्न भ्याएको देखिन्छ।

यद्यपि त्यसलाई निरन्तरता दिन भावी उतराधिकारीले सक्छन् या सक्दैनन् त्यो चुनौतीपूर्ण छ।

१४ दिनदेखि मन्त्रीबिहिन पर्यटन मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व दिन नसक्नुले चुनौती झन थपिएको छ।

त्यसबाट सुरुवात भएका राम्रा कामले समेत निरन्तरता नपाउने हुन् कि भन्नेमा मन्त्रालयका कर्मचारी संशकित बनेका छन्।

‘पहिलो मन्त्री अधिकारीले सुरु गरेका राम्रा काम अब कसरी अघि बढ्ला भन्ने चिन्ता छ । दोस्रो अहिले थुप्रै काम गर्नु पर्ने बेला मन्त्री हुनुहुन्न,’ मन्त्रालयका एक कर्मचारी भन्छन्।

दुईपटक संविधान सभाका सदस्य भइसकेका अधिकारीले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट बिजय प्राप्त गरेपछि गत वर्ष चैत्र २ गते पहिलो पटक मन्त्रीको रुपमा सपथ खाएका थिए।

पर्यटन मन्त्रीकारूपमा उनले देखाएको सक्रियताले संस्कृति, नागरिक उड्डयन र पर्यटन क्षेत्रमा नीतिगत सुधारसँगै भौतिक संरचना निर्माण र त्यसको स्तरोन्नती भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय बताउँछन्।

अधिकारीको सक्रियतामा पहिलो पटक मन्त्रालयले पर्यटन ऐनको मस्यौदा तयार पार्नुका साथै विभिन्न १० वटा ऐन संशोधन गर्‍याे।

मन्त्री अधिकारीको नेतृत्वमा भएको नीतिगत सुधार विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्ने, पर्यटन वर्ष २०२० लाई सफल पार्न योजना तर्जुमा गर्ने, त्रिभुवन विमानस्थल विस्तार गर्ने लगायत पक्षमा देखिएको छ।

मध्यरातमा त्रिभुवन विमानस्थलको निरीक्षण

रविन्द्र अधिकारीले पर्यटनमन्त्री बनेको केही दिनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुनासो व्यवस्थापनमा कदम चालेका थिए।

त्यहाँका भद्रगोल अवस्थालाई सुधार गर्न उनी मध्यरातमा पनि निरीक्षणका लागि त्यहाँ पुग्ने गरेको मन्त्रालयका कर्मचारी स्मरण गर्छन्।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मन्त्री अधिकारीले दुई वर्षमा उक्त विमानस्थलको छवि उच्च बनाउने घोषणा गरेका थिए।

मन्त्रालयको तथ्याङ्कले १० प्रतिशतमा सीमित विमानस्थलको स्तरोन्नति पछिल्लो एक वर्षमा ३० प्रतिशतले बढेको छ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको सुधार

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल निर्माण कार्य सुरु भएको लामो समय भए पनि त्यसले तीव्रता पाउन सकेको थिएन।

तर अधिकारीले मन्त्री भएलगत्तै त्यस विमानस्थल निर्माण कार्यमा मन्त्रालय र सरोकारवालालाई सक्रिय बनाएका थिए।

तथ्याङ्कले त्यसमा उपलब्धि समेत प्राप्त भएको देखाउँछ। पछिल्लो एक वर्षमा विमानस्थलको निर्माण कार्य ४१ प्रतिशतबाट बढेर ६७ प्रतिशतमा पुगेको छ।

मन्त्री अधिकारीले चाँडोभन्दा चाँडो उक्त विमास्थल निर्माण कार्य सम्पन्न गरी राजधानीको चापलाई कम गर्न चाहन्थे र विदेशी पर्यटकलाई आकर्षक बिन्दुको रुपमा उक्त स्थानलाई विकास गर्न चाहिरहेका थिए।

प्रवक्ता उपाध्यायले भने, ‘नेपाललाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चाहनुहुन्थ्यो, मन्त्री अधिकारीले त्यसका लागि आधार पनि खडा गर्ने तयारीमा थियौँ हामी पनि उहाँको नेतृत्वमा तर दुखद घटना भयो।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र

