अमेरिकाले बोइङ ७३७ म्याक्स एट ग्राउण्डेड नगर्ने

अमेरिकाको संघीय उड्डयन प्राधिकरण (एफएए) ले बोइङ ७३७ म्याक्स एट मोडलका विमानको उडान रद्द नगर्ने जनाएको छ ।

इथियोपियामा बोइङ ७३७ म्याक्स एट मोडलको विमान दुर्घटना हुँदा १५७ जनाको ज्यान गएपछि यो मोडलको विमान मार्फत हुने उडान रद्द गर्न दबाब परेको थियो ।

सिनेटर र श्रम संगठनको दबाबका बाबजुद एफएएले बोइङको उडान बन्द नगर्ने घोषणा गरेको हो । गएको आइतबार इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा रहेका १५७ जनाको ज्यान गएपछि दबाब बढेको थियो ।

यो घटनापछि बेलायत, चीन्, युरोपियन युनिएन, अस्ट्रेलिया, सिंगापुरसहितका देशले बोइङ ७३७ म्याक्स एटबाट हुने उडान बन्द गरेका थिए ।

सन् २०१७ को मे मा पहिलो व्यवसायिक उडान सुरु भएको बोइङ ७३७ म्याक्स एट मोडलका दुईवटा विमान दुर्घटनामा परेका छन् ।

इथियोपियन एयरलाइन्सको विमान आइतबार उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा रहेका ३५ देशका १५७ जनाको ज्यान गएको छ । पछिल्लो पाँच महिनामा बोइङ ७३७ म्याक्स एट विमान दुर्घटनामा परेको यो दोस्रो घटना हो ।

लायन एयरले सञ्चालन गरेको यहि मोडलको विमान गएको अक्टोबरमा उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो । अहिलेसम्म विभिन्न देशका ७९ एयरलाइन्सले बोइङ ७३७ म्याक्स एट खरिद गरेका छन् ।

चीनमा ९० भन्दा बढि विमान छन् । उसले बोइङको सञ्चालनमा रोक लगाएको छ । यस्तै विश्वका ठूला एयरलाइन्समाथि पनि दबाब बढेको छ । प्रायः सबै एयरलाइन्सले आफूहरुले विमानको सुरक्षाको विषयलाई लिएर चनाखो भइ अनुगमन गरेको बताइरहेका छन् ।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्