बोइङ ७३७ म्याक्स एटमाथी जर्मनी र फ्रान्सले पनि लगाए प्रतिबन्ध

एजेन्सी–बोइङ ७३७ म्याक्स एटमाथी जर्मनी र फ्रान्सले पनि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

इथियोपियामा १५७ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि विभिन्न देशले प्रतिवन्ध लगाउने क्रम बढेको हो। प्रतिबन्ध लगायका देशले अब बोइङ ७३७ का विमान उडान गर्ने छैनन्। यसअघि बेलायत, चीन, इथियोपिया, सिंथापुर र अष्ट्रेलियाले पनि बोइङ ७३७ म्याक्स एटको उडानमा प्रतिबन्ध लगाएका छन्।

विज्ञापन

इथियोपियन एयरलाइन्सको विमान आइतबार उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा रहेका एक नेपालीसहित ३५ देशका १५७ जनाको ज्यान गएको छ । पछिल्लो पाँच महिनामा बोइङ ७३७ म्याक्स एट विमान दुर्घटनामा परेको यो दोस्रो घटना हो ।

लायन एयरले सञ्चालन गरेको यहि मोडलको विमान गएको अक्टोबरमा उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो ।
चीनको नागरिक उड्डयन प्राधिकरणले वक्तव्य जारी गरेर नयाँ मोडलको बोइङ ७३७ म्याक्स एट का दुई विमान दुर्घटना भएको र दुवै उडेको केही समयमै दुर्घटनाग्रस्त भएकाले तत्कालका लागि यो विमान मार्फत उडान नगर्न भनेको छ ।

एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्ससहितका एयरलाइन्सको उडान प्रभावित हुने भएको छ । चीनमा ९० भन्दा बढी बोइङ ७३७ म्याक्स एट विमान सञ्चालनमा छन् । यो विमानको व्यवसायिक प्रयोग सन् २०१७ देखि हुन थालेको हो ।

फाल्गुन २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्