बहुचर्चित र प्रतिक्षित पोखरा अन्तर्राष्टिय विमानस्थल निर्माण कार्य पनि तीव्र बनेको थियो मन्त्री अधिकरीका पालामा।

आफ्नै क्षेत्रमा मात्रै विकास गर्न चाहेको आरोप खेपेपनि मन्त्री अधिकारीले पोखरालाई उत्कृष्ट अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने सोच राखेका थिए, त्यसलाई समग्र मुलुकको सान बढाउने कुरामा दुविधा भने थिएन।

त्यसका लागि उनी सबैभन्दा धेरै पोखरा पुग्थे पनि। पोखरा विमानस्थलको काम चार प्रतिशतबाट बढेर २७ प्रतिशत पुगेको छ।

अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पोखराबाटै आएका उनका सहपाठीहरुको मूल्याङ्नमा मन्त्री अधिकारी अन्तर्राष्टिय जगतको आँखा परोस् भन्ने हिसाबमा पोखराको विकासमा लागिपरेका थिए।

ऐतिहासिक सम्पदाको पुनर्निर्माण अघि

भूकम्पले ध्वस्त बनेका ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा मन्त्री अधिकारीको उत्तिकै चासो थियो।

एक वर्ष अघि ९८ वटा त्यस्ता सम्पदाको पुनर्निर्माण भएकोमा मन्त्री अधिकारीको एक वर्षको कार्यकालमा त्यो बढेर २ सय १२ पुगेको छ ।

सम्पदाको पुनर्निर्माण चुनौतीपूर्ण काम भएपनि मन्त्री अधिकारीले नेपाल र नेपालीको पहिचानको सबैभन्दा पहिले संरक्षण गर्नु पर्छ भन्दै त्यस्ता सम्पदाको पुनर्निर्माणमा ढिलो नगर्न मातहतका कर्मचारीलाई पटकपटक निर्देशन दिएका थिए।

अन्तर्राष्ट्रिय पर्यटकको आवागमनमा वृद्धि

पूर्ववर्ती सरकारले पर्यटन भित्राउन निकै जोडबल गरे पनि असफल भएको पृष्ठभूमिमा मन्त्री अधिकारीले पर्यटन मन्त्रालको जिम्मेवारी सम्हालेपछि अन्तर्राष्ट्रिय पर्यटक आवागमन बढेको मन्त्रालयलका कर्मचारी बताउँछन्।

यो पर्ष पहिलो पटक १२ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्रिएर ‘रेकर्ड’ कायम गरेको उनीहरुको भनाइ छ। तथ्याङ्क अनुसार यो वर्ष पर्यटन आवागनमा २६ प्रतिशत वृद्धि भएको छ।

त्यसलाई मन्त्रालयका कर्मचारीले उपलब्धिपूर्ण ठानेका छन्। मन्त्री अधिकारीकै सक्रियतामा मुलुकका एक सय वटा नयाँ ठाउँलाई ‘पर्यटक गतव्य’ तोकिएको छ ।

रात्रीकालिन उडान सेवा विस्तार

रात्रीकालिन उडान सेवाको अभावमा नेपालीले निकै सास्ती पाउने गरेको गुनासो मन्त्री अधिकारीसमक्ष व्यापक हुन्थ्यो।

गुनासो संवोधनका लागि उनले चार वटा रात्रीकालिन उडानलाई विस्तार गरी ७ पुर्‍याएका एक वर्षभित्र।

कतिपय ठप्प रहेका स्थानीयस्तरका विमानस्लको स्तरवृद्धिमा पनि मन्त्री अधिकारीले चासो दिएका थिए।

यो वर्ष २३ वटा विमानस्थलको सुधार कार्य जारी छ। छिटो भन्दा छिटो थप १० स्थानमा विमानस्थल सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको थियो ।

घटनाका दिन तेह्रथुमस्थित चुवानडाँडामा संभावित विमानस्थल अनुमगमनका लागि मन्त्री अधिकारी त्यहाँ पुगेको थियो।

उनको अन्तिम भाषणमा पनि उडान सेवाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने आफ्नो धोको रहेको बताएका थिए।

टुरिजम युनिभर्सिटी सञ्चालनको पहल

अधिकारीको पालामा नेपालमा पहिलो पटक टुरिजम युनिभर्सिटी निर्माण र त्यसको सञ्चालनको योजना बनाइएको थियो ।

यस्तै नेपाल पर्यटन अध्ययन प्रतिष्ठान विधेयक निर्माण गरी मन्त्रालयले मन्त्रीरिपरिषद्मा पठाएको थियो ।

मन्त्री अधिकारीले आफ्नो सार्वजनिक भाषणमा उक्त विधेयक छिट्टै नै संसदबाट पारित भई ऐन आउने बताउने गर्थे।

युरोपियन युनियनको कालोसूचीबाट हट्ने प्रयास

मन्त्री अधिकारीलाई युरोपियन आकाशमा नेपाली जहाज उड्न प्रतिबन्ध लगाइएको विषयले सबैभन्दा बढी पिरोलेको थियो।

प्रतिबन्धबाट मुक्त हुन मन्त्री अधिकारीकै सक्रियतामा सेवा प्रदायक र नियमनकारी निकाय फरकफरक हुने गरी विधेयक मस्यौदा तयार पारिएको थियो । तर अहिले उक्त विधेयक अलपत्र परेको छ।

‘काम त सबै मन्त्रालयमा भएको होला तर अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष उल्लेखीय काम भएको छ। राम्रो काम छिटो हुनुमा नेतृत्वको अहम् भूमिका हुन्छ,’ प्रवक्ता उपाध्याय बताउँछन्।’

कसैको गुनासो तत्कालै संवोधन गर्नु पर्छ भन्ने मान्यता मन्त्री अधिकारीले राख्थे र त्यसका लागि उनी सामाजिक सञ्चाल फेसबुक, टुवीटर लगायतमा पनि ध्यान दिन्थे ।

तर उनले बोलेअनुसार काम हुन नसकेका उदाहरण पनि केही भेटिएका छन्। रुख कटानीको विवादले बारास्थित निजगड विमानस्थल निर्माण कार्य अघि बढ्न सकेन यो वर्ष।

आन्तरिक उडानका लागि केही जहाज खरिद गर्ने उनको योजना पनि कार्यान्वयमा आएन। यस्तै त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरणका क्रममा यात्रुले झेल्नु परेका समस्या पनि समाधान भएनन्।

अधिकारी पर्यटनमन्त्री हुनु अगाडि पाँच वर्षको अवधिमा ९ जनाले पर्यटन मन्त्रालयको नेतृत्व गरिसकेका थिए।

राजनीतिक परिर्वतनसँगै मन्त्री फेरिने प्रवृतिले तर्जुमा गरिएको योजनाअनुसार मन्त्रालयले प्रभावकारी काम गर्न सकेको थिएन।

२०७० साल माघ २८ गते यता रामकुमार श्रेष्ठ, भिम आचार्य, दीपक चन्द्र अमात्य, कुपासुर शेर्पा, आनन्द प्रसाद पोखरेल, जीवन बहादुर शाही, दिलनाथ गिरी, जितेन्द्र नारायण देव पर्यटन मन्त्री बनेका थिए।

‘मन्त्री अधिकारीको नेतृत्वमा सुरुवात भएका राम्रा कामले निरन्तरता पाउनु पर्छ र उहाँले चाहाँदाचाहाँदै पनि ढिलाई हुन पुगेका कामले पनि अव तिव्रता पाउनु पर्छ,’ सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्रीले गोगुल बास्कोटा भन्छन्।

तर पयर्टन मन्त्रालयले कहिले नेतृत्व पाउने भन्ने प्रश्नको जवाफ मन्त्री बास्कोटासँग छैन।
उच्चस्रोतका अनुसार पर्यटनमन्त्रीको छनौट प्रधानमन्त्री ओलीमा मात्रै निर्भर छ र केही दिनमा ओलीको निर्णय सार्वजनिक हुने छ।

‘अव को पर्यटन मन्त्री बन्छ भन्ने विषयमा सबैको चासो छ। पर्यटनमन्त्री बन्न धेरैले चासो देखाएका छन् तर कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीलाई मात्रै थाहा छ,’ उनी भन्छन्।

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्